एकजना बुबाले आफु ९० वर्षको उमेर भइसक्दा पनि जीवनमा पत्रकारसंग प्रत्यक्ष भेट नभएको सुनाउनुभयो । उहाँले विद्या चापागाईंको हेर्ने कथा र भाग्य न्यौपानेले सामाजीक सन्जालमा राखेका सामाग्रीहरू मोबाइलमा हेर्नुभएको रहेछ । हेर्ने कथामा हिमालदेखि तराईका कथाहरू हेर्न पाएकोमा उहाँ दंग हुनुहुन्थ्यो । भाग्य न्यौपानेले एक महिनासम्म चिन भ्रमण गरेको र अन्य देश घुमिसकेको पनि सुनाउनुभयो । म पत्रकार हो भन्ने थाहा पाएपछि उहाँ लगायत मसंग भेटिने सबैले म बोलेको भिडियो सामाजिक सन्जालमा खोइ भनेर सोध्नु अब सामान्यजस्तै भइसकेको छ ।
यसको अर्थ गरेको अहिलेको आम मानिसको आँखामा मिडिया नै पत्रकारिता हो । आम मानिसले मोबाइलमा फेसबुक, युट्युब कन्टेन्टलाई पत्रकारिताको आँखाबाट हेरिरहेका छन् । आम मानिसले मात्र होइन, युट्युबमा सामाग्री उत्पादन गर्ने केहिले समेत आफूलाई पत्रकार बताउछन् । युट्युबमा सामाग्री उत्पादन गर्दैमा पत्रकार हुने या नहुने भन्ने होइन । डिजिटल मिडियाको विकाससंगै आम मानिसको पहुँचमा भइसकेको अवस्थामा अब पत्रकारिता र मिडिया फरक भइसकेका छन् । जुन पहिले एउटै मानिन्थे । त्यहि कारण आम मानिसहरूको बुझाइमा मिडिया नै पत्रकारिता देखिरहेको छ । यो समयमा पत्रकारिता केलाई मान्ने भन्ने बहस छ ।त्यसका लागि मिडिया र पत्रकारिता बुझ्न जरुरी छ ।
मिडिया र पत्रकारिताको फरक
अहिलेका पत्रकार र पाठक सबैले बुझ्न जरुरी छ कि सबै मिडियाकर्मी पत्रकार होइनन् । मिडिया र पत्रकारितामा फरक छ । मिडियामा समाजमा देखिएको कुरा जस्ताको त्यस्तै आउन सक्छ । तर पत्रकारिताले त्यो सामाग्री किन प्रशारण गर्ने ? त्यसले समाजमा कस्तो प्रभाव पार्न सक्छ ? कति जनसंख्यालाई प्रभाव पार्न सक्छ ? सकरात्मक असर पार्न सक्छ वा नकरात्मक भन्ने लगायतका प्रश्नहरूको विश्लेषण गरेपश्चात सामाग्री प्रकाशित गर्छ । त्यसैले मिडियामा काम जो कोहिले गर्न सक्छन् । तर पत्रकारिता कठिन छ ।
अबको यो डिजिटल मिडियाको समयमा पत्रकारिता त्यसलाई मान्नुपर्छ, जुन सामाग्री रिपोर्टिङ प्रश्चात, सम्पादन, तत्थ्य जाँच लगायतका पक्रिया पुरा गरेर प्रकाशित हुन्छन् । त्यसबाहेकका मिडिया कन्टेन्ट हुन् । मिडिया कन्टेन्ट क्रियट गर्ने व्यक्ति कन्टेन्ट क्रियटर वा सन्चारकर्मी हुन् ।
आफ्नो उदाहरण सुनाउछु ः जब ग्लोबल प्रेस जर्नलका स्टोरीमा म काम गर्छु । त्यो स्टोरी रिपोटिङ, तत्थ्य जाँच, सम्पादक हुदैँ सम्पादनको प्रक्रियामा गएर प्रकाशित हुन्छ । त्यो कामका लागि म आफूलाई पत्रकारिता गरेको ठान्छु । तर जब सामाजीक सन्जाल फेसबुक, युट्युवका लागि सामाग्री उत्पादन गर्छु त्यतिबेला म पत्रकार होइन, कन्टेन्ट क्रियटर वा सन्चारकर्मी मात्र हुँ । अहिलेको समयमा कामको आधारमा म पत्रकार हो होइन भन्ने व्यक्तिले नै छुट्याउन आवश्यक छ । तर सबैको यसमा सहमति नहुन पनि सक्छ ।
यसको अर्थ मिडिया गलत, पत्रकार मात्र ठिक भन्ने पनि होइन । समाजले मान्ने पत्रकारिता वा भनौ समाजलाई बाटो देखाउने पत्रकारिता र मिडिया फरक छ । सबैले पत्रकारिता गर्नैपर्छ भन्ने पनि छैन । मिडियाको शक्तीलाई चिन्ने र बढी भन्दा बढी उपयोग गर्न जरुरी छ । तर यसो भएको देखिदैन ।
मिडियाको शक्ति किन चिन्ने ?
