जामुनको रुख नेपालको तराईदेखि भारतको गङ्गा मैदानसम्म फैलिएको एक गहिरो उपयोगिता बोकेको औषधीय गुणले भरिएको वृक्ष हो । यो रुखले हजारौँ वर्षदेखि मानव स्वास्थ्य वातावरण र संस्कृतिको सेवा गर्दै आएको छ । यो रुख विशेषगरी गर्मी मौसममा हरियाली प्रदान गर्ने, फल दिने र आयुर्वेदिक औषधिको रूपमा काम गर्ने बहुउपयोगी बिरुवा हो । यो सजिलै हुर्काउन सकिन्छ र बीउ जहाँ छरे पनि जागिहाल्छ । यसको वैज्ञानिक नाम साइजिजियम क्युमिनी हो । जामुनको रुख ३० मिटरभन्दा अग्लो हुन सक्छ र यो सय वर्षभन्दा लामो समयसम्म बाँच्छ । यसको काठ बलियो गाढा र टिकाउ हुन्छ भने पातहरू चम्किला बाक्ला र हरियो रंगका हुन्छन् । फूलहरू साना सेतो हरिया रंगका हुन्छन् जामुन बैशाखतिर फुल्छन् । जेठ असारतिर यसको फल पाक्छ जुन पहिलो चरणमा हरियो रहन्छ त्यसपछि गाढा बैजनी हुँदै कालो हुन्छ । फल टररो अमिलो र गुलियो स्वादको हुन्छ यसमा छालासहितको बोक्रा रसिलो गुदी र एउटा कडा बीउ हुन्छ । यसको स्वाद र गन्ध दुवै मीठो र निकै लाभदायक हुन्छन् । नेपालका विद्यालय, मन्दिर ,चौतारा, वन, घर वरिपरिको वातावरणमा समेत जामुनको बोट लगाइएको पाइन्छ र यो मानिसको जीवनसँग भावनात्मक रूपमा पनि गाँसिएको देखिन्छ ।
जामुनको रुख केवल सौन्दर्य वा फलको लागि मात्र उपयोगी छैन यसले स्वास्थ्यमा पनि अद्भुत प्रभाव पार्दछ । प्राचीन आयुर्वेदिक शास्त्रहरू चरक संहिता, सुश्रुत संहिता, भावप्रकाश निघण्टु जस्ता ग्रन्थहरूमा जामुनको प्रयोगलाई विशेष स्थान दिइएको छ । यो वनस्पतिमा जाम्बोलीन, जाम्बोसिन, एलाजिक एसिड, टैनिन, ग्लाइकोसाइड, फ्लाभोनोइड जस्ता यौगिकहरू पाइन्छन् जसले शरीरको रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सहयोग गर्छ । मधुमेह रोगका लागि यसको बीउको चूर्ण औषधिको रूपमा प्रयोग गरेको पाईएको छ । बिहान खाली पेट एक चम्चा जामुनको बीउको धूलो मनतातो पानीसँग सेवन गर्दा इन्सुलिनको कार्यसञ्चालनमा सुधार आउँछ । यसबाहेक यसको पातले आमाशयमा भएको अम्लता, ग्यास, कब्जियत हटाउन मद्दत गर्छ । बोक्रा उमालेर बनाएको झोल मुखमा कुल्ला गर्दा मुखको दुर्गन्ध हट्छ, गिजा बलियो हुन्छ, र मुखको संक्रमण हट्छ । छालामा लागेको खटिरा, एलर्जी, गन्हाउने घाउमा यसको बोक्रा पानीमा उमालेर धुने गरेमा लाभ हुन्छ । जामुन पचाउन अलि गाह्रो हुने भएकाले यसको सेवन सँगै सिधा नुन, पिप्ला वा मरीच मिसाएर गरे राम्रो पाचन हुन्छ । यो पाचन प्रणाली सुधार्ने, रक्तशुद्ध गर्ने, भोक जगाउने अनि लिभरलाई सक्रिय बनाउने कार्यमा पनि प्रयोग गरिन्छ यदि कसैलाई आउ पखाला लागेको छ भने जामुनको बोक्रा पिसेर कपट छान गरेर एक गिलास पानीमा मिसाएर खाए सन्चो हुन्छ ।
