१. रौतहटको राजपुरमा भएको घटनामा संलग्न रहेका कांग्रेस नेता मोहम्मद अफताव आलमसहित चारजनालाई जिल्ला अदालत रौतहटले जन्मकैदको फैसला सुनाएको छ ।
२. इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)ले जतिबेला पनि इन्टरनेट सेवा काटिन सक्ने चेतावनी दिएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आइस्पानले घरघरमा जोडिएको इन्टरनेटको सेवा जतिबेला पनि अवरुद्ध हुन सक्ने चेतावनी दिएको हो ।
३. कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गरेका छन् । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको आज बसेको १०औँ बैठकमा उहाँले विश्वासको मत प्राप्त गरेका हुन् ।
४. सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित सात जनालाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।
५. आसन्न इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा (क) मा हुने उपनिर्वाचनको सुरक्षा व्यवस्थापन कार्य पूरा भएको प्रहरी प्रधान कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
६. अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई उत्साहित बनाउन केही महत्वपूर्ण निर्णय गर्नुपर्ने अवस्था आएको बताएका छन् । आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटका विषयमा बिहीबार अर्थविद्हरुसँग परामर्श गर्दै उहाँले निरुत्साहित अवस्थामा रहेको निजी क्षेत्रको मनोबल उठाउने गरी निर्णय लिइने उल्लेख गरे ।
७. नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला यही वैशाख १७ गते आयोजना हुने भएको छ । नेपाल सरकार र चीनको स्वशासित क्षेत्र तिब्बतको वाणिज्य विभागवीच सन् १९९० मा सम्पन्न दुई देशका सरकारको व्यापार प्रतिनिधिमण्डलबीच भएको सम्झौताअनुसार प्रत्येक दुई÷दुई वर्षमा सो मेला हुँदै आएको छ ।
८. सुर्खेतमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने भएको छ । राष्ट्रिय युवा परिषद्को सहयोगमा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र मध्यपश्चिम विश्वविद्यालयको सहकार्यमा यही वैशाख २७ र २८ गते वीरेन्द्रनगरमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने भएको हो ।