एक भोटले कति फरक पार्न सक्छ ? तपाईको एक भोटको अर्थ कति होला ? मलाई यो कुराले निकै घोत्लिन बाध्य बनायो ।
संघीय संसद, प्रदेश सभा र स्थानीय तहका निर्वाचनहरू मात्र होइन सबै निर्वाचनमा हुने यहि नै हो, एक भोटको महत्व अनि अर्थ । आवधिक निर्वाचनलाई लोकतन्त्रको प्राणवायु मानिन्छ । निर्वाचनमा मताधिकारको प्रयोग गरी आफ्नो विचारको प्रतिनिधित्व गर्दछन् । बहुमत पाउने ब्यक्तिले पाएको जिम्मवारी उपर संस्था वा निकायलाई सञ्चालन गर्नुपर्ने हुन्छ । बिजयी उम्मेदवारले शासन गर्ने अख्तियारी प्राप्त गर्दछ भने अल्पमतले प्रतिपक्षमा रही निरन्तर खबरदारी गर्दछ । यो नै निर्वाचनको मुल मर्म हो । यसरी गरिने निर्वाचनमा एक मत नपाउदा कतिले निर्वाचन हारेका छन भने कतिले धेरै अबसर गुमाउने गरेका छन् । एक भोट बढि पाउँदा जित हुने गर्छ भने एक भोट कम पाउँदा हार निश्चित छन् ।
दुबै बराबरी अवस्थामा पुगेका उम्मेदवारको आधा —आधा कार्यकालको सहमति हुन्छ । यस परिस्थितिमा एक भोट बढि आएको भए म जित्ने थिएँ कि भनेर लाग्नु स्वभाविक हो । अनि जित हुँदा हँुदै पनि मनोबैज्ञानिक त्रास के हुन्छ भने एक भोट नपाएको भए आज यो जित हुने थिएन भनेर । मनमा अनेक सोच आउँछन एक मतले चुनाव जित्नेका लागि अनि एक मतले चुनाव हार्नेका लागि ।
म आफैपनि एक भोटको अर्थमा घेरिएर यहाँसम्म पुगेकी छु । नेपाल पत्रकार महासंघको शनिवार भएको निर्वाचनमा बाँके शाखाको महिला उपाध्यक्ष पदमा मेराविरुद्ध एक मत निर्णायक बन्यो । जित्नेको १०२ भोट आउँदा मेरो निर्णय १०१ भोटमा भयो । अंकगणितमा १ नपुग्दा म उपाध्यक्षको कुर्सीमा पुग्न सकिन । मलाई विश्वास नै थिएन श्रमजीवि पत्रकार चिन्नेहरू यतिधेरै हुनुहोला भन्ने । सबै पार्टीका झोले रहेनछन् भन्ने मेरो मत परिणामले देखाएको छ । त्यसैले एक भोटले चुनाव हार्दा पनि म खुसीनै छु ।
जित्छुनै भन्ने लागेको थियो मतगणना भइरहँदासम्म । तर म अपसोच, म पराजित भएँ, त्यो पनि एक भोटले । त्यसपछि मेरा मानसपटलमा एक भोटबारे अनेक धारणा गुन्जिए । भोट माग्दै गर्दा मैले केहिलाई भनेकी थिएँ, यदि म एक भोटले हारेँ भने तपाइले भोट दिनुभएन है भन्ने सम्झन्छु भनेर । त्यतिबेला मैले ति मतदातालाई सम्झिएँ । लाग्यो ति मतदाताले मलाई पनि सम्झिएका होलान् भनेर । त्यसपछि मलाई सम्झन मन लाग्यो जसले मेरो एक भोट हजुरलाई भनेर विश्वास दिलाएका थिए । ति सबैका अनुहार झलझली आउन थाल्यो । अनि सोंच्न थाले कस्तो प्रयास गरिएछ एक जना अर्कोलाई भोट मागेको भए जित्ने थिएँकी ?
