लुम्बिनीबाट झाक्री, केसी र घिमिरे विजयी
राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारहरू विजयी भएका छन् । उनीहरुबीच भएको गठबन्धनका आधारमा एकलौटी नतिजा आएको हो ।
कांग्रेसले शेरबहादुर देउवा सभापति र पूर्णबहादुर खड्का कार्यवाहक सभापति रहेका बेला एमाले र लोसपासँग राष्ट्रिय सभामा तालमेल गर्ने सहमति गरेको थियो । गगन थापा नेतृत्वमा आएपछि पनि त्यसलाई निरन्तरता दिएका हुन् ।
त्यसअनुसार १८ पदमा निर्वाचन हुनेमा ९ ठाउँमा कांग्रेसले उम्मेदवारी दिएको थियो, एमालेले ८ ठाउँमा र लोसपाले १ ठाउँमा उम्मेदवारी दिएको थियो ।
राष्ट्रिय सभामा १९ पद रिक्त हुनेमा एक जना सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ । बाँकी १८ पदका लागि आज चुनाव भएको थियो ।
आइतवार भएको राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी भए । महिलातर्फ एमालेकी रामकुमारी झाँक्री र अन्यतर्फ कांग्रेसका चन्द्रबहादुर केसी र अपाङ्ग अल्पसङ्ख्यक कोटामा बासुदेव घिमिरे विजयी भएका हुन् ।
महिलातर्फ एमालेकी झाँक्रीले ६ हजार ३०३ मतभारसहित जित निकाल्दा उनका प्रतिद्वन्द्वी नेकपाकी दुर्गाकुमारी भण्डारीले १३६२ मत प्राप्त गरेका हुन् । जनमोर्चाको पदमा पण्डित १५२ मतभार ल्याए ।
अन्यतर्फ कांग्रेसका केसीले पाँच हजार ९७७ मतभारसहित विजयी हुनुभयो भने उनको प्रतिद्वन्द्वी नेकपाका बृहस्पति अधिकारीले १८३२ मतभार प्राप्त गरे । यस्तै जनमोर्चाका बमबहादुर खत्रीले १३३ मतभार प्राप्त गरे ।
यस्तै अपाङ्ग अल्पसङ्ख्यक तर्फ कांग्रेसका बासुदेव घिमिरेले ५३२३ मतभार विजयी भएका छन् ।
प्रदेशसभातर्फ पुरुष ४८ र महिला ३० गरी ७८ जना र स्थानीय तहतर्फ पुरुष १२३ र महिला ८५ गरी २ सय ८ जनाले मतदान गरेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुवँरले जानकारी दिए । सूचना अधिकारी कुवँरका अनुसार, प्रदेशसभा सदस्यतर्फ जना र स्थानीय तहतर्फ आठ जना गरि १३ जना मतदानमा अनुपस्थित रहे ।
लुम्बिनी प्रदेशमा ८७ प्रदेशसभा सदस्य र एक सय नौ स्थानीय तहका दुई सय १६ गरि दुई सय ९९ मतदाता थिए । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बन्न ४ प्रदेश सभा सदस्य र एक पालिका प्रमुखले राजीनामा दिएको र एक पालिका प्रमुख रिक्त रहेकाले मतदाता संख्या घटेको थियो ।
