भ्रष्टाचार नियन्त्रणका लागि कानुनी कारवाहीले मात्रै सम्भव नहुने धारणा राखिएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जले सोमबार ‘भ्रष्टाचार नियन्त्रणमा नागरिक साझेदारी, सुशासन प्रबद्र्धनमा सबैको जिम्मेवारी’ भन्ने मूल नाराका साथ ३४औं स्थापना दिवसका अवसरमा आयोजना गरेको विशेष समारोहका वक्ताहरू भ्रष्टाचार नियन्त्रणका लागि आचरण सुधार र सुशासन प्र्रवद्र्धनको प्रतिबद्धता आवश्यक रहेको बताएका थिए ।
लुम्बिनी प्रदेशका आन्तरिम मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवालको प्रमुख आतिथ्यता भएको कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र चौधरीले नदीजन्य पदार्थमा भैरहेको बेथिति अन्त्यका लागि स्थानीय तहले घाटगद्दी गरेर मात्रै बिक्री गर्नुपर्ने बताए ।
नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले छिटो काम सम्पन्न गराउने सेवाग्रााहीको चाहनाले पनि भ्रष्टाचारजन्य कार्यलाई सघाउ पुगेको धारणा राखेका थिए । ‘घुस नलिए पनि काम हुन्छ भन्ने विश्वास जनतालाई दिलाउन आवश्यक छ’, उनले भने ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले अख्तियारले आफुलाई प्रविधि मैत्री बनाउँदै लगेको बताए । भ्रष्टाचार बढ्दा त्यसले देशको छवि बिग्रिरहेको उल्लेख गर्दै उनले भने, ‘भ्रष्टाचार सामाजिक रोग भएकाले सबैको प्रयासले मात्रै निर्मूल गर्न सकिन्छ ।’
कार्यक्रमको अध्यक्षता गर्दै अख्तियारको सम्पर्क कार्यालय प्रमुख गणेश बहादुर अधिकारीले सम्पर्क कार्यालयले चालू आर्थिक बर्षमा ६२ प्रतिशत प्रगति गरेको जानकारी दिएका थिए । गत बर्ष ८३.८३ प्रतिशत प्रगति हासिल भएको उल्लेख गर्दै सम्पर्क कार्यालय प्रमुख अधिकारीले जानकारी दिए ।
चालू आर्थिक बर्ष २०८१÷८२ मा सम्पर्क कार्यालय नेपालगन्जमा २७९ वटा उजुरी दर्ता भएका छन् । साउनमा ७१, भदौमा ४१, असोज ३१, कार्तिक २८, मंसिर ३७, पुसमा ४० र माघ महिनामा ३१ उजुरी दर्ता भएका छन् ।
कार्यक्रममा अख्तियारको बार्षिक प्रतिवेदन बाँकेका पालिकाहरूलाई हस्तान्तरण पनि गरिएको थियो ।
कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्का, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले बोलेका थिए ।
कार्यक्रममा ‘अख्तियार अनुसन्धान सेवा पुरस्कार’ बाट दुई जना कर्मचारीलाई पनि पुरस्कृत गरिएको छ । प्रमुख अतिथि अग्रवालले इन्जिनियर नवीन पाण्डे र प्रहरी हवल्दार गुलाब चन्द्र मौर्यलाई पुरस्कृत गरेका थिए । त्यस्तै, कार्यक्रममा स्थापना दिवसको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजेतालाई
शिल्ड र प्रमाणपत्र समेत वितरण गरिएको थियो ।