२१औँ शताब्दी सूचना र सञ्चार प्रविधिको युग हो जहाँ प्रत्येक क्षेत्रमा नयाँ नयाँ प्रविधिहरूको विकास भइरहेको छ। आजको बालबालिकाहरू डिजिटल युगमा हुर्किरहेका छन् जहाँ उनीहरूको जीवनशैली सोचाइ र सिकाइको तरिका परिवर्तन हुँदै गएको छ । यस्तो परिवर्तित परिवेशमा प्राचीन पद्धतिमा आधारित शिक्षाले मात्र विद्यार्थीहरूको विकास सम्भव हुदैन । त्यसैले प्रविधिलाई शिक्षा प्रणालीमा समावेश गरी विद्यार्थीलाई समय अनुसार अपडेट गराउन निकै जरुरी छ । प्रविधि मैत्री शिक्षा भनेको आधुनिक प्रविधिको उपयोग गरी सिकाइ प्रक्रियालाई सजिलो प्रभावकारी बनाउनु हो। आजको युगको माग नै यही हो कि विद्यार्थीहरू ज्ञानमा मात्र नभई प्रविधिमा समेत दक्ष र सक्षम हुनुपर्छ ।
पछिल्लो दशकमा इन्टरनेट कम्प्युटर स्मार्टफोन, स्मार्ट बोर्ड, अनलाइन प्लेटफर्म, भिडियो कक्षा जस्ता प्रविधिहरूको प्रयोग शिक्षामा व्यापक रूपमा हुन थालेको छ। यस्ता प्रविधिहरूले सिकाइलाई कक्षाको निश्चित सीमाभन्दा बाहिर लैजाने काम गरेका छन्। अब शिक्षक मात्र ज्ञान दिनेको भूमिकामा सीमित छैनन् बरु सिकाइलाई निर्देशन दिने मार्गदर्शकको रूपमा परिवर्तित भइसकेका छन्। विद्यार्थीहरू आफैं खोज्ने बुझ्ने र प्रस्तुत गर्ने प्रवृत्तिमा लागिरहेका छन् । प्रविधिले शिक्षक र विद्यार्थीबीचको सम्बन्ध प्रगाढ बनाएको छ शिक्षण सामग्रीको पहुँच सजिलो बनाएको छ । व्यक्ति ब्यक्ति बिचमा सिकाइको अवसर पनि विस्तार गरेको छ।
प्रविधि मैत्री शिक्षाले परम्परागत पाठ्यपुस्तकमा आधारित शिक्षाभन्दा बढी बहुआयामिक र फरक ज्ञान र दक्षता दिएको छ ।
विज्ञानको प्रयोगशालामा प्रयोग गर्न नसक्ने विद्यार्थीले डिजिटल प्रयोगशालाबाट अध्ययन गर्न सक्छ। इतिहासको घटना क्रमलाई भिडियोमार्फत हेरेर सजिलै बुझ्न सकिन्छ। गणितका कठिन सूत्रहरू एनिमेसनबाट सहजै सिक्न सकिन्छ । प्राबिधिक शिक्षाले विद्यार्थीकै चाहना क्षमता रुचिअनुसार अध्ययनको सुविधा प्रदान गर्छ जसले सिकाइलाई आत्मसात गर्न सजिलो बनाउँछ। विशेष गरी ग्रामीण भेगका विद्यार्थीका लागि प्रविधिको प्रयोगले गुणस्तरीय शिक्षा पाउनको सम्भावना बढाएको छ। यति मात्र होइन भौगोलिक दूरीले सीमित बनाएको शिक्षा अब प्रविधिको सहायताले विश्वभर सजिलै फैलिएको छ। यद्यपि प्रविधि मैत्री शिक्षाको प्रभावकारिता सुनिश्चित गर्न थुप्रै चुनौतीहरू पनि छन्।
नेपाल जस्ता विकासोन्मुख देशमा प्रविधिको पहुँच अझै सबै स्थानमा समान रूपमा पुगेको छैन। इन्टरनेटको कमजोरी उपकरणको अभाव शिक्षकको प्रविधिमा दक्षताको कमी तथा प्रविधि प्रयोग गर्न आवश्यक नीति र संरचनाको अभावले प्रविधि मैत्री शिक्षालाई पूर्णरूपमा कार्यान्वयन गर्न कठिनाइ भइरहेको छ । धेरैजसो विद्यालयहरू अझै परम्परागत शैलीमै चलिरहेका छन्। शिक्षामा प्रविधिको उपयोग भनेको केवल कम्प्युटर ल्याउने होइन यसलाई सिकाइको मूल प्रवाहमा समाहित गर्नु हो जसका लागि राज्य शिक्षक अभिभावक सरकार सबैको सहकार्य आवश्यक
पर्छ ।
आजको पुस्ता डिजिटल युगमा जन्मिएको पुस्ता हो । तिनीहरूको दिमाग छिटो प्रतिक्रिया दिने दृश्य सामग्रीबाट छिटो सिक्ने र प्रविधिको माध्यमबाट सिर्जनशील बन्ने प्रकृतिको हुन्छ। यस्तो अवस्थामा प्रविधिबाट टाढा राखिएको शिक्षा प्रणाली उनीहरूका लागि प्रभावकारी हुन सक्दैन । प्रविधिलाई पाठ्यक्रममा मात्र नभई पठनपाठनको शैलीमै मिसाएर शिक्षा दिनुपर्छ। शिक्षकहरूलाई डिजिटल शिक्षणका तालिमहरू दिइनुपर्छ विद्यालयहरूमा इन्टरनेट र आवश्यक उपकरणको सुनिश्चितता गर्नुपर्छ र विद्यार्थीहरूलाई सुरक्षित तथा सकारात्मक प्रविधि प्रयोगमा अभिप्रेरित गर्नुपर्छ । यस्तो वातावरण तयार पार्न सकेमा प्रविधि मैत्री शिक्षा मार्फत हामी सीप मुलुक असल र सक्षम नागरिक उत्पादन गर्न सफल हुनेछौं ।
प्रविधि मैत्री शिक्षा केवल विकल्प होइन यो आजको समयको आवश्यकता हो। प्रविधिले शिक्षालाई नयाँ दिशा मात्र दिएको छैन यसले सिकाइको अर्थ नै परिवर्तन गरिदिएको छ। हाम्रो भविष्यको पुस्तालाई सक्षम नविन र उत्तरदायी बनाउन शिक्षा प्रणालीमा प्रविधि समावेश आवश्यक छ । शिक्षामा प्रविधिको सन्तुलित प्रयोगले मात्र गुणस्तरीय शिक्षा सामाजिक समावेशिता दिगो विकास सम्भव छ । त्यसैले अबको शिक्षाको नारा नै प्रबिधि मैत्री शिक्षा आजको आवश्यकता हुन निकै जरुरी ।