बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृती संरक्षण कोष र नेपाली सेनाको संयुक्त टोलीले निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने ठाकुरबाबा नगरपालिका २ बाट डार्ट गरेर पाटे बाघ नियन्त्रणमा लिएको छ । हात्तीसहित खटिएको प्राविधिक टोलीले निकुञ्जको मध्यवर्ती क्षेत्र आम्बासा गाउँ नजिकबाट पाटे बाघलाई डार्ट गरेर बिहीबार विहान नियन्त्रणमा लिएको बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ प्रमुख संरक्षण अधिकृत डा. अशोक रामले जानकारी दिए ।
ठाकुरबाबा नगरपालिका वडा नम्बर २ को आम्बासा गाउँ नजिक देखिएको पाटे बाघलाई नियन्त्रणमा लिएर निकुञ्ज मुख्यालय ठाकुरद्वारा लगिएको छ । नियन्त्रणमा लिइएको पोथी बाघ बच्चा रहेको तथा समस्याग्रस्त रहेको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तुम्फाहाम्फेले बताए ।
एक महिना अघि सामुदायिक वन किनारमा बाख्रा चराउन गएकी एक महिलालाई आक्रमण गर्ने बाघ रहेको सामुदायिक वनमा अझैँ ३ वटा बाघ रहेका छन् । ‘सामुदयिक वन क्षेत्र आसपासका क्षेत्रमा संयुक्त टोली खटिएको छ, पनि नियन्त्रणमा आउने छ’, उनले भने ।
‘नियन्त्रणमा लिएको बाघ झण्डै ३ वर्षको पोथी हो, गाउँबस्तीमा पसेर गोठबाटै पशुचौपाया मारेर खाने, मानिसलाई पनि आक्रमण गर्ने जोखिम रहेको बाघलाई समस्याग्रस्त भनिन्छ’, राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तुम्फाहाम्फेले भने ।
सामुदायिक वन आसपासका क्षेत्रमा एउटा भाले र एउटा पोथी बाघसंगै ३ वर्षसम्मका २ वटा बच्चा बाघ गरि ४ वटा रहेका छन् । समस्याग्रत बाघ सामुदायिक वन किनारमा रहेकाले थप क्षति हुन नदिन तथा मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि नियन्त्रणमा लिइने लागिएको उनले बताए । एक महिना अघि गएको पुस २८ गते दिउँसो ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ को मुक्तिपुर सामुदायिक वन किनारको चौरमा बाख्रा चराउँदै गरेकी एक महिलालाई पाटे बाघले आक्रमण गरेर ज्यान लिए लगत्तै बाघ नियन्त्रणका लागि बर्दिया निकुञ्ज, राष्ट्रिय प्रकृती संरक्षण कोष र नेपाली सेनाको संयुक्त टोली खटिएको छ ।
समस्याग्रस्त बाघ निकुञ्जको मध्यवर्ती क्षेत्रको गाउँ नजिक आएको थाहा भएपछि संयुक्त टोलीले नियन्त्रणमा लिएको हो । बाघको फ्रोफाइल अध्ययन भइरहेकोले यसलाई कहाँ पठाउने भन्नेबारे निकुञ्ज प्रशासनले विभागसँग समन्वय गरिरहेको वरिष्ठ प्रमुख संरक्षण अधिकृत अशोक रामले बताए ।
नियन्त्रणमा लिएको बाघलाई निकुञ्जको कोरीडोरमा छाडिने सम्भावना छ । बर्दिया निकुञ्जको मुख्यालय ठाकुरद्वारा र रम्मापुरमा रहेको बाघ थुनुवा कक्ष यसअघि नै भरिसकेको छ । यसअघि नियन्त्रणमा लिइएका ३ वटा पाटे बाघ थुनुवा कक्षमा रहेका छन् ।
बर्दिया निकुञ्ज आसपासका क्षेत्र र खाता जैविक मार्ग आसपासका क्षेत्रमा पाटे बाघको आक्रमणका घटना बढ्न थालेपछि स्थानीयबासी थप त्रसित बनेका छन् । बाघले आक्रमण गर्ने डर बढेसँगै निकुञ्ज प्रशासनले सर्तकता अपनाउन आग्रह गरेको छ ।
बाघ आक्रमणका घटना बढिरहेकाले बर्दिया निकुञ्ज र डिभिजन वन कार्यलयले निकुञ्ज तथा राष्ट्रिय वन र सामुदायिक वन भित्र गाईभैँसी चराउन तथा घाँस दाउराका लागि नजान आग्रह गरेको छ ।