प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले युवराज शर्मालाई राष्ट्रियसभा उम्मेदवार बनाउने निर्णय गरेको छ । नेपालगन्जमा रहेर प्रजातान्त्रिक आन्दोलनमा सक्रिय शर्मा अहिले राष्ट्रिय सभा सांसद छन् । आइतबार अपरान्ह सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टी संसदीय दल कार्य समितिको बैठकले शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको हो । नेपाल विद्यार्थी संघमा देउवा केन्द्रीय अध्यक्ष हुँदा शर्मा केन्द्रीय उपाध्यक्ष थिए ।
राष्ट्रियसभाको अध्यक्ष पदमा लागि युवराज शर्मालाई प्रस्ताव गर्ने निर्णय गरिएको पार्टी संसदीय दलकी सचेतक सुशीला थिङले जानकारी दिए । पार्टीको तर्फबाट प्रस्तावित अध्यक्ष पदका उम्मेदवार शर्माको पक्षमा मतदान गराउनका लागि अन्य प्रतिपक्ष दलहरूसँग पनि छलफल गर्ने निर्णय पनि बैठकले गरेको छ ।
२०२७ सालमा भारतको बनारशबाट प्रतिनिधि भएर नेपाल विद्यार्थी संघको काठमाडौं महाधिवेशनमा उनी सहभागी भएका थिए । २०२८ सालमा शेरबहादुर देउवा नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष हुँदा यिनै शर्मा उपाध्यक्ष भएर काम गरेका थिए । उनी बाँके कांग्रेसको सभापति बाहेक अरू ठूलो पदमा अहिलेसम्म पुगेका थिएनन् । ओझेलमा रहेका शर्मालाई यस पटक देउवाले राष्ट्रिय सभामा उम्मेदवार मात्रै बनाएनन् जितेपछि अहिले आएर अध्यक्ष प्रस्ताव गरे । तर, यसअघि काँग्रेसले राष्ट्रिय सभा जित्ने अवस्थामा कृष्ण प्रसाद सिटौला उम्मेदवार प्रस्तावित थिए । गठबन्धन फेरबदल भएपछि हार्ने अवस्थामा शर्मा अध्यक्ष प्रस्ताव गरिएका हुन् ।
कांग्रेस बाँकेका पूर्वसभापति समेत रहेका ७३ वर्षीय शर्मालाई कुनै बेला पार्टी सदस्यता नरहने गरि कांग्रेसले कारबाही गरेको थियो । त्यसपछि सुशील कोइरालासँगको राजनीतिक टकरावले शर्मा राजनीतिमा उदाउन सकेका थिएनन् ।
२०४५ देखि २०४९ सालसम्म उनी कांग्रेस बाँकेको सभापति थिए । पार्टीमा योगदान धेरै भए पनि विगतदेखि हरेक अवसरबाट उनी बञ्चित हुँदै आएको उनका सहकर्मी बताउँछन् ।
पञ्चायत विरोधी गतिविधि गरेका कारण उनी २०२४ सालमा पहिलो पटक जेल समेत परेका थिए । २०२४ सालपछि पटक–पटक गरेर आफू ३÷४ वर्षजति जेल बसेको उनी बताउँछन् । राजनीति सहयात्री देउवा ५ पटकसम्म देशका प्रधानमन्त्री भइसक्दा पनि शर्मा भने दुई वर्षअघि पहिलो पटक राष्ट्रिय सभा सांसद बनेका थिए । राष्ट्रिय सभा सदस्यमा लुम्बिनीबाट उनी निर्वाचित भएका हुन् ।
नेकपा माओवादी केन्द्रले नेता नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने भएको छ ।
आइतबार बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए । राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ फागुनमा हुँदैछ ।
एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भइसकेको छ ।