प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’मा आइतबार देशभर विभिन्न कार्यक्रम गरिएका छन् ।
त्यसक्रममा नेपालगन्जमा नेवाः पुचः बाँकेको आयोजनामा आइतबार नेपालगन्जमा गाईजात्रा (साः पारु) निकालिएको छ । ‘भाषा, संस्कृति तथा परम्पराको जगेर्ना गरौं’ भन्ने मूल नाराका साथ सात परिवारले मृतकको सम्झनामा सामुहिक गाईजात्रा निकालेका हुन् ।
नेपालगन्जको सुर्खेतरोडमा जम्मा भएर बजारमा गाईजात्रा निकालिएको थियो । धम्बोझीचोक, सहिद सेतुविकचोक, न्यूरोड हुँदै बागेश्वरी मन्दिर पार्कमा पुगेर गाईजात्रा समापन गरिएको थियो । सो अवसरमा नेवारी पोशाक लगायका महिला–पुरुष नेवारी भाषाको गितमा नाचेका थिए । लाखे नाच देखाइएको थियो ।
नेपालगन्जमा कमलादेवी श्रेष्ठ, राधादेवी श्रेष्ठ, सुशीला चुके, दमयन्ती श्रेष्ठ, माधवलाल श्रेष्ठ, केदारप्रसाद श्रेष्ठ, दिपाकुमारी रेग्मी श्रेष्ठका सम्झनामा गाईजात्रा निकालिएको थियो । नेवाःपुचः बाँकेका अध्यक्ष जितेन्द्र कुमार जोशीको अध्यक्षतामा भएको समापन कार्यक्रमका वक्ताहरूले आफ्नो संस्कार, संस्कृति संरक्षण जोगाउन आवश्यक रहेको र पहिले परिवारले मात्रै गर्ने नेपालगन्जमा गाइजात्रा मनाउँदै आएकोमा पछिल्ला बर्षहरूदेखि संस्थागत रूपमा मनाउन थालिएको बताए ।
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाइजात्राका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने तथा उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने प्रचलन रहेको छ ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई संसारले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आआफ्नो घरका दिवङ्गत भएका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।
प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायम छ । देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ ।
भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।
विकृतिका विरुद्ध हास्यव्यङ्ग्यका रूपमा गाईजात्रा
पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै २०१७ पुस १ गतेको शाही ‘कू’पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रूपमा झाँकी र हास्यव्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको हो ।
हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउँछ । जात्राका क्रममा पाटनमा देखाइने सत्ययुगको धान, चामलको नमूना र काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् । आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ । सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजनासमेत हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अंक प्रकाशित गरिन्छ ।