यस रुखको महत्व केवल औषधीय क्षेत्रमै सीमित छैन यसको वातावरणीय महत्त्व पनि अतुलनीय छ । जामुनको रुख एक छायादार र बाक्लो पात भएको वृक्ष हो जसले धुलो धुवाँ प्रदूषण रोक्न सघाउँछ । यो वातावरणमा अक्सिजनको मात्रा बढाउने कार्बनडाइअक्साइड सोस्ने र माटो भुक्षय रोक्ने प्रभावकारी वृक्ष हो । विशेषगरी सहरी क्षेत्रमा यो रुखले गर्मीमा शीतलता प्रदान गर्दछ सवारीसाधनको धुवा धुलोलाई अवशोषण गरी वायु सफा गर्छ । ग्रामीण क्षेत्रका कतिपय घरको आँगनमा यो रुखको छायाँमा भेला छलफल वा सभा हरू गरिन्छ । किसानहरू यसको पात गाई गोरुलाई खुवाउँछन् जसले पाचन सहज बनाउँछ र दूधको उत्पादनमा वृद्धि हुन्छ । जामुनको काठलाई दीर्घकालीन संरचनाहरू बनाउन प्रयोग गरिन्छ । यसको खम्बा वा चौकीहरू लामो समय टिक्ने र किराले नखाने विशेषता भएका कारण यसलाई इन्धनभन्दा बढी मूल्यवान मानिन्छ । बालीनाली वगैंचाहरूको छेउमा यो रोप्दा हावाको दिशा सम्हाल्न, चिस्यान कायम राख्न र जैविक विविधता संरक्षण गर्न सहयोग पु¥याउँछ । यस्ता गुणहरूको कारण विद्यालय, कार्यालय, बगैंचाहरू, सडक किनारमा यसको वृक्षारोपण अभियान बढ्न थालेको छ । यसको रूखको जराले पानी तान्ने क्षमताले जमिनको जलाशय सन्तुलनमा पनि योगदान पु¥याउँछ । गाउँ घरमा बर्सातको बेला आकाश गडगडायो भने मानिसहरू गड्याङ गुडुङ्ग बाजे जामुनाको रुख मुनि छौ भन्ने चलन छ जामुनको रुख भएको ठाउमा चट्याङ पर्दैन भन्ने भनाई छ ।
जामुनको रुखसँग नेपाल र भारतका धार्मिक, सांस्कृतिक र ऐतिहासिक सन्दर्भहरू पनि गहिरो सम्बन्धित छन् । संस्कृतका कतिपय ग्रन्थहरूमा यसलाई राजजम्बु भनिएको छ जुन राजाहरूले पूजा र साधनामा प्रयोग गर्थे । बौद्ध धर्ममा गौतम बुद्धले ध्यान गरेको वृक्षमध्ये जामुनलाई पनि स्मरण गरिएको छ । हिन्दू परम्परामा पनि यसलाई पवित्र वृक्ष मानिन्छ र कतिपय पूजा विधिमा यसको पात फूल वा फल प्रयोग गरिन्छ । धार्मिक स्थलहरूमा यसको रुख रोप्ने चलन पनि पाइन्छ जुन त्यस क्षेत्रको पवित्रता र हरियालीको प्रतीक हो । ग्रामीण क्षेत्रमा जामुनको फल पाकेपछि बालबालिकाले हर्षका साथ चढेर टिप्ने बाढेर खाने अनि बाँकी रहेको फल टिपेर घरमा लिएर जाने परम्पराले मानिस