किशोरीहरूको नेत्तृव विकास, क्षमता अभिबृद्धि तथा उत्प्रेरणाका लागि गुलरिया नगरपालिका वडा नम्बर ५ सफलता किशोरी क्लवकी अध्यक्ष निशा चौधरीले शिक्षा विकास तथा समन्वय इकाइ बर्दियाको नमुना प्रमुखको जिम्मेवारी एक दिनका लागि सम्हालिन् ।
प्लान ईन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लवद्धारा सञ्चालित शसक्त बालिका परियोजनाले शिक्षा विकास तथा समन्वय इकाइ बर्दियाको सहकार्यमा गल्र्स टेक ओभर अन्तर्गत समन्वय प्रमुख सुर्य बहादुर खत्रीको अध्यक्षतामा उक्त कार्यक्रम संचालन भएको थियो ।
उक्त गल्र्स टेकओभर कार्यक्रममा गुलरिया नगरपालिका भित्रका ६ वटा किशोरी क्लवका किशोरीहरूको उपस्थिती रहेको थियो । सो गल्र्स टेकओभर कार्यक्रममा किशोरीहरूले नमुना समन्वय प्रमुखलाई शिक्षा संग सम्बन्धित जिज्ञाशाहरू राखेका थिए । समन्वय ईकाइले अपागंता भएका बालबालिकाहरूको शिक्षण सिकाईमा कसरी सहयोग गरि रहेको छ ?, बिद्यालयमा किशोरी मैत्री वातावरणका लागि कस्तो भुमिका निर्वाह गरिरहेको छ ?, गरिव तथा जेहन्दार बिद्र्याथीका लागि कस्तो किसिमको सहयोग प्रदान गरि रहेको छ ? भनि उनिहरूले प्रश्न गरेका थिए ।
किशोरीहरू महिनावारी भएको बेला बिद्यालयमा गुणस्तरीय सेनेटरी प्याड उपलब्धता नभएकोले त्यसको लागि समन्वय गरी दिन नमुना इकाइ प्रमुखसंग माग गर्दै सिकाई उपलब्धी कम भएका बालबालिकाको लागि अतिरिक्त कक्षाहरू संचालन गर्ने, मुस्लीम किशोरीहरूलाई अझै पनि बिद्यालय पढ्न पठाउने सहज वातावरण नभएकोले उनिहरूलाई पढन पठाउने वाताबरण मिलाई दिनका लागि पहल गरि दिन पनि माग गरिएको थियो ।
किशोरीहरूको जिज्ञासा तथा सुझावहरूलाई समन्वय ईकाई प्रमुख सुर्य बहादुर खत्रीले बिस्तृत रूपमा प्रष्टाउनु भएको थियो भने समन्वय ईकाइले गर्ने कार्य भुमिका र उत्तरदायित्वको बारेमा वडापत्रमा उल्लेख भए अनुसार कार्यन्वयन गर्दै आइरहेको जानकारी गराए ।
गल्र्स टेक ओभर कार्यक्रमले विभिन्न पदिय भुमिकामा नमुनाको रूपमा जिम्मेवारी बहन गराउदै किशोरीहरूको क्षमता विकास र पदिय जिम्मेवारी तथा भुमिकाको बारेमा थप जानकारी दिने शसक्त वालिका परियोजनाका संयोजक गोबिन्द प्रसाद लामिछानेले बताए ।
सो अवसरमा परियोजना अधिकृत ईश्वर बिकले किशोरीहरूको शैक्षिक विकासमा यस्ता कार्यक्रमहरू प्रभावकारी हुनुका साथै सिकाई प्रकृया सहज बनाउने र व्यक्तिगत विकासमा थप सहयोग पुग्ने तथा किशोरीहरूलाई आफ्ना जिज्ञाशाहरू राख्न उत्प्रेरीत गर्ने बताए ।
सो कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाइका शाखा अधिकृतद्धय रबिन्द्रनाथ थारु, शेर बहादुर रोका, नायबसुब्बा रमेश खत्री तथा लक्ष्मी थारुले आफ्ना शाखागत कार्यक्रमको बारेमा जानकारी दिए । सो कार्यक्रम फिल्ड सुपरभाईजर भगवती बिकले संचालन गरेका थिए ।