बाँकेमा सरकारी जग्गाको मूल्यांकन चालु आ.व. २०८२÷०८३ का लागि पनि बढेको छ । प्रत्येक बर्ष जिल्लामा जग्गाको न्यूनतम सरकारी मूल्यांकन बढ्ने गरेपनि यस बर्ष अघिल्लो बर्षकै हाराहारीमा न्यूनतम मूल्यांकन गरिएको छ । यद्यपि, सरकारी दररेट चलनचल्तीको खरिद, बिक्री दररेट भन्दै निकै कम हुने गरेको छ । सरकारी राजश्व संकलनका लागि जग्गाको न्यूनतम मूल्यांकन हुने गरेको छ ।
गत असार २४ गते बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको अध्यक्षता भएको बैठकले चालु आ.व. २०८२÷०८३ का लागि आठै स्थानीय तहका विभिन्न ठाउँको जग्गाको मूल्यांकन गरेको हो ।
प्रजिअ जोशीको अध्यक्षतामा बसेको घर जग्गाको न्यूनतम मूल्य निर्धारण समितिले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रको जग्गालाई क देखि छ सम्म, खेतीयोग्य र तत्कालीन गाविस हाल नगरमा जोडिएको वर्गीकरण गरी न्यूनतम मूल्य निर्धारण गरेको हो । बैठकले भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले आ.व. २०८२÷८३ को रजिष्ट्रशन प्रयोजनका लागि घरजग्गाको मूल्यवृद्धि, कारोबारको स्थिति, स्थानीय तहहरूसँगको परामर्शका आधारमा आ.व. २०८१÷०८२ को न्यूनतम मूल्यांकन नघट्ने गरी जग्गाको न्यूनतम मूल्यांकन कायम गरिएको हो ।
भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले प्रकाशन गरेको बाँके जिल्लाको जग्गाको न्यूनतम मूल्यांकन पुस्तिका २०८२÷०८३ अनुसार, आर्थिक वर्ष २०८२÷०८३ का लागि नेपालगन्ज उपमहानगरपालिका भित्रको क वर्गमा पर्ने घडेरीको न्यूनतम मूल्य प्रतिकठ्ठा १ करोड १४ लाख ६० कायम गरिएको छ । अघिल्लो आ.व.मा पनि सोही मूल्यांकन थियो भने आ.व. २०८०÷०८१ मा नेपालगन्जमा क वर्गको जग्गाको मूल्यांकन प्रतिकठ्ठा ९९ लाख ६५ हजार कायम गरिएको थियो भने, आर्थिक वर्ष २०७९–८० मा नेपालगन्जको क वर्गको जग्गाको मुल्य ८६ लाख ६५ हजार प्रतिकठ्ठा कायम गरिएको थियो ।
क वर्गमा चारवाहेनीदेखि सदरलाईन, त्रिवेणीमोड, गणेशमानचोकदेखि पूर्व अदालतसम्म, त्रिभुवन चोकदेखि रानी तलाउ, खासकारकाँदोदेखि वीरेन्द्रचोक हुँदै गणेशमानचोकसम्म, सुर्खेतरोडदेखि बसपार्क, सेतुविक चोक, गणेशपुर, न्यूरोड लगायतका क्षेत्र रहेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका न्यूरोडको दुवै छेउको घडेरी जग्गा (उपरोक्त मूल्य र नेपालगंज नगर विकास समितिले घडेरी विक्रीका लागि निर्धारण गरेको न्यूनतम मूल्य मध्ये जुन बढि हुन्छ सोही मूल्यमा रजिष्ट्रेशनको थैली अंक कायम हुने निर्णय समितिले गरेको छ ।
त्यस्तै, ट्राफिकचोकदेखि चारबाहिनी चोकसम्म दुवै छेउको जग्गाको न्यूनतम मूल्यांकन प्रतिकठ्ठा ९६ लाख ४२ हजार कायम गरिएको छ ।
ख वर्गको जग्गाको न्यूनतम मूल्यांकन प्रतिकठ्ठा ७८ लाख रूपैयाँ कायम गरिएको छ । नेपालगन्जमा ख वर्गमा त्रिवेणीमोड पश्चिम बागेश्वरी हुँदै घरबारीटोल, विपीचोकदेखि त्रिभुवन चोक, एकलैनी बजार, त्रिवेणीमोडदेखि राप्तीपथ नेपालगन्ज उपमहानगरपालिकाको सीमासम्म, विपीचोकदेखि मुक्तिपुर, बागेश्वरी सिनेमा हलदेखि बुद्ध मन्दिरसम्म, बसपार्क रोड दक्षिण सल्यानीबाग हुँदै फुल्टेक्रा, गुरुद्वारा रोड हुँदै भट्टीटोल, वडा प्रहरी कार्यालयसम्म लगायतका घडेरीलाई राखिएको छ ।
