मित्रमिलन बचत तथा ऋण सहकारी ठगीको आरोपमा थप एक जना पक्राउ परेका छन् । कास्की प्रहरीले विष्णुप्रसाद भण्डारीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका भण्डारीमाथि पोखराको मित्रमिलन बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीसँग नजिकिएर २१ लाख रुपैयाँ अपचलन गरेको आरोप छ । उनले फर्जी बचतकर्ता भएर लाखौं रुपैयाँ ऋण लिने र मिटरब्याजमा सहकारीलाई रकम दिने गरेको पाइएको सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोजन पत्रमा उल्लेख छ । त्यसबाहेक उनले २१ लाख रुपैयाँ सहकारीको पैसा लगे पनि फिर्ता गरेको नपाइएको अभियोजनमा उल्लेख छ ।
भण्डारीलाई पोखरा महानगरपालिका-५, मालेपाटनस्थित कुलाकोडिल डेराबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । उनलाई सोमबार राती पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । भण्डारीलाई मंगलबार जिल्ला अदालतमा उपस्थित गराई म्याद थपेर अनुसन्धान प्रक्रिया जारी राख्ने कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।
भण्डारी पक्राउ परेसँगै मित्रमिलन सहकारीको ठगीको आरोपमा पक्राउ पर्नेको संख्या ८ पुगेको छ ।