विकासको अर्थ आफ्नोपन गुमाउनु त कतै होइन तर नेपालको बदलिँदो राजनीतिक परिवेश, यसमा लागेको जमात र राजनीतिमा प्रवेश गरेको विदेशी दासत्वको देवत्वकरणले गर्दा विकास, प्रगतिशिलता र अग्रगमन भन्ने शब्दहरूको भाष्य नै गलत बनाइएको छ । समाजमा भैरहेको ज्ञानसीप र जीवनयापनका परम्परागत नीति नैतिकता, पूर्खाले हजारौंबर्ष लगाएर जीवनका अनेकौं ब्यवहारसँग प्रयोग गरेर, गोठ देखि खेतखलियानसम्म, भान्सा देखि समाजको चरित्रसम्ममा अनुसन्धान गरेर निर्मांण गरेका र स्थापित गरेका मूल्य मान्यता र स्थापित मौलिकतालाई भत्काउनुलाई नै वर्तमान नेपालको विकास र अग्रगमनको परिभाषा बनाइएको छ । विदेशीका पूर्खाले त्यहाँको परिवेश र त्यहाँको समाज विकासको चरित्रलाई गरेको ब्याख्यालाई छुट्टै भूमि, छूट्टै सभ्यता र सँस्कृति रहेको नेपाली समाजमा ल्याएर यहाँ भ्रान्ति छर्दै, अनेकौं प्रयोग गर्न आफ्नो जिन्दगी नै सधैं खपाएकाहरू सत्ताको केन्द्रमा पुग्नासाथ नेपाली मौलिकतालाई सत्तोसराप गरेर क्रान्तिकारी र अग्रगमनकारी हुने तँछाडमछाड चलेको छ । जसको तिब्रता र निरन्तरता आज बनमारा झैं फैलिँदो रहेको छ ।
समाज विकासको सिद्धान्तलाई दुई फक्लेटे सिद्धान्तबाट बुझ्नेहरूको मिचाहा प्रवृति हो कि नेपाली समाजमा पहिल्यै विकास भएका र विद्यमान रहेका असल अभ्यासहरूलाई समेत चिन्न बुझ्न र यसको निरन्तरता दिएर आफ्ना पूर्खाको नासो नेपालको मौलिकतालाई निरन्तरता दिनमा कञ्जुस्याइँ गरेको । समाज विकास हुन्छ र हुन्न, नकारात्मकता र सकारात्मकता, बिजुलीको स्वीच झैं अन कि अफ गरेर मात्रै भएको होइन । यदि हुँदो हो त वादे वादे जायते तत्ववोधः भन्ने आर्दश पनि बन्दैन्थ्यो होला ।
आफुलाई अग्रगमनकारी भन्नेहरू खासगरि वामपन्थ र समाजवादबादको आर्दशबाट प्रभावित भएकाहरू हुन । विशेषगरि माक्र्सवादको द्धन्द र भौतिकवाद नै यिनीहरूको मूल सिद्धान्त हो । हरेक कुरालाई द्धन्द र भौतिकवादसँग जोडेर त्यो बाहेक सबै मिथ्या भन्ने भ्रमले गर्दा अरू सबै कुरालाई उनीहरूले पश्चगमनको उपमा दिएका हुन । संसारका जुनसुकै समाजमा पनि द्धन्द मात्रै हुँदैन । अनि चर्मचक्षुले देखिने कुराहरू अर्थात भौतिक रूपमा उपस्थित कुराहरू मात्रै विकासका आधार पनि हुनसक्दैनन् । उर्जा अर्थात शक्तिको कुनै भौतिक रूप हुँदैन । नैतिकताको भौतिक रूप हुँदैन । विज्ञानले खोजेका र विकास गरेका आधुनिक प्रविधिले ल्याएका थुप्रै परिणामहरूको पनि माक्र्सवादीहरूले भन्ने गरेको जस्तो भौतिक रूप हुँदैन । तर पनि डेढ पौने दुईसय बर्ष अघि यूरोपेली समाजमा चरमोत्कर्षमा रहेको दासताभित्र खोजिएको भौतिक सुखको रुढिवादमा अल्झेर नेपालका वामपन्थीहरू आफ्नै मौलिकता, सम्पन्न र वैभवशाली सभ्यताको हत्या गर्न उद्दत रहेका छन् ।