मानिस बिचको आत्मियता बढाउछ । कतिपय गाउँमा वरको भोजमा जामुनको अचार राख्ने परम्परा अझै जीवित छ । यसको उपस्थितिले संस्कृतिको जगेर्ना मात्र गर्दैन, मानिसलाई प्रकृतिप्रति जोड्ने माध्यम पनि बन्छ । जब हामी धर्म परम्परा प्रकृति र आयुर्वेदलाई एउटै वृक्षमा एकीकृत देख्छौँ त्यतिबेला जामुनको रुख केवल बनस्पति नभई जीवनको एउटा दर्शनको रूपमा खडा हुन्छ ।
आजको आधुनिक युगमा जब मानव स्वास्थ्य वातावरण र परम्परागत ज्ञान संकटमा परेका छन् त्यस्तो अवस्थामा जामुनजस्ता वृक्षहरू समाधानका स्थायी आधार हुन् । नेपालमा औषधीय बनस्पतिको सम्भावना प्रचुर भए पनि हामीले व्यावसायिक र वैज्ञानिक ढंगले यसको सदुपयोग गर्न सकेका छैनौँ । जामुनको बीउ, फल, बोक्रा, पात र काठ सबै बेचबिखन हुन्छ्न । यसको खेतीबाट ग्रामिण उद्यमशीलता रोजगारी र जैविक कृषि प्रवद्र्धन गर्न सकिन्छ । यसबाहेक यसको जुस सिरप, अचार, औषधि उत्पादन, साबुन वा फेसक्रिम निर्माणमा पनि आधुनिक प्रयोग हुन थालेको छ । नेपालमा सरकारी तवरबाट जामुनको वृक्षारोपणलाई प्राथमिकता दिइनु आवश्यक छ । विद्यालय स्तरबाट नै एक विद्यार्थी, एक जामुन जस्ता अभियान थालेर विद्यार्थीहरूमा प्रकृति प्रेमको भावना रोप्न सकिन्छ । स्थानीय तह, नगरपालिकाहरूले सार्वजनिक स्थलहरूमा जामुन रुख रोपेर हरियाली र वातावरण सन्तुलनमा योगदान गर्न सक्छन् । दीर्घकालीन दृष्टिकोणले जामुन जस्ता बहुपयोगी रुखहरूको संरक्षण र प्रवद्र्धन गर्नु भनेको भविष्यका पुस्ताका लागि स्वास्थ्य, हरियाली र आत्मनिर्भरता निर्माण गर्नु हो । यदि हामीले जामुनको रुखलाई केवल फल दिनेलाई सीमित नगरी यसको जीवन्त दर्शनलाई आत्मसात गर्न सक्यौँ भने, हामी प्रकृतिसँगको गहिरो सम्बन्ध पुन स्थापित गर्न सफल हुनेछौँ ।
आजको जलवायु संकट र स्वास्थ्य चुनौतीको समयमै जामुनको महत्त्व झनै बढेको छ । यो रूख छायादार, प्रदूषण सोस्ने र कम पानीमा हुर्कने भएकाले हरित शहर निर्माणमा उपयोगी हुन्छ । यसको फललाई जुस, सुकुटी, अचार र जाम जस्ता परिकार बनाएर स्वरोजगारका अवसरहरू पनि सिर्जना गर्न सकिन्छ । जामुन एउटा यस्तो प्राकृतिक उपहार हो जसले स्वाद, स्वास्थ्य र संस्कृतिलाई एकैसाथ जोड्छ । यसको हरेक भागमा उपयोगिता लुकेको छ । बोक्राले कयौ रोगको उपचार गर्छ । जामुनको रूखले शीतलता र वातावरणीय सन्तुलन प्रदान गर्छ । यसैले हामी सबैले जामुनको रुख संरक्षण र प्रवद्र्धनमा ध्यान दिनु आवश्यक छ । जय हरियाली