नेपाल पत्रकार महासंघ बाँकेका नवनिर्वाचितहरूले शनिबार निर्वाचित भएको प्रमाणपत्रसँगै पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
निर्वाचन संयोजक शरण कर्माचार्यले नवनिर्वाचित शाखा अध्यक्ष नविन गिरी सहित जिल्ला कार्यसमिति, प्रदेश तथा राष्ट्रिय परिषद् सदस्यलाई महासंघको शाखा कार्यालय भवनमा शपथ ग्रहण गराएका हुन् ।
शपथ ग्रहणसँगै कार्यवाहक अध्यक्ष संगीन शर्माले नवनिर्वाचित अध्यक्ष गिरीलाई पदभार हस्तान्तरण गरे । सचिव कमल डाँगीले नवनिर्वाचित सचिव कृष्ण ओली र कोषाध्यक्ष सुनिल रेग्मीलाई माइन्यूट तथा कोष विवरण हस्तान्तरण गरेका थिए । जिम्मेवारी सम्हाल्दै नवनिर्वाचित अध्यक्ष गिरीले नेपाल पत्रकार महासंघलाई विशुद्ध पत्रकारहरूको संगठनका रूपमा स्थापित गरेरै छाड्ने प्रतिबद्धता जनाए ।
‘नेपाल पत्रकार महासंघको गौरवमय इतिहास छ, त्यो इतिहासको शाख फर्काउने जिम्मेवारी हाम्रो काँधमा छ,’ अध्यक्ष गिरीले कार्यभार सम्हाल्दै भने, ‘तमाम चुनौतिहरू बीच पनि हामीलाई सबै जिम्मेवारी बहनका लागि प्रतिबद्ध हुनुको विकल्प छैन ।’ उनले पत्रकारहरूको पेशागत सुरक्षा र महासंघको सांगठनिक सक्रियतालाई बलियो
ढंगले अगाडि बढाउने प्रतिबद्धता पनि जनाए ।
पद हस्तान्तरण कार्यक्रममा महासंघका प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल पत्रकार महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अली, पूर्व अध्यक्ष निरज गौतम, प्रेम केसी, झलक गैरे लगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामनासँगै मार्ग निर्देशका मन्तव्य व्यक्त गरेका थिए ।