बाँकेमा जिम्मेवारी पाएका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले मंगलबार कमाण्ड सम्हालेका छन् । सोमबार जिल्ला आइपुगेका प्रमुख जिल्ला अधिकारी रिजालले मंगलबार कमाण्ड सम्हाल्दै कार्यसम्पादनलाई तिव्रता दिएका हुन् ।
‘राजनीतिका दलका प्रतिनिधिहरू र सञ्चारकर्मीसँग अन्तरक्रियात्मक भेटघाट गर्नुभएका उहाँले विभिन्न निकायहरूसँगको समन्वयात्मक बैठक समेत गर्नुभयो’, जिल्ला प्रशासन कार्यालय स्रोत भन्छ, ‘विकास निर्माणका विभिन्न परियोजनाहरू चासो राख्नेदेखि जिल्ला राजश्व चुहावट नियन्त्रण समितिको बैठक समेत आयोजना गर्नुभएको छ ।’ प्रजिअ रिजालले हालैमात्र सञ्चालनमा आएको एकीकृत जाँच चौकी (आइसीपी)को स्थलगत निरीक्षण देखि भन्सार लगायतका राजश्व निकायका प्रमुखहरूसँग प्रगति विवरणमा छलफल समेत गरे ।
जिल्ला राजश्व चुहावट नियन्त्रण समितिको बैठकमा प्रजिअ रिजालले राजश्व वृद्धिका लागि चुहावट नियन्त्रण अपरिहार्य देखिएको भन्दै त्यसका लागि सबै सम्बन्धित निकाय परिचालित हुन निर्देशन दिए । ‘सुरक्षा निकाय, भन्सार कार्यालय र राजश्व अनुसन्धान कार्यालयले चोरी, तस्करी नियन्त्रण र राजश्व वृद्धिमा केन्द्रित हुन जरुरी छ’, प्रजिअ रिजालले सम्बन्धित अधिकारीहरूलाई बैठकमा निर्देशन दिंदै भने, ‘परिणाम देखिने गरी समन्वयात्मक तरिकाबाट परिचालित हुनुस् ।’
गत आर्थिक बर्षको भन्दा चालु आर्थिक बर्षको जेठ पहिलो सातासम्म लक्षित राजश्व संकलन निकै कम देखिएपछि प्रजिअ रिजालले प्राथमिकतामा राजश्व चुहावट नियन्त्रणलाई राखेको बताए । ‘अहिलेसम्म ५१ प्रतिशत मात्रै राजश्व उठेको अवस्था छ’, प्रजिअ रिजालले राजश्व चुहावट नियन्त्रण जिल्ला समितिको बैठकपछि दैनिक नेपालगन्जसँग भने, ‘राजश्व वृद्धिका लागि अवैध तस्करी, राजश्व चुहावट नियन्त्रण गरी राजश्व वृद्धिमा सबै केन्द्रित हुन आवश्यक देखिएको छ ।’
त्यसअघि जिल्लाका राजनीतिक दल तथा सञ्चारकर्मीहरूसँग छुट्टाछुट्टै भेटघाट, छलफल गरेका प्रजिअ रिजालले जिल्ला प्रशासन कार्यालय बाँकेको प्राथमिकता शान्ति, सुरक्षा, चोरी निकासी तथा तस्करी नियन्त्रण, लागुऔषध ओसारपोसार र कारोबार नियन्त्रण रहेको बताए । उनले आफ्नो प्राथमिक सवालहरू बारे सहयोगको अपेक्षा गर्दै भने, ‘त्यससँगै सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण नियन्त्रण, विकास आयोजनाको व्यवस्थापनमा सहजीकरण, विपद् व्यवस्थापन, सेवा प्रवाहमा सुधार, भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रवद्र्धन गर्ने कुरामा राजनीतिक दल, तीनका भातृ संगठन र आम सञ्चार जगतको सकारात्मक सहयोग अपेक्षित
छ ।’