नेपालगन्जमा तीन सय ५१ ग्राम लागुऔषध ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन् ।
वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ स्थित महाराज स्कुल नजिकबाट भारतीय नागरिकलाई उक्त परिणामको लागुऔषध सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
‘विशेष सूचनाको आधारमा कारवाही गर्दा भारत बहराइचका विशाल अहमद आफ्नो मोटरसाइकल सहित रहेको अवस्थामा चेकजाँच गर्दा तीन सय ५१ ग्राम लागुऔषध सहित प्रहरी निरीक्षक अरुण बमको कमाण्डको टोलीले नियन्त्रणमा लिएको हो’, बाँके प्रहरी प्रवक्ता, लिलाराज लामिछानेले भने, ‘अहमद, उनले प्रयोगको सवारी साधन र लागुऔषध नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएका छौं ।’
प्रहरीले हालसम्मकै एक पटकमा सबैभन्दा बढी लागुऔषध नियन्त्रणमा लिन सफल भएको पहिलो घटना भएको दाबी गरेको छ ।