प्रेस काउन्सिलका अध्यक्ष डा कुमार शर्मा आचार्यले पत्रपत्रपत्रिका तथा सञ्चारमाध्यमको वर्गीकरणलाई व्यवहारिक बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
आज नेपाल पत्रकार महासङ्घ, बाँकेले यहाँ आयोजना गरेको ‘आम सञ्चारमाध्यम र आचारसंहिता कार्यान्वयन’ विषयक अन्तक्र्रियामा उहाँले वर्गीकरणमा देखिएका विकृतिलाई समाधान गर्न प्रयत्न गरिने बताउनुभयो । अध्यक्ष आचार्यले वर्गीकरणको वास्तविक अवस्था के छ भन्ने बुझ्न अनुगमनको पाटो सशक्त हुनुपर्नेमा जोड दिनुभयो । उहाँले पत्रपत्रिका तथा सञ्चारमाध्यमलाई चिन्न सकेमात्र वर्गीकरण वास्तविक हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामी जनशक्ति नभएका कारण ठाउँठाउँमा पुग्न सकेका छैनौँ त्यसैले इमान्दारिता प्रस्तुत गर्ने पछि परेका छन् र हामीले पनि न्याय गरिरहेका छैनौँ ।” वर्गीकरणको आधार पत्ता लगाएर यसलाई परिमार्जन गर्न खोजिरहेको उल्लेख गर्दै अध्यक्ष आचार्यले आस्थाका आधारबाट पुरस्कार वितरण गर्ने काम बन्द गरिने बताउनुभयो ।
हामीले योगदान र योग्यताका आधारमा पुरस्कार वितरण गर्छौं र विधागत पत्रकारिताका आधारमा पनि पुरस्कार वितरण गर्न सकिन्छ उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पत्रकारितामा गल्ती सच्चाउने तत्परता हुन जरुरी छ ।”
नेपाल पत्रकार महासङ्घ, लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले पत्रकारितामा आचारसंहिताको पालनाले मर्यादित पत्रकारितालाई टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । बाँकेका अग्रज पत्रकार कृष्ण अधिकारीले आमसञ्चारमाध्यमलाई वर्गीकरणका आधारमा अनुदान दिने काम बन्द गर्न काउन्सिललाई आग्रह गर्दै त्यसबाट सुधारको अपेक्षा गर्न सकिने बताउनुभयो ।
यसअघि अध्यक्ष आचार्यले आज सञ्चार संवादको कार्यालय शुभारम्भ गर्नुभएको थियो । 