जैविक खेती जसलाई प्राकृतिक खेती पनि भनिन्छ कृषि प्रणालीको एक यस्तो प्रकार हो जसले रासायनिक मल, कीटनाशक, र कृत्रिम पदार्थहरूको प्रयोग नगरी प्राकृतिक स्रोतहरूको उपयोग गर्दछ । यस पद्धतिले माटोको उर्वरता, जैविक जीवन, र प्राकृतिक स्रोतहरूको दीर्घकालीन संरक्षणमा योगदान दिन्छ । जैविक खेतीले कृषिमा स्थायित्व र वातावरणीय सन्तुलन कायम राख्न सहयोग पुर्याउँछ । यसले मानव स्वास्थ्य, प्राकृतिक सम्पदा, र पृथ्वीको दीर्घकालीन अवस्थामा सकारात्मक प्रभाव पार्ने भएकाले यसको महत्त्व अझ बढी छ ।
जैविक खेतीको एउटा प्रमुख विशेषता भनेको माटोको संरक्षण र सुधार हो । माटो हाम्रो प्राकृतिक सम्पत्तिको एक महत्त्वपूर्ण भाग हो । यदि माटोको स्वास्थ्यलाई बेवास्ता गरियो भने हाम्रो कृषि पदती दिगो रहन सक्दैन । परम्परागत खेतीमा रासायनिक मल र कीटनाशकहरूको अत्यधिक प्रयोगले माटोको उर्वरता र संरचना बिगारेर त्यसलाई कमजोर अनाएको छ । यस्तो माटोले दीर्घकालसम्म उत्पादन दिन सक्दैन । जैविक खेतीमा भने, माटोलाई स्वस्थ राख्न कम्पोस्ट, गोबरमल, र जैविक मलको प्रयोग गरिन्छ । यसले माटोको जल धारण क्षमता बढाउँछ ।
माटोको उर्वरता टिकाइ राख्न जैविक खेतीमा रोटेशनल खेती फसल चक्रको प्रयोग गरिन्छ । विभिन्न प्रकारका बालीको क्रमबद्ध उत्पादनले माटोमा विभिन्न पोषक तत्वहरूको सन्तुलन कायम राख्छ । कम्पोस्ट मल बनाउन गोबर , स्याउला अनि सडे गलेका जन्य बस्तुहरू निकै उपयोगी मानिन्छ्न यस्ता कम्पोस्ट मलले माटोलाई निरन्तर उर्वर राख्न मद्दत गर्दछ ।
पानीको संरक्षण जैविक खेतीको अर्को महत्वपूर्ण पक्ष हो । पानी, जीवनको आधारभूत तत्व, मानव, किरा , पशु, र बोटबिरुवाको अस्तित्वका लागि अनिवार्य छ । परम्परागत खेतीमा पानीको अत्यधिक प्रयोगले जलस्रोतहरूमा अत्यधिक दवाव परेको छ । सिंचाइलाई ब्यबस्थापन गर्न नसकेर परम्परागत तरिकाहरूले सिचाइले पानीको बर्बादी मात्र गराउँछ । तर, जैविक खेतीले पानीको प्रयोगलाई न्यूनतम बनाउँदै यसको प्रभावकारी उपयोग सुनिश्चित गर्छ ।
जैविक खेतीमा ड्रिप इरिगेशन जस्ता अत्याधुनिक सिंचाइ प्रणालीहरूको प्रयोग गरिन्छ । यस प्रणालीमा बिरुवाको जरासम्म सिधा पानी पु¥याइन्छ, जसले पानीको बर्बादीलाई कम गर्छ । साथै, जैविक मलको प्रयोगले माटोको पानी धारण क्षमता बढाउँछ । वर्षाको पानीलाई माटोमा समात्न सकिने अवस्था सिर्जना गर्छ, जसले मलको प्रयोग र संरक्षण सुनिश्चित गर्छ । जैविक खेतीले जलवायु परिवर्तनको असरलाई पनि न्यूनीकरण गर्ने महत्वपूर्ण भूमिका खेल्छ ।
