निशु जोशी
नेपालगन्जलाई प्रायः ‘सद्भावको सहर’ भनेर चिनिन्छ । बाँके जिल्लाको नेपालगन्ज सहरमा हिन्दु, मुस्लिम, शिख, इसाई लगायतका विभिन्न धर्मावलम्बीहरू शान्तिपूर्ण सहअस्तित्वसहित बसोबास गर्छन् । धार्मिक, सांस्कृतिक र सामाजिक विविधतामा एकअर्काको सहभागिता यहाँको पहिचान बनेको छ । विशेषगरी हिन्दु महिलाहरूको महान चाड हरितालिका तिजको अवसरमा आयोजना गरिएको कार्यक्रममा मुस्लिम समुदायका महिलाहरू समेत सहभागी हुनु यहाँको सद्भावपूर्ण संस्कृतिको प्रष्ट उदाहरण हो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगन्ज उपमहानगरपालिका महिला उद्यमी समिति बाँकेले आइतबार नेपालगन्जमा आयोजना गरेको तिज विशेष कार्यक्रममा हिन्दु महिलाहरू साडी, पोते लगायतका श्रृगारमा सजिएर तिज गीतमा नाँचिरहेका थिए ।

त्यही कार्यक्रममा मुस्लिम महिलाहरू पनि सहभागी थिए । उनीहरूको अनुहारमा कुनै संकोच देखिँदैन, बरु गर्वपूर्वक आफू पनि संस्कृतिको साझेदार भएको भाव झल्काउँथ्यो । कार्यक्रममा सहभागी नेपालगन्ज–४ की ४० वर्षीया नाजमा हल्वाई तिज पर्व आफुलाई मन पर्ने बताउदै भन्छिन्, ‘एकदम रमाइलो लाग्छ । हजुरहरू टिका–सिन्दुर, रातो लुगा लगाउनुहुन्छ, श्रीमानको स्वागत गरेर दर खानुहुन्छ, त्यही मन पर्छ ।’
उनी नेपालगन्जको सल्यानीवागमा बस्छिन् । छिमेकमा पहाडबाट आएका हिन्दु समुदायका मानिसको पसल भएको बताउदै उनले सानैदेखि तिजको बेलामा रातभरि नाँचगानको रमाइलो हुने र आफुलाई त्यतिबेलादेखि यो चाड मन परेको बताइन् । अहिले पनि तिजमा गीत सुन्दा विदेशमा भएको श्रीमानसंग जोडेर गाइएका गीतहरुले आफूलाई बढी भावुक बनाउने गरेको उनले बताइन् ।
नाजमाको यो भनाइले स्पष्ट गर्छ कि तिज हिन्दु महिलाको मात्र पर्व नभई, यसमा मुसलमान महिलाले पनि आफ्नै रमाइलो पाउँछन् । उनीहरूको लागि यो उत्सव सद्भाव र सहजीवनको प्रतीक हो ।
नेपालगन्ज–४ की अर्की सहभागी सलमा हल्वाई पनि आफुलाई तिज पर्व मन पर्ने बताउदै भन्छिन्, ‘राम्रो लागेरै कार्यक्रममा आएको हुँ । रातो लुगा लगाएको मन पर्छ । तिजको गीत सुन्न रमाइलो लाग्छ ।’
नाजमा र सलमाको भनाइले धर्म फरक भए पनि सामाजिक–सांस्कृतिक भावनामा कुनै दूरी नरहेको देखाउँछ । उनीहरूको जीवनशैलीमा हिन्दु संस्कृतिको अवलोकन र अनुभव सामान्य कुरा बनेको छ ।
यस्तै, नेपालगन्ज–१७ की बबी परियारपनि सबै समुदायले एकअर्काको चाडपर्वमा सहभागी हुने गरेको बताउछिन् । बबी भन्छिन्, ‘तिज रमाइलो हुन्छ । नेपालगन्जमा मुस्लीम समुदाय बढी छ, तर मिलेर बसेको ठाउँ हो । दुबैले दुवैका चाडपर्व सेयर गरेर मनाउँछौँ । उहाँहरूले बोलाउँदा हामी जान्छौँ, उहाँहरू पनि हामीले बोलाउदा आउनुहुन्छ । राम्रो लाग्छ ।’
उनको भनाइले स्थानीय सद्भावलाई अझै बलियो बनाएको छ । तिज वा इद, दुबै पर्वमा एकअर्काको उपस्थिति सामान्य र स्वागतयोग्य भएको कुरा यसले पुष्टि गर्छ ।
नेपालगन्ज–१ की रेणु बेल्बासे तिजमा मात्र नभएर पिकनिक लगायतका कार्यक्रमा पनि सबै धर्म समुदायको सहभागिता हुने गरेको बताउछिन् ।
रेणुको भनाइले पनि देखाउँछ कि तिजलाई महिला पर्व मात्रै होइन, सामाजिक भेटघाट, सामूहिकता र एकतासँग पनि जोडिन्छ । अहिले तिजका कार्यक्रमहरूमा विभिन्न संघसंस्था, विद्यालय, महिला समूह र सामुदायिक संस्थाले फरक–फरक शैलीमा कार्यक्रम आयोजना गर्छन् । यसमा मुस्लिम महिला सहभागी हुनु भनेको नेपालको बहुसांस्कृतिक समाजलाई प्रतिबिम्बित गर्ने अर्को अध्याय हो ।
