सञ्चालनमा रहेको व्यवसाय बन्द गरेपछि सम्बन्धित निकायमा खारेज वा स्थगन प्रक्रिया नगर्दा व्यवसायीहरू लाखौं रूपैयाँ जरिवाना तथा कर तिर्न बाध्य हुने अवस्था सिर्जना हुने गरेको छ । विभिन्न सरकारी निकायहरूमा दर्ता गरेर सञ्चालन गरिएका व्यवसायहरू बन्द गर्दा समयमै कानुनी प्रक्रिया पूरा नगर्दा व्यवसाय सञ्चालकको नाममा प्रत्येक वर्ष अनिवार्य कर थपिँदै जाने प्रावधान अनुसार वर्षेनि जरिवाना पनि संचित हुँदै जान्छ ।
‘धेरै व्यवसायीहरूले व्यवसाय बन्द गरेपछि त्यसलाई खारेज गर्नु आवश्यक नठानी बेवास्ता गर्ने गरेका छन्’, बिहीबार नेपाल पत्रकार महासंघ बाँकेको समन्वयमा आन्तरिक राजश्व कार्यालय नेपालगन्जले पत्रकारहरूका लागि आयोजना गरेको अभिमूखिकरण कार्यक्रममा कर अधिकृत किरण डाँगी आफ्नो प्रस्तुति राख्दै भने, ‘तर व्यवसाय दर्ता कायम रहँदा कर विवरण नबुझाएको कारणले प्रत्येक वर्ष जरिवाना थपिँदै जान्छ । बर्षौ वेवास्ता गर्दा लाखौं रूपैयाँ तिर्नुपर्ने अवस्था आउन सक्छ ।’
विशेष गरी स्थायी लेखा नम्बर लिएको व्यवसायले व्यवसाय बन्द गरेपछि कम्तीमा पनि स्थगन प्रक्रिया अनिवार्य रूपमा पूरा गर्नुपर्छ । त्यस्तै, मूल्य अभिवृद्धि कर दर्ता भएको व्यवसाय भएमा पूर्ण खारेज गर्नुपर्ने प्रावधान छ ।
व्यवसाय बन्द गरेपछि सम्बन्धित उद्योग कार्यालय, कम्पनी रजिष्ट्रारको कार्यालय वा अन्य दर्ता निकायबाट व्यवसायिक फर्म खारेज गरेपछि मात्र आन्तरिक राजस्व कार्यालयमा प्रक्रिया अगाडि बढाउन सकिन्छ । भविष्यमा कुनै पनि सरकारी सेवामा अवरोध नआओस् भन्ने हेतुले व्यवसाय बन्द गर्ने वित्तिकै कानुनी प्रक्रिया पूरा गरेर व्यवसाय स्थगन वा खारेज गर्नुपर्ने आवश्यकता अत्यन्तै कर अधिकृत महत्वपूर्ण रहेको डाँगीले बताएका थिए ।
कर अधिकृत डाँगीले कार्यालयले सम्पादन गर्ने काम, प्रवाह गर्ने सेवाको प्रकृति, कर सम्बन्धि नयाँ स्किम लगायतका विषयमा प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रममा बोल्दै आन्तरिक राजश्व कार्यालय बाँकेका प्रमुख पूर्ण प्रसाद न्यौपानेले करदाता शिक्षा प्रवाहका निम्ति मिडियाको अहम् भूमिका रहेको बताए । उनले कर संकलन दर बढाउन मिडियाको साथ आवश्यक रहेको भन्दै आफूहरूमाथि पनि निरन्तर निगरानी हुनुपर्ने बताए । न्यौपानेले कर छली, करको दायरामा नआउने लगायतका समस्यामा खोज पत्रकारितामार्फत खबरदारी गर्न आग्रह समेत गरे । उनले मिडिया सहकार्य र मिडियामैत्री वातावरण सिर्जनामा आफूहरू प्रतिबद्ध रहेको समेत बताए ।
कार्यक्रमका प्रमुख अतिथि, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले करदाता शिक्षाका लागि मिडिया सशक्त माध्यम भएको बताए । गिरीले कर सम्बन्धि सूचना र जानकारी सम्प्रेषण, कर संकलन र खर्चमा निगरानी, कर छली खुलासा, कर तिर्नु नागरिकको कर्तब्य हो भन्ने चेतना फैलाउन, कर सम्बन्धि शिक्षा र सचेतना अभिबृद्धि गर्न सञ्चारकर्मीहरूले भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले आन्तरिक राजश्व कार्यालय मिडियामैत्री देखिएको बताउँदै सूचना प्रवाह र मिडिया सहकार्यका लागि पनि अग्रसरता देखाइरहन आग्रह गरे ।