यस बर्षको शाश्वत आचार्य स्मृति पुरस्कार तीन जनालाई प्रदान गरिएको छ । शनिबार स्व. शाश्वत आचार्यको २१ औं स्मृति दिवस पारेर आयोजित औपचारिक कार्यक्रम बीच नेपालगन्जका वरिष्ठ उर्दु गजलकार अब्दुल लतिफ शौक, लोकगायक कमल विक निर्मोही र दाङ्गका समीक्षक कमल मणि देवकोटालाई प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डाक्टर कृष्ण प्रसाद घिमिरे, प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डाक्टर जनार्दन आचार्य र स्वर्गीय शाश्वत आचार्यकी ममतामयी माता, वरिष्ठ साहित्यकार किरण आचार्यले पुरस्कृत व्यक्तित्वहरूलाई नगद राशी १० हजार सहित कदर पत्र प्रदान गरे । पुरस्कार ग्रहण गर्दै समीक्षक देवकोटाले बाँकेमा स्थापित पुरस्कारले दाङ्गलाई समेटेकोमा खुलेरै प्रशंसा गरे ।
प्रा.डा. आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा अस्वस्थ अवस्थामा रहेका निर्मोहीको तर्फबाट छोरा शैलेन्द्रले पुरस्कार तथा कदर पत्र ग्रहण गरे । वरिष्ठ उर्दू गजलकार शौक समेत स्वास्थ्य अवस्था गम्भीर रहेकाले उपचारमा रहँदा पुरस्कार पुर्याउने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । पुरस्कृत व्यक्तित्वहरू बारे गजलकार खगेन्द्र गिरी कोपिलाले चर्चा गरेका थिए भने उनीहरूको अभिनन्दन पत्र प्राध्यापक डाक्टर गोपाल प्रसाद अधिकारीले वाचन गरे ।
कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिमूलक व्यक्तित्वहरूलाई यस बर्षको शाश्वत स्मृति सम्मान प्रदान गरिएको छ । गायक तथा लोक संस्कृतिका अध्येता डाक्टर गोविन्द आचार्य, बालरोग विशेषज्ञ डाक्टर विजय प्रधान, सामाजिक अभियन्ता समेत रहेका प्लाष्टिक सर्जन डा. विनोद कर्ण, हरित अभियन्ता हेमन्तराज काफ्ले, पत्रकार झलक गैरे र खेलकुद क्षेत्रमा उत्प्रेरक भूमिका खेलिरहेका धारा नेपालगन्ज म्याराथनका संस्थापक टिएस ठकुरीलाई शाश्वत स्मृति सम्मान २०८२ प्रदान गरिएको हो । ‘निस्वार्थ भावले समाजलाई योगदान दिइरहनु भएका व्यक्तित्वहरूको हौसलाका लागि यो पुरस्कार र सम्मान प्रदान गरिएको हो’, प्रतिष्ठानका अध्यक्ष प्रा.डा. आचार्यले भने ।
कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. घिमिरे, पुरस्कृत व्यक्तित्व देवकोटा र सम्मानित पत्रकार गैरेले आफ्ना धारणा राखेका थिए भने हरित अभियन्ता काफ्लेले प्रा.डा. आचार्यलाई बिरुवा प्रदान गरी स्वर्गीय शाश्वत आचार्यको अमरताको कामना गरेका थिए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य महानन्द ढकाल, सम्मानित व्यक्तित्व डा. कर्ण, डा. आचार्यले विद्यमान साहित्यिक अवस्था र संस्थाले खेल्नुपर्ने भूमिका बारे आफ्ना धारणा राखेका थिए । विभिन्न साहित्यिक व्यक्तित्वहरूले गीत, गजल, कथा, कविता प्रस्तुत गरेर शाश्वत आचार्यको २१ औं जन्मजयन्तीलाई साहित्यिक संगमका रूपमा सफल बनाए । कार्यक्रममा साहित्यिक, प्राज्ञिक र सामाजिक क्षेत्रका विशिष्ट प्रतिनिधिमूलक सहभागिता थियो ।
