पछिल्लो एक सातादेखि नेपालगन्ज साँच्चिकै गीत–संगीतको शहर बनेको छ । प्रायः अपरान्ह उज्यालिने स्टेज, हजारौँ दर्शकको हुटिङ, तालमा ताल मिलाउँदै झुम्ने युवायुवती र लोकदेखि आधुनिक धुनसम्म गुञ्जिने स्वरले नेपालगन्ज महोत्सवलाई देशकै आकर्षक साँगीतिक मञ्चको रूपमा स्थापित गरिरहेको छ ।
आठौँ प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव–२०८२ मा हरेक दिन चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति चलिरहेको छ । महोत्सवको स्टेज केवल प्रस्तुतीको ठाउँ होइन, दर्शक र कलाकारबीच आत्मीयता साट्ने एउटा जीवन्त संसार बनेको छ ।
आज बिहीवार नेपालगन्ज महोत्सवमा चर्चित गायक विशाल सोनी, गायिका सम्झना रनपाल, डान्सर विन्दु विष्टको प्रस्तुति रहने छ । माघ १० गते लोकप्रिय तथा चर्चित नायक पल शाहको बेजोड प्रस्तुति रहने महोत्सवका साँस्कृतिक संयोजक मिना डाँगीले जानकारी दिइन् ।
बुधवारमात्रै महोत्सवमा चर्चित गायिका आलेको रक्सी छैन जाडै खाउ है नभएनी मिठो बोलको चर्चित गीत प्रस्तुत गरेपछि नेपालगन्जका दर्शक जुर्मुराएका थिए । चर्चित गायिका आलेले ¥याप ब्याटल दोहोरी गीत ‘आयो तेरो मिस चुबलाग साला थिस’ बोलको चर्चित गीत गाउँदा दर्शकहरु रमाउदै झुमेका थिए ।
गायिका प्रितीले चर्चित चर्चित गीतहरु ‘सोल्टी राजाको कम्मरमा पानी सोल्टी राजाको टुम्लेटमा पानी, आफ्नै बाटो लागिहाल बरु बेर्थै पिंटाई भेट्लास है भाईहरु, डांडै माथी पिपल, सम्पत्ति न मेरो जींउडाल के को मायाजाल, त मेरो खुट्टाको जुत्ता’ लगायतका गीतहरु दर्शक माझ पस्किइन् ।
अघिल्ला दिन, गायक राज कुश्मी र गायिका सपना शाहीको दमदार प्रस्तुतीले महोत्सवको माहोल चरम उत्कर्षमा पुग्यो । ‘पतली कमरिया मोरे हाई हाई’, ‘मजा आइगिल’, ‘छलकल जवानी’, ‘उरि उरि भौरा’ जस्ता एकपछि अर्को हिट गीतमा दर्शक झुम्दै, उफ्रिँदै, ‘वान्स मोर’ भन्दै साथ दिइरहे । सपनाले देउडा गीतमार्फत दर्शकलाई गोलबद्ध गराउँदै देउडा खेलाउँदा महोत्सव स्थल लोकसंस्कृतिको रंगले रंगियो ।
त्यसअघिका दिन स्टेज सम्हालिन् चर्चित गायिका रचना रिमालले । ‘फोटो फ्रिममा’, ‘अच्छा लेकिन’, ‘तिमीले सोचे भन्दा धेरै’ जस्ता गीतमा दर्शकको उत्साह छत चुम्यो । उनको स्वरमा प्रेम, पीडा र जोश मिसिँदा दर्शक संगीतमा हराए । संगिता बडुवाल र शक्ति चन्दले पनि देउडा र लोकधुनमार्फत माहोल थप तातो बनाए ।
लोकदोहोरीको मैदानमा कमल विसी माल्दाईको इन्ट्रीसँगै महोत्सवको अर्काे दिन झन् गुञ्जायमान बन्यो । ‘बर्दियाको बाघ आयो’ भन्दै स्टेज चढेका माल्दाईसँगै दर्शकले ‘कता कता ? – यता यता !’ को प्रतिध्वनि दिए। स्टेजबाट दर्शकमाझ पुगेर उफ्रिँदै नचाएका माल्दाईको जोशले पूरै प्रदर्शनी स्थल थर्कियो ।
त्यसैगरी खुमन अधिकारी र इसबल सन्ज्यालको लाइभ लोकदोहोरीमा ‘माया पानको पात’ जस्ता गीतले दर्शकलाई प्रेम र रमाइलोको संसारमा डुबायो । टंक तिमिल्सेना र शान्ति श्री परियारको दमदार प्रस्तुतिले लोकगीतको सौन्दर्यलाई नयाँ उचाइ दिने आयोजकको भनाइ छ ।
लोकदोहोरीका महारथी बद्री पंगेनीले ‘झ्याप्पै आइन मगरनी’ बोलको गीतसँगै दर्शकलाई उभ्याएर नचाए भने प्रिति आलेको ¥याप–दोहोरी शैलीले महोत्सवलाई आधुनिक रंग दियो । श्रीकृष्ण बम मल्ल, एन्जिला रेग्मी, शिव जीएम, विशाल सोनीलगायत कलाकारहरूको प्रस्तुतीले स्टेजलाई निरन्तर जीवित राखेको छ । मोडेल तथा डान्सरहरू निशा गिरी, आरुसी अस्लामी मगर, विन्दु विष्टको नृत्यले संगीतमा दृश्य सौन्दर्य थपेको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ र महिला उद्यमी समितिको आयोजनामा सञ्चालित महोत्सव केवल मनोरञ्जनमा सीमित छैन । लण्डन ब्रिज, जलपरी, फिस टनेल, थारु गाउँ, विभिन्न व्यावसायिक स्टल र विद्यालयस्तरीय नृत्य प्रतियोगिताले महोत्सवलाई पारिवारिक गन्तव्य बनाएको छ ।
महोत्सव मूल समिति संयोजक समरबहादुर खत्रीका अनुसार, राष्ट्रिय र स्थानीय कलाकारलाई एउटै मञ्चमा उभ्याउँदै नेपालगन्जलाई साँगीतिक राजधानी बनाउने प्रयास सफल बन्दै गएको छ । साँस्कृतिक संयोजक मिना डाँगी भन्छिन्, ‘दर्शकको ऊर्जा नै कलाकारको शक्ति हो, र यही शक्तिले महोत्सवलाई विशेष बनाइरहेको छ ।’
महोत्सवका सह–संयोजक विष्णु खनाल भन्छन्, ‘गीत, ताल, प्रेम र उत्साह मिसिएको यो महोत्सवले नेपालगन्जलाई केवल शहर होइन, संगीतले धड्किने मुटु बनाइदिएको छ ।’ हुनपनि सहसंयोजक खनालले भनेजस्तौ, हरेक दिन सडक डिभिजनको मैदानमा महोत्सव शुरु भएको पौष ३० गतेदेखिनै प्रेम गाइन्छ, संस्कृति नाच्छ र नेपालगन्ज देशकै आकर्षक साँगीतिक मञ्चको रूपमा चम्किन्छ ।
‘यो मञ्चमा राष्ट्रिय कलाकारको प्रस्तुति र छेवैमा सजिएका दुईसयबढी स्टलमा सहुलियतमै किनमेलको अवसर बाँकेबासीले छुटाउनै हुँदैन,’ महोत्सव सह–संयोजक खनालले दैनिक नेपालगन्जसँग भने ।