मेरा मनभित्र एक अंकका अनेक चित्र नाँच्न थाले । मोबाइलमा सान्त्वनाका घण्टी बज्दै थिए । अनि फोन गर्ने मेरा शुभचिन्तकहरूले बोलेका शब्दमा यस्तो थियो, ‘तपाई हारेको एक मतले त होनि, गज्जव जित्नुभयो, हार नसम्झनुस् । एक भोटले पछि पर्नु भनेको जित सरह हो, हामीले जित मानेका छौ ।’
फेरि सोच्न बाध्य भए आज एक मतले जित्नेको मनमा पनि कस्तो कुरा खेलेको होला ? एक भोट नपाएको भए मेरो निधारमा रातो अविर हुने थिएन भन्ने त्यो बिजयी हुनेलाई पनि लाग्यो होला । मतदाताहरू सोच्नु हुन्छ होला, मैले जस्तै कसैले एक मत दिएको भए जित हुन्थ्यो कि । धेरै चर्चा हुने रहेछ एक मतले चुनाव जित्दा, एक मतले चुनाव हार्दा अनि एक मतले बराबर हुँदा । एक मतले चुनाव हार्दा हुने पीडा सहन अति गाह्रो हँुदो रहेछ ।
निर्वाचनताका कतिपयले मेरो एक भोटको के महत्व छ र ? मैले भोट नहालेर के फरक पर्दछ ? भन्ने जस्ता अभिव्यक्ति दिने गरेको पाइन्छ । एक भोटले नै निर्वाचनमा हारजित भएका थुप्रै उदाहरण छन् । यसको उदाहरणीय पात्र म स्वयंम बनेकी छु । मलाई के लाग्छ भने जहाँ मतदाता कमजोर हुन्छन्, त्यहाँ नेतृत्व स्वेच्छाचारी हुन्छ । निर्वाचनमा हरेक मतदाताले उम्मेदवारलाई उसको दृष्टिकोण र कार्ययोजना माग गर्ने र निरन्तर सो उपर निगरानी राख्ने सामथ्र्य विकास गर्न जरूरी छ ।
एक मतको प्रसंग केलाउदै गर्दा बराबरी हुनेले गोला प्रथा गर्ने चलन छ । गोला प्रथा गर्दा जित्ने एक जनाले हो । अनि यहाँ जसलाई गोलाप्रथामा भाग पर्दैन उसलाई कति मन पोल्दो हो । अनि अर्को कुरा एक मत पनि नपाउनेहरू छन् । उनीहरूलाई झन कति होला एक मतको अर्थ । कतिपय निर्वाचनमा उम्मेदवार आफूले मात्र हालेको एक मत पाउँछन्, उनिहरूलाई झन कस्तो होला एक भोटको महत्व ।
गत मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएका ३७ जनाले शून्य मत पाएका छन् । यसको अर्थ उनीहरूले आफैंलाई पनि भोट हालेनन् ? निर्वाचन आयोगको विवरणअनुसार, आफैंलाई भोट नहाल्ने र अरूले एक जनाले पनि नपत्याएका उम्मेदवार अधिकांश स्वतन्त्र थिए ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ का ७ जना स्वतन्त्र उम्मेदवारले शून्य मत ल्याए । यसैगरी महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का ९ जना स्वतन्त्र उम्मेदवारको पनि शून्य मत आएको छ । यी उम्मेदवारले पनि महसुस पक्कै गरे होलान् । रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ७ का स्वतन्त्र उम्मेदवारको पनि एक मत पनि आएन । बागमती प्रदेशमा नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्षका २ जना स्वतन्त्र उम्मेदवारलाई शून्य मत आएको छ ।
त्यस्तै, उपनिर्वाचनमा १९ जना उम्मेदवारले एक मतमात्रै प्राप्त गरेका छन् । यी केही प्रतिनिधिमूलक उदाहरण मात्र हुन् । यी निर्वाचनमा अर्को उम्मेदवारले एक भोट मात्र बढी प्राप्त गरेको भए ऊ निर्वाचित हुन्थ्यो । एक मत पनि नपाउने अनि एकले बिजयी हुने र एक मतले पराजित हुने कुरा कम मात्रामा हुन्छन् तर त्यो माहोलले मतदातालाई पनि अन्यौल बनाइदिन्छ । उम्मेदवारले मात्र होइन मतदाताले पनि धेरै कुरा मनमा खेलाउने गर्छन एक मतले निर्वाचनमा पछाडि पर्दा । एक मतका कारण आफूले छानेको मान्छेले अवसर पाउँदैन । यो पनि निकै दुःद क्षण हो ।
अन्त्यमा, मतदाताको एक भोटले उसैको भविष्य बोकेको हुन्छ । एक भोटले समाज वा संस्थाको उन्नति र अवन्नतिको बाटो निर्धारण गर्न सक्छ । यति गम्भीर सवाललाई हलुका लिंदा राष्ट्र, समाज र संस्थाको नेतृत्वमा असल व्यक्ति एक मतले पुग्न सक्दैनन् । नीति राम्रो बन्न सक्दैन । बनेका नीतिको कार्यान्वयन हुन सक्दैन ।
लोकतन्त्रको सफलताको लागि नीति र नेतृत्व छनौट गर्ने स्वच्छ, निष्पक्ष र भयरहित पद्धतिको जति महत्व छ, त्यति नै महत्व हरेक मतदाताले प्रत्येक एक भोटको मर्म बुझ्नुमा छ । पदमा हुने व्यक्तिसँग नै काम गराउने शक्ति हुन्छ । त्यसैले आफूले दिने एक मतमा बिचार गर्नुपर्छ । यो कुरा पत्रकारले त झनै ध्यान दिनुपर्छ ।