रासायनिक मल र कीटनाशकहरूको अत्यधिक प्रयोगले वातावरणीय प्रदूषणमा प्रत्येक्ष असर गरेको छ । यसको परिणामस्वरूप ग्रीनहाउस ग्यासहरूको उत्सर्जन बढ्छ । जैविक खेतीले यी समस्याहरूलाई सम्बोधन गर्दै, वातावरणीय सन्तुलन कायम राख्न सहयोग पुर्याउँछ । जैविक खेतीका अभ्यासहरूले कार्बनलाई माटोमा बाँधेर राख्न मद्दत गर्छ, जसले ग्रीनहाउस ग्यासहरूको मात्रा घटाउँछ ।
वातावरणीय सन्तुलन कायम राख्न जैविक खेतीले जैविक विविधतालाई प्रोत्साहन दिन्छ । रासायनिक खेतीले माटो र पानीमा रहने जैविक प्रजातिहरूलाई नष्ट गर्छ, जसले गर्दा पारिस्थितिकीय सन्तुलन बिग्रिन्छ । जैविक खेतीले यस्ता प्रजातिहरूको संरक्षण गरेर वातावरणलाई स्वस्थ राख्छ । यसले कीरा, जनावर, र सूक्ष्मजीवहरूको लागि प्राकृतिक वासस्थान सुरक्षित गराउँछ ।
जैविक खेतीको फाइदा केवल वातावरणसम्म सीमित छैन । यो मानव स्वास्थ्य र समाजको आर्थिक उन्नतिका लागि पनि महत्वपूर्ण छ । परम्परागत खेतीमा प्रयोग हुने रासायनिक मल र कीटनाशकहरूले कृषक र उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पारेको छ र किसानहरू दीर्घ रोगको सिकार बनेका छ्न जैविक खेतीले यस्तो खतरालाई कम गर्छ । जैविक उत्पादनले उच्च पोषण स्तर प्रदान गर्दछ, जुन स्वास्थ्यका लागि फाइदाजनक छ ।
जैविक उत्पादनहरूको बजार मूल्य उच्च हुने भएकाले कृषकहरूलाई आर्थिक लाभ पनि हुन्छ । जैविक उत्पादनको माग बढ्दै जाँदा, कृषकहरूको आम्दानीमा सुधार आउँछ । यसले उनीहरूको जीवनस्तर उकास्न मद्दत गर्दछ । साथै, जैविक खेतीले ग्रामीण अर्थतन्त्रलाई सशक्त बनाउन योगदान पुर्याउँछ ।
खेतीको दीर्घकालीन प्रभावले मात्र होइन यसले वर्तमानमा पनि महत्वपूर्ण लाभ दिन्छ । यसले प्रदूषणलाई रोक्छ, पानीको स्रोतलाई बचाउँछ, र वातावरणीय सन्तुलनलाई कायम राख्छ । यसले कृषक र उपभोक्ताको जीवनमा सुधार ल्याउने सामर्थ्य राख्छ । जैविक खेतीलाई प्रोत्साहन गर्न सरकारले नीतिगत सहयोग र वित्तीय सुविधा उपलब्ध गराउनुपर्छ ।
जैविक खेतीले माटो, पानी, वातावरण, र मानव स्वास्थ्यलाई जोगाउने एक भरपर्दो आधार बनेको छ । यो केवल खेतीको शैली मात्र नभैइ यो हाम्रो भविष्यप्रति उत्तरदायित्व हो । जैविक खेतीलाई व्यापक रूपमा अंगाल्न सकेमा दिगो विकासको लक्ष्य प्राप्त गर्न सहज उने थियो । जैविक खेतीले स्वस्थ वातावरण, स्वस्थ समाज, र स्वस्थ पृथ्वी निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । जैविक खेतीलाई प्राथमिकता दिनु र यसलाई हरेक तहमा प्रोत्साहित गर्नु अत्यन्त आवश्यक छ । जैविक खेती, वास्तवमा, वातावरण बचाउने एक सबल आधार हो ।