७२ औ कानून दिवसका सन्दर्भमा उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलास तथा बाँके जिल्ला अदालतको संयुक्त आयोजनामा बुधवार बाँकेमा शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उच्च अदालतका न्यायाधीश टंक प्रसाद गुरुङ्गले न्यायपालिकाले सबै अपेक्षाकृत काम गर्न नसकेता पनि केही उपलब्धीमूलक निर्णय गरेको जानकारी दिए । पीडितको न्यायमा पहुँच अभिबृद्धिका लागि आफुहरूले सक्दो राम्रो गर्ने प्रयासमा रहेको न्यायाधीश गुरुङ्गले भनाइ राखेका थिए ।
बाँके जिल्ला अदालतमा जिल्ला न्यायाधीश भिष्मराज पर्साइले न्यायपालिकाले आफ्नो जिम्मेवारीबोध सहित छिटो छरितो न्याय सम्पादनको अभियानमा लागेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख तथा न्यायिक समितिका संयोजक कमरुद्धिन राईले पछिल्लो समय अदालतले गरेका निर्णयबाट न्यायपालिका प्रतिको बिश्वास बढेको, निर्णयहरू पीडितको पक्षमा भएको अनुभूति भैरहेको बताएका थिए । जिल्ला न्यायाधिवक्ता बिष्णु प्रसाद पौडेलले कानून दिवसले न्यायको क्षेत्रमा थप उपलब्धी होस भन्ने शुभकामना दिए । वरिष्ठ अधिवक्ता भोला सिंह हमालले अदालतका अदक्ष कर्मचारीका कारण न्याय सम्पादनमा ढिलाई भएको अनुभव सुनाउदै न्याय सम्पादनमा देखिएका बिकृती र बिसंगतीको अन्त्य हुनु पर्नेमा जोड दिए ।
बाँके जिल्ला बारका अध्यक्ष मेहर खत्रीले पछिल्लो समयमा केही घटनाक्रमले न्यायपालिका पूर्ण रूपमा कार्यपालिकाबाट स्वतन्त्र छैन भन्ने देखाएको बताउदै सबै आ आफ्नो कानूनी दायरामा बस्नु पर्ने बताए ।
नेपालगन्ज उच्च बारका अध्यक्ष अधिवक्ता चित्र बहादुर शाहीले कानूनले निर्धारण गरेको अधिकार दायित्व भित्रै सबै रहनु पर्ने बताए । अधिवक्ता शतिशचन्द थारुलाई स्वेच्छारी रूपमा पक्राउ गरीएको घटना प्रति आक्रोस पोख्दै अधिवक्ता शाहीले कसैले पनि आफ्नो कानूनी दायरा नाघी स्वेच्छाचारी रूपमा काम गर्न नहुनेमा जोड दिए ।
कानून दिवसका सन्दर्भमा नेपालगन्ज उच्च तथा जिल्ला अदालतद्वारा आयोजित कार्यक्रममा सहभागीले कार्यपालिकाको चंगुलबाट मुक्त भएको दिनको रूपमा मनाईने कानून दिवसलाई बिशेष महत्वका रूपमा लिनु पर्ने भन्दै स्वतन्त्र र सक्षम न्यायपालिकाका पक्षमा बोलेका थिए ।
उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासका न्यायाधीश टंक प्रसाद गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा उच्च तथा जिल्ला अदालतका न्यायाधीश, उच्च तथा जिल्ला सरकारस्ी वकिल, नेपालगंज उपमहानगरपालिकाका उपप्रमुख एवं न्यायिक समिति संयोजक कमरुद्धिन राई, बारमा आवद्ध कानून ब्यवशायी लगायतका न्यायकर्मीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी न्यायकर्मीले कानूनको सर्वोच्चता, न्यायमा पहुँच अभिबृद्धि र न्यायिक सुशासनमा जोड दिएका थिए ।
नेपालमा आधुनिक न्याय प्रणालीको प्रारम्भका रूपमा विक्रम सम्बतं २००९ साल वैशाख २६ गते नेपाल प्रधान न्यायालयको ऐन, २००८ जारी भई लागू भएको दिनको सम्झनामा प्रत्येक वर्षको वैशाख २६ गतेलाई कानून दिवसका रूपमा मनाइँदै आएको छ । बैशाख २६ गते कानून दिवस अर्थात नेपालमा न्यायिक स्वतन्त्रता र सक्तिपृथकिरणको जग बसेको दिनको रूपमा सम्झना गरिन्छ । शक्ति पृथकिकरणको सिद्धान्तलाई अंगिकार गर्दै प्रधान न्यायालयलाई न्यायिक अधिकार प्रदान गरेको दिनको सम्झनामा कानून दिवस मनाउन थालिएको हो ।
२००८ सालमा स्थापना भएको प्रधान न्यायालयले नेपालमा शक्ति पृथकिकरणको सिद्धान्तलाई स्थापित गराएको थियो । त्यहि दिनको सम्झनामा प्रत्येक बर्ष बैशाख २६ का दिन कानून दिवस मनाउन थालिएको हो । न्यायालय कार्यपालिकाको छायाबाट मुक्त भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।