द्वन्द्वले सधैं समाजलाई अधोगतितिर नै लैजान्छ । एकले अर्कोलाई निषेधतिर नै लैजान्छ । नेपालमा वामपन्थले भित्र्याएको समाजिक द्धन्दको परिणाम अहिले यत्रतत्र सवत्र छताछुल्ल भएको छ । द्धन्द्वात्मक भौतिकवादी दृष्टिकोणले मात्रै समाजको विकास न हिजो सम्भव भएको हो न भविष्यमा रहन नै सक्छ । द्वन्द्ववादीहरू केहि क्षण अस्तित्वमा रहे जस्तो देखिने मात्रै हो अन्तत्वोगत्वा हरेक द्धन्दले सहृदयतामा आउनै पर्छ । एक अर्काको अस्तित्व स्वीकार गर्नै पर्छ । द्धन्दको सिद्धान्तले मात्रै समाज विकास हुँदैन किन कि द्धन्दको परिणाम सहृदयता बीना सकारात्मक हुँदै हुँदैन । सहृदयता बीनाको द्धन्दले बिनास मात्रै गर्छ समाजको विकास गर्दैन ।
आधुनिक विकासमा पनि हरेक कुराहरूको आधारशिलालाई मान्यता दिइएको छ । आधारहीन कुनैपनि कुराहरू छैनन् । चाहे त्यो द्धन्द र भौतिकवादी दर्शनबाट विकसित हुन या ती आध्यात्मवादी दर्शनबाट विकसित भएका हुन । भौतिक शास्त्र देखि रसायन शास्त्र र नैतिक शास्त्र देखि राजनीतिक शास्त्रसम्मका सबै कुरामा आधारको कुरा हुन्छ । त्यो आधार भनेको नै स्थिति हो । जुन प्राय क्षणक्षणमा बदिलिइ रहँदैन । हरेक कुरालाई अमुक कुनै आधार मानेर मात्रै अगाडीको खोज अनुसन्धान र विकास गरिन्छ । विकास गरेर आएको कुनै परिणामले त्यो आधारमा गति थप्छ र त्यो अर्को केहि चीज बन्छ । यसैले स्थितिमा गति थपिएर मात्रै समाजको प्रगति हुन्छ भन्न किन नसक्ने ?
उपर्युक्त सहृदयता र स्थितिगत्यात्मकताको आधारमा समाज विकास मात्रै द्धन्दात्मक भौतिकवादबाट भएको हो भन्न मिल्दैन । जहाँ द्धन्द हुन्छ त्यहाँ सहृदयता अनिवार्य हुन्छ । जहाँ भौतिकवादको परिणामको कुरा हुन्छ त्यहाँ स्थितिगत्यात्मकता जरुरी हुन्छ । अनि मात्रै समाज होस् या अन्य कुरा सबैको विकास हुने हो ।
मानव जन्मिनको लागि बाइलोजिकली शुक्रकीट (पुरुष) र अण्ड (नारी) एउटा आधार हो । त्यो माक्र्सवादमा भौतिक होला । अनि यी दुबैको मिश्रणलाई माक्र्सवादमा द्धन्द भनिएला । त्यहाँ त्यो शुक्रकीटमा शक्ति छैन भने प्राण (भ्रुण) त बन्दैन । मानव बन्ने आधार पनि तयार हुँदैन । अनि गति छैन र अण्डसँग मिलनपछि त्यो सग्लो मानव निर्मित हुनञ्जेल राखिने धैर्यताको सहृदयता छैन, अनुकुल वातावरणको आधार छैन भने मानव जन्मिन्छ कि विनास हुन्छ ? यसैले हरेक प्राणी होस् या वनस्पति सबैको विकास र अस्तित्वको आधार भनेको नै सहृदयता र स्थितिगत्यात्मकता हो ।
संसारका हरेक समाजको विकासको आधार त्यहाँको भूगोल हो । त्यहाँ रहेको पर्यावरणीय सहृदयता हो । मानवको जिवन्त रहन भूगोल, पर्यावरणको स्थितिमा रहेको गतिशीलताको आधार चाहिन्छ । त्यहाँ विकसित भएका न्यूनतम मान्यताहरूको आधार चाहिन्छ । अनि समाजिक मूल्य कायम हुन्छ र एउटा किसिमको सभ्यता र सँस्ृकतिको निर्माण हुन्छ । जुनकुरा त्यस ठाउँको लागि खास मौलिकता बन्न जान्छ । तर त्यहि कुरा संसारका हरेक भूगोलमा उस्तै किसिमले लागू हुनै सक्दैन । यदि सक्दो हो भने यतिविध्न नश्लभ्रन्स गर्दा पनि किन सबैतिरका मानिस, पशुपंक्षी र वनस्पतिको रूपरङ्ग एउटै नभएको हो त ? कुरा यो विचारणीय हो । अनि नेपालका सबैकुराको आधार अठारौं शताब्दीको यूरोपको जस्तो हो भनेर किन भ्रम छर्ने ?
