बाँकेको नरैनापुर गाउँपालिकाले आन्तरिक आयको झण्डै ५० प्रतिशत रकम जनप्रतिनिधिकै सुविधामा सकेको खुलेको छ । कुल बजेटमा आन्तरिक आयको हिस्सा न्यून रहने नरैनापुर गाउँपालिकाले आर्थिक बर्ष २०७९÷८० मा आन्तरिक आयको ४८.२८ प्रतिशत पदाधिकारीकै सुविधामा सकेको हो ।
महालेखाले नरैनापुर गाउँपालिकाको आर्थिक बर्ष २०७९÷८० को लेखापरीक्षण पछि सार्वजनिक गरेको प्रतिवेदनमा आन्तिरक आयबाट रु १ करोड २३ लाख ८९ हजार आम्दानी गरेकोमा पदाधिकारी सुविधामा रु ५९ लाख ८२ हजार खर्च भएको उल्लेख गरेको छ । नरैनापुर पालिकाले आर्थिक बर्ष २०७९÷८० मा कुल आन्तिरक आयबाट रु १ करोड २३ लाख ८९ हजार राजस्व बाँडफाँड र अनुदानबाट रु समेत रु ४७ करोड १६ लाख ५३ हजार ४२० आम्दानी भएकोमा चालु तर्फ रु २८ करोड ३८ लाख ९८ हजार र पूँजिगत तर्फ रु १८ करोड २२ लाख ८८ हजार र वित्तिय समेत रु ४६ करोड ६१ लाख ८६ खर्च भएको छ । खर्च मध्ये आन्तरिक आयको हिस्सा २.६५ प्रतिशत रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
पालिकालाई प्राप्त भएको सबै अनुदान र राजस्व बाँडफाँडको रकमबाट ६०.१९ प्रतिशत चालु र ३९.८१ प्रतिशतमात्र पूँजिगत निर्माणमा खर्च भएको छ । यसबाट पालिकाहरूले बिकास निर्माण कार्यक्रम संचालनमा न्यून खर्च गरी प्रशासनिक कार्यमा बढि खर्च गरेको महालेखाले औंल्याएको छ । ‘प्रशासनिक खर्च नियन्त्रण गर्दै प्राप्त अनुदान र राजस्व बाँडफाँडको रकम अधिकरूपमा बिकास निर्माणमा परिचालन गरिनुपर्दछ’, महालेखाले नरैनापुर गाउँपालिकालाई प्रतिवेदनमा सुझाव दिएको छ ।
राजश्व उपशिर्षको लक्ष्य र प्रगतिमा आशंका
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६६ बमोजिम स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले पालिकामा प्राप्त हुने आन्तरिक आयसमेतको व्यवस्थापन गर्न सक्ने ब्यवस्था छ ।
पालिकाले पेश गरेको आय–व्ययको अनुमानमा आन्तरिक आयतर्फ मालपोत, कर, सेवा शुल्क, दस्तुर वापत अनुमानित रु. १ करोड ९ लाख २३ हजार प्राप्त हुने प्रक्षेपण गरेकोमा आर्थिक वर्ष २०७९।८० मा रु. १ करोड ८ लाख ९१ हजार संकलन राजश्व संकलन भएको छ, जुन लक्ष्यको ९९.७० हो । तर, महालेखाले नरैनापुर गाउँपालिकाले तोकिए बमोजिम अनुसार राजश्व शिर्षक अनुसार राजश्व दाखिला नगरेकाले लक्ष्य र प्रगति माथि नै आशंका गरेको छ । ‘गाँउपालिकाले जुन शीर्षक वाट राजश्व संकलन गरेको छ सोही शीर्षकमा राजश्व दाखिला गरेको छैन तसर्थ राजश्वको उपशीर्षकको लक्ष्य प्रगती यथार्थ मान्न सकिदैन’, महालेखाको प्रतिवेदनमा उल्लेख गरेको छ, ‘गाउँपालिकाले जुन शीर्षक वाट राजश्व संकलन भएको हो सोही शीर्षकमा जम्मा गर्नुपर्दछ । गाउँपालिकाले आम्दानीका अन्य स्रोतको पहिचान गरी आयको अनुमान यर्थाथपरक बनाई आय आर्जन वृद्धि गर्नेतर्फ विशेष ध्यान दिन आवश्यक देखिएको छ ।’
२५ करोड नाघ्यो अद्यावधिक बेरुजु
नरैनापुर गाउँपालिकामा आर्थिक बर्ष २०७९÷८० मा लेखापरीक्षणबाट रू.५ करोड ९५ लाख ७१ हजार बेरुजु देखिएको महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ । उक्त बेरुजु मध्ये असुल गर्नुपर्ने रू.५१ लाख ९० हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू. १ करोड ३७ लाख ६ हजार, नियमित गर्नुपर्ने रु.३ करोड १३ लाख ३५ हजार र पेश्की बाँकी रु.९३ लाख ४० हजार रहेको छ ।
नरैनापुर गाउँपालिकाको आ.व. २०७८÷७९ सम्म रु.१९ करोड ७० लाख ५२ हजार बेरुजू बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजू रु.२५ करोड ६६ लाख २३ हजार रहेको छ । नरैनापुर गाउँपालिकाको बेरुजु वर्गीकरण, अद्यावधिक बेरुजु स्थिति र बेरुजु सम्परीक्षणको व्यहोरा यसैसाथ संलग्न छ ।
योजना छनौट
योजना छनौट र कार्यान्वयन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २४ बमोजिम स्थानीय तहले योजना बनाउँदा सहभागितमूलक, उत्पादनमूलक र प्रतिफल प्राप्त हुने प्रगतिका योजना छनौट गरि प्राथामिकीकरण गर्नुपर्ने व्यवस्था छ । सभाबाट स्वीकृत बार्षिक गाउँ विकास योजना २०७९।८० को अध्ययन गर्दा पालिकाले स्वीकृत गरी सञ्चालन गरेको अधिकांश योजना न्यून बजेट भएका र लागत प्रभावी हुने किसिमले संचालन गरेको नपाइएको महालेखाले औंल्याएको छ ।
पालिकाले आ.व. २०७८÷७९ मा रु. २ लाख देखि २ करोड ४९ लाख सम्मका जम्मा ४८ वटा योजना संचालन गरेकोमा रु. ५ लाख भन्दा मुनिका मात्र १२ वटा योजनाहरू रहेका छन् ।