१. नेपालले चुच्चे नक्सासहितको नोट जारी गर्न लागेकोमा भारतले असन्तुष्टि व्यक्त गरेको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालको एकपक्षीय निर्णयले अवस्था नबदलिने बताएका छन् ।
२. जङ्गलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए ।
३. बागमती प्रदेशमा चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा ११ हजारभन्दा बढी डेङ्गु सङ्क्रमित फेला परेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
४. धौलागिरि अस्पतालले महिलाको पाठेघर खस्ने समस्या समाधानका लागि निःशुल्क शिविर गरेर बिरामीको पहिचान गर्ने भएको छ । अस्पतालले विभिन्न स्थानमा रहेर पहिलो चरणमा स्क्रिनिङ शिविर सञ्चालन गर्ने र त्यसपछि शिविरका आधारमा पहिचान भएका बिरामीलाई उपचार र निःशुल्क अपरेशनसमेत गराउने योजना बनाएको हो ।
५. बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार बागमती विश्वविद्यालयको कार्यालय उद्घाटन गर्दै प्रदेशमा स्थापना हुने विश्वविद्यालयले प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिने बताएका छन् ।
६. आइतबार फेरि काठमाडौँ वायुप्रदूषणका हिसाबले विश्वकै दोस्रो स्थानमा प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आइतबारको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआइ) एक सय ७७ पुगेको हो ।
७. जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आइतबार दिउँसो काठमाडौं आइपुगेकी छिन् ।
८. लामो समयको खडेरीका कारण पानीको स्रोत कम हुँदै गएपछि पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित खुर्वादी हुडिकोट लिफ्टिङ खानेपानी योजनाका लागि स्थानीयले वैकल्पिक स्रोत खोजेका छन् ।