आगामी फागुन अन्तिम साता नेपालगन्जमा लुम्बिनी कप महिला फुटवल हुने भएको छ । बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले लुम्बिनी कप आयोजना गर्ने भएको हो ।
नेपाली राष्ट्रिय महिला फुटवल टिमको पहिलो कप्तान रमा सिंह र वर्तमान कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले संयुक्त रुपमा लुम्बिनी कपको लोगो सार्वजनिक गर्नु भएको छ ।
लुम्बिनी कप महिला फुटबलको लोगोमा शान्तिका अग्रदुत गौतम बुद्ध , महिला फुटवल खेलाडीको आकृति र नेपाली राष्ट्रिय झण्डाको नीलो र सिम्रिक रातो रङ्ग समेटिएको छ ।
फागुनको अन्तिम साता नेपालगन्ज रंगशालामा हुने लुम्बिनी कपमा नेपाल र भारतका ८ टिमको सहभागीता रहनेछ ।
महिला फुटबलको विकासमा प्रतियोगिता महत्वपुर्ण सावित हुने आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताउनु भएको छ । उहाँले भन्नु भयो -`लुम्विनी कप नेपालकै प्रतिष्ठित फुटवल प्रतियोगिता हुनेछ । आगामी वर्षहरुमा सार्क देशका अन्य टिम पनि आमन्त्रण गर्नेछौं ।
पश्चिम नेपालको गौरवको रुपमा शुरु गर्न लागिएको लुम्बिनी कपलाई सफल पार्न सवैलाई सहकार्यको लागि शाहले अपिल गर्नु भएको छ ।
अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य एवं बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले प्रतियोगिताले महिला खेलाडीलाई नयाँ अवसर सीर्जना गर्ने बताउनु भयो । प्रतियोगितालाई सफल बनाउन एन्फाले सहयोग गर्ने उहाँले बताउनु भयो ।
नेपालगन्जमा राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता हुनु खुशीको कुरा भएको कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले बताउनु भयो । उहाँले भन्नु भयो, ‘लुम्बिनी कप नेपाली महिला फुटबल खेलाडीको लागि राम्रो अवसर हो । यसले फुटबल खेलमा आउन चाहने नयाँ पुस्तालाई प्रेरणा र हौसला दिन्छ । देशका अन्य ठाउँमा पनि यस्ता प्रतियोगिता आयोजना भयो भने नेपाली महिला फुटबललाई अवश्य पनि फाइदा पुग्नेछ ।’
नेपाली महिला टिमको पहिलो कप्तान रमा सिंहले प्रतियोगितालाई सफलताको शुभकामना दिनु भएको छ । उहाँले भन्नु भयो- ‘नेपालमा महिला फुटबल शुरु भएको चार दशकपछि निजी क्षेत्रबाट राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता हुनु निकै प्रसंशनीय छ ।´ कप्तान सिंहले थप्नुभयो – यसले निरन्तरता पाओस्। सरकारको मात्रै भर नपरेर निजी क्षेत्रबाट पनि फुटबलको विकासमा पहल हुन जरुरी छ ।’