लुम्बिनी प्रदेशमै शक्तिशाली देखिएको जनता समाजवादी पार्टीको बाँके जिल्ला संगठनमा विभाजनको प्रभाव एकाएक गहिरिएको छ । विभाजनलगत्तै नवगठित अशोक राईको पक्षमा प्रतिक्रिया दिएका बाँके जिल्ला अध्यक्ष कमरुद्दिन राईसहित नरैनापुर गाउँपालिका अध्यक्ष पार्टी संस्थापनका पक्षमा खुलेर देखिएलगत्तै लुम्बिनी प्रदेश सभाका दुई जना प्रदेश सभा सदस्य नवगठित जनता समाजवादी पार्टीमा खुलेका छन् ।
प्रदेशसभा सदस्यहरू आदेशकुमार अग्रवाल र भण्डारीलाल अहिरले लुम्बिनी प्रदेश निर्वाचन कार्यालय घोराहीमा गएर अशोक राई नेतृत्वको जसपाको पक्षमा सनाखत गरेका हुन् । दुई दिनअघिमात्रै नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह र बाँके जिल्ला पार्टी अध्यक्षसमेत रहेका नेपालगन्ज उपमहानगरपालिकाका उप–प्रमुख कमरुद्दिन राईले वक्तव्य जारी गरि पार्टी विभाजनको आलोचना गर्दै यादवको पक्षमा आफ्नो अभिमत जाहेर गरेका थिए ।
डुडुवामा राम्रो प्रभाव रहेका अहिर वर्तमान लुम्बिनी प्रदेश सरकारमा कृषि तथा भूमि व्यवस्था मन्त्रीको जिम्मेवारीमा छन् । सरकार गठन हुँदा भएको लिखित सहमति कार्यान्वयन नभएको भन्दै उनले मन्त्री पदबाट राजीनामा गरेका थिए । तर, उनको राजीनामा स्वीकृत भएको थिएन । जसपामा आएको विभाजनपछि अहिरले मन्त्री पदको जिम्मेवारी सम्हाल्दै जता बहुमत हुन्छ उतै जाने प्रतिक्रिया दिएका थिए । दुवै जना बाँके क्षेत्र नं. २ को ‘क’ र ‘ख’बाट प्रदेशसभा सदस्य पदमा प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
लुम्बिनी प्रदेशमा जसपा नेपालका तीन जना सांसद थिए । समानुपातिक सांसद अम्बिका काफ्लेलाई दैनिक नेपालगन्जले सम्पर्क गर्दा खुल्न चाहिनन् ।
जनता समाजवादी पार्टी, नेपाल बाँकेका अध्यक्ष राईले आफु उपेन्द्र यादवकै साथमा रहेको प्रष्ट्याए । राईले शुक्रबार एक विज्ञप्ती जारी गर्दै अवैधानिक रूपमा दल दर्ता भएको हुँदा आफ्नो पार्टीले केन्द्रीय समितिको निर्णय अनुसार सर्वोच्च अदालतमा कानुनी कारवाहीको लागी मुद्धा प्रक्रियामा जाने भएकाले अदालतको आदेश आफ्नो पक्षमा आउनेमा विश्वस्त रहेको बताए ।
जसपाबाट अलग भएर केहीदिन अघि मात्र अशोक राईको नेतृत्वमा एउटा समुहले जनता समाजवादी पार्टी नामक दल निर्वाचन आयोगमा दर्ता गराएको थियो । नव गठित पार्टीमा बाँके निवासी तत्कालिन जसपाका केन्द्रिय नेता एवम् पुर्वमन्त्री मोहम्मद ईस्तियाक राई महासचिव छन् । उनी यतिबेला जिल्लामै संगठन आफ्नो पक्षमा जोगाउन क्रियाशील छन् । उनले आफ्ना गृह जिल्लामा नेता तथा कार्यकर्ताले साथ नछाड्ने विश्वासका साथ एक ढिक्का रहने विश्वास दैनिक नेपालगन्जसँगको प्रतिक्रियामा व्यक्त गरेका थिए ।