कोहलपुरमा सुशील कोइराला मेमोरियल अन्डर नाइन्टिन महिला क्रिकेट प्रतियोगिता हुने भएको छ । कोहलपुर नगर खेलकुद विकास समितिको व्यवस्थापन तथा नेपाल क्रिकेट संघ (क्यान)को सहकार्य एवम् प्राविधिक सहयोगमा माघ २७ गतेदेखि उक्त प्रतियोगिता हुने भएको हो ।
यसको तयारी तिव्र पारिएको आयोजक कोहलपुर नगरपालिकाले जनाएको छ । प्रस्तावित क्रिकेट मैदानको पूर्वाधार निर्माणसँगै खेल गतिविधि बढाउन संघीय र प्रदेश सरकारलाई दबाब सिर्जना गर्न महिला क्रिकेट प्रतियोगिता आयोजना गरिएको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले जनाएको छ ।
६ दिनसम्म चल्ने प्रतियोगितामा कोहलपुर ११, लुम्विनी, गण्डकी, बागमती र सुदूरपश्चिम सहभागी हुने प्रतियोगिता संयोजक चिन्तामणी धितालले जानकारी दिए । पत्रकार सम्मेलन कोहलपुर नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष बुद्धि बहादुर थापाको अध्यक्षतामा भएको हो ।