१. जनता समाजवादी पार्टी (जसपा)ले स्वास्थ्यमन्त्रीमा उपमहासचिव प्रदीप यादवलाई सिफारिस गरेको छ । पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्वास्थ्यमन्त्रीमा यादव र स्वास्थ्य राज्यमन्त्रीमा हसिना खानको नाम पठाएको महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिए ।
२. उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । उपप्रधानमन्त्री यादवले सोमबार प्रधानमन्त्रीलाई पत्र लेख्दै राजीनामा दिएका हुन् ।
३. प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले देशभरका सबै पालिकामा आयोडिनयुक्त नुनको सहज आपूर्तिको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । सुगम क्षेत्रमा नुनको सहज उपलब्धता भए पनि दुर्गममा नुनकै लागि सर्वसाधारण जनताले सास्ती खेप्नु परेको गुनासो सार्वजनिक भएसँगै समितिले उक्त निर्देशन दिएको हो ।
४. काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विश्वमा सञ्चालन हुने विभिन्न खेलहरुमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ, वानएक्स बेट, जुवा ३६५ तथा क्रिफ्टोमार्फत रु दुई अर्ब एक करोडभन्दा बढीको कारोबार गरेको अभियोगमा एक जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।
५. प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास व्यक्त गरेका छन् । पूर्वी चितवनका अगुवा कार्यकर्तासँगको आज भएको भेटमा प्रधानमन्त्री दाहालले राजनीतिक दलहरूबीच अनौपचारिक एवं औपचारिकरूपमा छलफल भइरहेकाले छिट्टै निष्कर्षमा पुगिने बताए ।
६. जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।
७. जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई एसियाकै ठूलो उपचार केन्द्र बनाउन पहल थालिएको छ ।
८. जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत वैशाख २४ गते जनकपुरधाम उपमहानगरपालिका–१९ थुमौनामा सहकारी कर्मचारीलाई पेस्तोल देखाएर रु ८० लाख लुटेको घटनामा संलग्न रहेको आरोपमा जनक महतो र श्रवण कापरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।