नेपालगन्जमा ग वर्गका घडेरीको मूल्यांकन प्रतिकठ्ठा ५६ लाख ३० हजार कायम गरिएको छ । जुन महेन्द्र मावि, एमपी स्कुल, रासस कार्यालय क्षेत्र, नगर भवन, लक्ष्मी चलचित्र मन्दिर देखि देवाफुलवारी क्षेत्र, चारबाहिनी आर्मी ब्यारेकदेखि बुलबुलिया, विशाल चोकदेखि बनियागाउँ, साविक इन्द्रपुर, साविक उदयपुर क्षेत्रलाई राखिएको छ ।
त्यस्तै घ वर्गको घडेरीको न्यूनतम मूल्यांकन प्रतिकठ्ठा ३६ लाख ३५ हजार कायम गरिएको छ भने साविक नगर भित्रको क देखि घ वर्गका बाहेक पक्की सडक सँग जोडिएको जग्गाको मूल्यांकन प्रतिकठ्ठा ३४ लाख ९० हजार र गाभेल बाटोसँग जोडिएको जग्गाको मूल्यांकन ३२ लाख १० हजार कायम गरिएको छ ।
नेपालगन्ज उपमहानगर–पालिकामा च वर्गमा पर्ने भित्री कच्ची बाटोका घडेरीहरूको मूल्यांकन प्रतिकठ्ठा २९ लाख २५ हजार कायम गरिएको छ । छ वर्गमा पर्ने जग्गाको मूल्यांकन १३ लाख ५५ हजार र त्यसबाहेक साविक बहालबिटौरी वा बेलगती जग्गाको मूल्यांकन प्रतिकठ्ठा मेनरोडमा भए १ करोड ९ लाख ८० हजार, ग्राभेल बाटोमा भए ७४ लाख ६० हजार, कच्ची बाटोमा भए ४९ लाख १५ हजार कायम गरिएको छ ।
ने.ग.उ.म.न.पा. अन्तर्गतको जग्गा माथि क, ख, ग, घ, ङ, च र छ वर्गमा उल्लेख भएको जग्गा बाहेक र कुनै पनि सडकमा नपर्ने खेती प्रयोजनको जग्गा प्रति कठ्ठा रु. ४ लाख १२ हजार कायम गरिएको छ ।
साविक उदयपुरको घडरीको मूल्यांकन प्रतिकठ्ठा ९५ हजारदेखि ५ लाख ३० हजारसम्म, साविक खासकाँरकादोको घडेरी प्रतिकठ्ठा १ लाख ५० हजारदेखि ९३ लाख ९० हजारसम्म, साविक जैसपुरको घडेरी प्रतिकठ्ठा ८५ हजारदेखि २१ लाखसम्म, साविक परसपुरको घडेरी प्रतिकठ्ठा १ लाख ५ हजारदेखि २७ लाखसम्म साविक पुरैनाको घडेरी ८५ हजारदेखि ११ लाख ६५ हजारसम्म, साविक पुरैनीको घडेरी ७५ हजारदेखि १० लाख ५० हजारसम्म प्रतिकठ्ठा मूल्यांकन दररेट कायम गरिएको छ ।
त्यस्तै, साविक पिप्रहवा हाल नेपालगन्जको घडेरी तथा खेतीयोग्य जग्गा १ लाखदेखि २१ लाखसम्म, साविक भवनियापुरको जग्गा ९५ हजारदेखि २१ लाखसम्म, साविक बसुदेवपुरको जग्गा १ लाख ५ हजारदेखि १३ लाख ५० हजारसम्म, साविक मनिकापुरको जग्गा १ लाख ३५ हजारदेखि ३० लाख ६० हजारसम्म, साविक हिरमिनियाका जग्गा ८५ हजारदेखि १० लाख १० हजारसम्म प्रतिकठ्ठा मूल्यांकन गरिएको छ ।
हाल जानकी गाउँपालिका साविक इन्द्रपुरमा ९० हजार देखि १८ लाख २० हजार प्रतिकठ्ठा, साविक खजुराखुर्द गाविसमा ९० हजारदेखि १२ लाख ४० हजार प्रतिकठ्ठा, साविक गनापुरमा १ लाख ३० हजारदेखि २३ लाख ६० हजार प्रतिकठ्ठा, साविक बेलभार ७५ हजारदेखि २ लाख ६५ हजार प्रतिकठ्ठा, साविक बेलहरी ६५ हजार प्रतिकठ्ठा र १ लाख २० हजार कायम गरिएको छ ।
खजुरा गाउँपालिका साविक उढरापुर गाविस १ लाख ५ हजारदेखि ११ लाखसम्म, साविक बागेश्वरी १ लाख १० हजार २२ लाख ३० हजार, रनियापुरमा ९५ हजारदेखि ६ लाख ६० हजारसम्म, साविक राधापुर ९५ हजारदेखि २ लाख ९५ हजार, साविक सितापुरमा ९५ हजारदेखि ६ लाख ६० हजार, सोनपुरमा ९५ हजारदेखि ११ लाख ३० प्रतिकठ्ठा मूल्यांकन गरिएको छ ।






























