लेखक मदन बहादुर केसीको नियात्रा कृति ’लुङदेखि रायनसम्म’ सोमबार एक समारोहका बीच नेपालगन्जमा विमोचन गरिएको छ । ‘झिमरुकको तीरैतीर’ जस्तो सफल कृति पछि केसीले आफ्नो अर्काे नियात्रा कृतिका रूपमा यसलाई पाठकमाझ ल्याएका हुन् ।
अवकाशप्राप्त जीवनलाई सिर्जनात्मक कर्ममा लगाउँदै पूर्व बैंकर केसीले यस कृतिमा आफ्ना अनुभूति, वैचारिक आस्था र सामाजिक यथार्थलाई समेट्न सफल भएको कृतिका टिप्पणीकारले धारणा राखे ।
सोमवार प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीको प्रमुख आतिथ्यमा आयोजित विमोचन कार्यक्रममा कृतिको बारेमा पूर्व प्राज्ञसभा सदस्य डा. हरी तिमिल्सिनाले झन्डै एक घण्टा लामो गहन समीक्षा प्रस्तुत गरे । उनले पुस्तकले यात्राका विवरण मात्र नभई सामाजिक र सांस्कृतिक पक्षलाई समेत सूक्ष्म ढंगले केलाएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि रेग्मीले लेखकको सक्रियताको प्रशंसा गर्दै लेखकले आफ्नो अवकाश पछिको समयलाई समाजका लागि योगदान दिने गरी सिर्जनामा लगाएकोमा खुसी व्यक्त गरे । अर्का वक्ता वरिष्ठ पत्रकार नरेन्द्रजंग पिटरले कृतिकारको व्यक्तित्व र कृतित्वमा आफ्ना धारणासँगै टिप्पणी राखे ।
रामप्रसाद शर्माको सभापतित्वमा भएको उक्त कार्यक्रमको सञ्चालन तुल्सीमणि केसीले गरेका थिए । कार्यक्रममा लेखक मदन बहादुर केसीले आफूले अवकाशपछि पनि समाजलाई केही न केही वैचारिक र अनुभूतिमूलक योगदान दिने उद्देश्यले यो पुस्तक लेखेको बताए ।
कार्यक्रममा मधुसूदन शर्मा, कृष्ण प्रसाद श्रेष्ठ, जितबहादुर शाह, मणि अर्याल, कल्पना पौडेल, जेन्टिल गौतम लगायत ५० जनाभन्दा बढी साहित्यप्रेमी तथा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