नेपालको भूगोल संसारको अन्य भूगोल भन्दा फरक छ । यहाँको वातावरण पनि फरक छ । यहाँको समाजिक मूल्य र मान्यता पनि फरक नै छ । यहाँको मुलकुल धर्म सँस्कृति नै फरक छ । यहाँको सभ्यता नै फरक छ । अनि यहाँ कसरी अन्यत्रको कुरा सत्य र नेपालको आफ्नो मौलिक ज्ञान सीप गलत हुन सक्छ ? कसरी यहाँको विकासको आधार गैर मौलिक हुन सुक्छ ?
नेपालमा जुनसुकै विकासको नाममा जे जे पनि स्थापित गरिँदै छ नि त्यसले अन्ततोगत्वा नेपाली मौलिकताको चीरहरण नै गरेको छ । भौतिक रूपमा नेपाली मौलिक वनस्पति, पशुपंक्षी, मानवको नश्लको विनास र अभौतिक रूपमा नेपाली समाजको मूल्य मान्यता, नीति र नैतिकता, नेपाली मुलकुल धर्म सँस्कृति परम्पराको समुल नष्ट गर्ने प्रायोजित षडयन्त्र नै हो आजको विकासको सोंच किन नभन्ने ?
देशको विकास भनेको त्यहाँको समाजिक आधारस्तम्भहरू भत्काउनु भन्ने होइन । त्यहाँको मौलिकता भत्काएर ल्याइने विकासले भलो गर्दैन भन्ने कुरा हिजो आफ्नो मुलकुल धर्म सँस्कृति भत्काउने चीनले बुझिसक्यो । मुगलहरूको बर्बताले भत्केको भारतीय समाजको आधारलाई पुर्नत्थान गर्न भारत प्रयत्नशील छ । अमेरिकामा त्यहाँको समाजिक आधार अप्रवासीहरूका कारण गैर मौलिकताले भत्किन थालेपछि ट्रम्पको उदय भएको छ । विकासको तुज्जुबमा उन्मत्त भएका गोराहरूमा पनि आफ्नो अमेरिकाको मौलिकता जोगाउने चासो बढ्दै गर्दा नेपालका कथित क्रान्तिकारी प्रगतिशील अग्रगमनकारीहरू आफ्नो मौलिकता भत्काउन मै आफुलाई गौरान्वित ठानिरहेका छन् । दुर्भाग्य ।
आज संसारको हरेक देशमा आफ्नो मौलिकता जोगाउने होडबाजी छ । दक्षिणपूर्वी एशिया होस् या मध्यपूर्व, फ्रान्समा होस् या ग्रीनल्याण्डमा सबैतिर संसार आफ्नोपनको रक्षाको लडाइँमा होमिइसकेको छ । नेपालका केहि विदेशी लाशका आशिकहरू भने नेपालका वास्तविक हिरोहरू जसले नेपालको मुलकुल धर्म सँस्कृति भाषा सभ्यता र नेपाली मौलिकतको जागरण गराए उनीहरूलाई
गालीगलौच गरेर अग्रगमनकारी बनेको ढोंङ रचिरहेका छन् । नेपाली मौकिलता मासेर आयातित धर्मसँस्कृतिको खास्टोभित्र पसेर गैरकुल निर्माणमा लागेका छन् । आयातित सभ्यताभित्र नेपालको अस्तित्वको रक्षाको आधारहीन गफ दिनेहरूको चुरिफुरीले नेपालीत्वको बिनास गरिरहेको छ । नेपाली मौलिकताले रोकेको हो भन्ने विकासको गलत परिभाषा र गलत भाष्य निर्माण गर्नेहरूको बिगबिगीका बीच नेपाली मोलिकता जोगाउने जागरण जरुरी छ । आफ्नो मुलकुल धर्म सँस्कृति भाषा सभ्यता र मौलिकता जोगाउन संसार जागिसक्दा नेपालीले चुप लागेर बस्न हुँदैन । संसारका कुना कुनामा गएर उतैको रमझममा रमाएर आफ्नो मौलिकता बिर्सन कतै हुँदैन । सबैले नेपाल र नेपालीको नश्ल जोगाउन लागि पर्नैपर्छ । मौलिकताले विकास छेक्दैन भन्ने चेतना नयाँ पुस्तामा भर्नैपर्छ । अनि मात्रै नेपाली समाजको सर्वाङ्गिण विकासमा निखार र दिगोपना आउनेछ । मौलिकताले कोहि कसैको विकास छेक्दैन । बुझ्न जरुरी छ ।