नेपालगन्ज भौगोलिक र सांस्कृतिक हिसाबले विविधता बोकेको सहर हो । भारतसँग जोडिएको नाकाबाट आउने–जाने मानिसहरूको मिश्रण यहाँ देखिन्छ । तर, विविधता नै यहाँको सौन्दर्य बनेको छ ।
समाजसेवीहरू भन्छन्, “नेपालगन्जलाई सद्भावको सहर भनिनु भनेको यस्ता सहभागिता र आपसी सहयोगकै कारण हो । विभिन्न धर्मका मानिसहरूले एकअर्काको पर्वलाई आफ्नै खुशी जस्तै मनाउँछन् । यही संस्कृतिले सहरलाई अद्वितीय बनाएको छ ।“
यस्ता कार्यक्रममा मुस्लिम महिलाको सहभागीताले सद्भावको सन्देश दिएको व्यवसायी कस्मीरा खातुन पनि बताउछिन् ।
वास्तवमै, इदमा हिन्दु समुदायका मानिसहरूको उपस्थितिलाई मुस्लिमले स्वागत गर्छन् भने तिजमा मुस्लिम महिलाको सहभागिता हिन्दु दिदीबहिनीहरूले गर्वका साथ लिएका छन् ।
नेपालगन्जमा एकै टोलमा हिन्दु र मुस्लिम परिवारको घर देखिन्छ । छिमेकीको निम्तो अस्वीकार नगर्ने संस्कृति यहाँको विशेषता भएको नाजमा र रेणु दुबैले बताए । उनीहरुका अनुसार हिन्दु महिलाले दर खाने बेला छिमेकी मुस्लिम महिलालाई बोलाउँछन् । इदको समयमा मुस्लिम परिवारले हिन्दु छिमेकीलाई सेवइँ, मिष्ठान्न वा मासु खुवाउँछन् । विद्यालय, बजार, संघसंस्थामा पनि धार्मिक आधारमा भेदभाव कम देखिन्छ ।
यसले गर्दा नेपालगन्जलाई प्रायः “फूलबारी” जस्तै सहर भनेर पनि तुलना गरिन्छ—जहाँ विभिन्न रंगका फूलहरू एउटै बगैचामा फुल्छन् ।
तिज मूलतः महिलाको पर्व हो । महिलाले दर खान्छन्, गीत गाउँछन्, नाच्छन् र ब्रत बस्छन् । यो पर्वमा मुस्लिम महिलाको उपस्थिति देखिनु भनेको महिला–महिला बीचको आपसी सम्बन्ध अझै मजबुत हुनु पनि हो ।
नाजमा हल्वाईजस्ता महिलाले तिजमा देखेको रमाइलोलाई आफ्नै स्मृतिसँग जोड्छन् । सलमा हल्वाई र बबी परियारजस्ता महिलाले धार्मिक भिन्नतालाई संस्कृतिको साझेदारीमा रूपान्तरण गर्छन् । यसरी तिज पर्वले नेपालगन्जमा महिला बीच संवाद र सहकार्यको अवसर पनि बढाइरहेको छ ।
सहअस्तित्वको पाठ
नेपालगन्जमा हिन्दु र मुस्लिमबीचका सम्बन्धलाई कहिलेकाहीँ राष्ट्रिय राजनीतिको दृष्टिले अलग–अलग देखाइए पनि स्थानीय स्तरमा भने आपसी सहजीवन नै प्रमुख आधार बनेको छ । तिजमा मुस्लिम महिलाको सहभागिता वा इदमा हिन्दुहरूको उपस्थिति केवल रमाइलोका लागि मात्र होइन, समाजमा एकताको पाठ सिकाउने अभ्यास पनि हो ।
पछिल्ला वर्षहरूमा तिजको स्वरूपमा पनि परिवर्तन देखिएको छ । पहिले तिजलाई पितृसत्तात्मक संस्कृतिसँग जोडेर मात्र बुझिन्थ्यो । अहिले महिलाले यसलाई आफ्नो स्वतन्त्रता, आत्म–अभिव्यक्ति र सहअस्तित्वको पर्वका रुपमा पनि लिन थालेका छन् । नेपालगन्जमा आयोजित तिज कार्यक्रममा हिन्दु–मुस्लिम महिलाले एउटै गीतमा नाच्नु त्यसकै प्रमाण हो । यसरी तिज केवल धार्मिक वा सांस्कृतिक पर्व मात्र नभई सामाजिक एकता र सद्भावको सन्देश दिने अवसर बनेको छ ।
नेपालगन्ज सहर धार्मिक विविधताको उत्कृष्ट नमुना बनेको छ । हिन्दुहरूको महान पर्व तिजमा मुस्लिम महिलाको सहभागिताले यो सहरलाई अझै विशिष्ट बनाएको छ । नाजमा हल्वाई, सलमा हल्वाई, बबी परियार र रेणु बेल्बासेजस्ता महिलाको अनुभवले स्पष्ट देखाउँछ—नेपालगन्ज फरक धर्मको मानिसले पनि साझा खुशीमा रमाउन सक्ने सहर हो ।
तिज होस् वा इद, यहाँका बासिन्दाले पर्वलाई केवल धार्मिक अनुष्ठान मात्र नभई सामाजिक मेलमिलाप र सहअस्तित्वको पर्वका रुपमा व्याख्या गरेका छन् । यही कारण नेपालगन्जलाई आज पनि “सद्भावको सहर” भनेर चिनिन्छ ।