अनलाइन, सामाजिक सन्जाल फेसबुक, युट्युब लगायतको विकासपछि मिडिया संस्थागत सिमिततामा रहेन । अब मिडियाको पहुँच व्यक्ति व्यक्तिको हातमा छ । जुम्लाको एउटा गाउँको घटना काठमान्डौको पत्रकारले मात्र लेख्न सक्ने अवस्था रहेन । त्यहाँकै एक जनाले छिनभरमै विश्वमाझ त्यो घटनालाई पुराउन सक्ने ताकत राख्छ ।
मिडिया कति शक्तिशालि छ भने काठमाडौको मान्छेले बाँके नरैनापुरमा आएर एक महिना बसेर यहाँको घटना लेख्छ भने वर्षौदेखि त्यहि हुर्किरहेको मानिसले त्यो घटना लेख्दा अझ विश्वसनीय हुन्छ । उसले अझ राम्ररी भन्न सक्छ । तर यो क्षमता चिन्नुपर्ने, सिप सिक्नुपर्ने अहिलेको आवश्यक्ता हो । अहिले मिडियालाई उपयोग भन्दा उपोभोग गर्ने बानी धेरै देखिन्छ ।
सन्चारको सिमित पहुँचले आम मानिसहरूलाई वास्तविकताबाट टाढा राख्छ । वास्तविकताबारे मानिसहरूले आफु अनुसारको कल्पना गर्छन् र त्यसलाई भगवानको रूपमा मान्न सक्छन् । जब उनीहरू प्रत्यक्ष मिडियाको पहुँचमा पुग्छन् त्यो आइडोलोजीका रूपमा रहदैन । यसलाई अझ बुझ्ने भाषामा भन्दा राजाको बारेमा सन्चारमाध्यामबाट सुन्दा जनताले कुनै ठुलो पात्रको रूपमा कल्पना गर्न सक्छन् । तर जब प्रत्यक्ष राजालाई देख्छ आफू जस्तै मान्छे भएको थाहा पाउछ । उसको कल्पना अनुसारको राजा वास्तविकता भन्दा फरक हुन सक्छ । मिडिया व्यक्तिको पहुँचमा हुनु र नहुनुले कति फरक पार्छ भन्ने यो सामान्य उदाहरण हो । मिडियाको पहुँचले समाजले वास्तविकता थाहा पाउछ ।
मिडिया सूरु हुनु अघि कसैले भगवानको बारेमा बतायो । हामीले कल्पनाका आधारमा भगवानप्रति बनाइएका मुल्य मान्यतालाई विश्वास गरयौँ । तर वास्तवमा भगवानलाई प्रत्यक्ष भेट्न पाएको भए उनीप्रतिको आम धारणा वेग्लै हुन सक्थ्यो । समाजसंग थरी थरीका विचारहरू छन् । कुन विचारलाई मान्ने भनेर व्यक्तिले आफैले छनोट गर्न सक्थ्यो । त्यसैले लोकतन्त्रको पहिलो आधार पत्रकारितालाई मान्ने गरिएको हो । मिडियालाई राज्यको चौथो अंग त्यसै भनिएको होइन भन्ने यी उदाहरणले प्रष्ट पार्छ ।
आम मानिसको पहुँचमा मिडियाको पावर पुगिसकेको अवस्थामा अब पत्रकारिताको परिभाषा साँघुरिएको छ । अब मिडिया र पत्रकारिता फरक भइसकेका छन् । अबको परिभाषा अनुसार सबै मिडियाकर्मी पत्रकार नहुन सक्छन् । मिडियामा सबै पत्रकारिताका काम हुनुपर्छ भन्ने छैन । तर आधारभूत आचारसंहिता सबै क्षेत्रमा पालना गर्नैपर्छ ।
मिडिया साक्षरताको अभाव
नेपालमा अनलाइन मिडियाहरू खुल्ने क्रम बढ्दै छ । बाँकेमै १ सय ५० भन्दा बढी अनलाइन दर्ता भएका छन् । तर आम मानिसहरूका समस्या घटनाहरू कम लेखिएका छन् । लेखिएका सामाग्रीको पनि स्तरमा बेलाबेलामा प्रश्न उठ्ने गर्छ । यसो हुनुको पछाडी मिडिया साक्षरता नहुनु हो । कस्ता सामाग्रीले समाजमा प्रभाव पार्न सक्छ भनेर सोचिदैन । यसबारेमा न कतैबाट ज्ञान बाडिन्छ न त नियमन नै हुन्छ । मिडियाहरू सहरमा केन्द्रित भए । जब गाँउमा पुगीन्छ तब मिडियाले गर्नुपर्ने कामहरू धेरै रहेको अनुभव हुन्छ ।
पत्रकारिता पढ्न चाहनेका लागि काठमाडौ बाहिरखासै ठाउँ छैनन् । नेपालमा पत्रकारिताको अध्ययन गर्न चाहानेले काठमाडौँ पुग्नुपर्ने अवस्था छ । पश्चिम नेपालको सहरका रूपमा गौरव गर्ने र नेपाली पत्रकारिताको इतिहास बोकेको नेपालगन्जमा पनि यो सुविधा छैन । यहाँबाट पत्रकारिता पढ्नका लागि सुर्खेत जानुपर्ने अवस्था छ । अहिले बाँकेका केहि पत्रकारहरू सुर्खेतमा गएर पत्रकारिता पढिरहेका छन् । पत्रकारले मात्रै नभइ आम मानिसहरूले पत्रकारिता पढ्नु आवश्यक छ । पाठ्यक्रमै यो विषय राखिनुपर्छ । अहिले प्रविधिको विकास त भयो । तर आवश्यक ज्ञान सिप नभएका कारण त्यसको उपयोग हुन सकिरहेको छैन ।