महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका उप–प्राध्यापक हरिप्रसाद तिमिल्सिनालाई नेपालको दोस्रो विश्वविद्यालय नेपाल संस्कृत विश्वविद्यालयले विद्यावारिधि उपाधि प्रदान गरेको छ ।
पश्चिम नेपालमा भाषा साहित्य समालोचना र समग्र वाङ्मयको विकासमा विगत ३ दशकदेखि निरन्तर सक्रिय तिमिल्सिनालाई नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. डा. भीमप्रसाद खतिवडाको अध्यक्षतामा बसेको अनुसन्धान केन्द्रको बैठकले विद्यावारिधि उपाधि प्रदान गर्ने निर्णय गरेको हो ।
दैलेखको महाबु गाउँपालिका छ टाकुरीमा २०२३ सालमा जन्मेर नेपालगन्जलाई कर्मथलो बनाउँदै प्राध्यापन र साहित्यसेवामा एक साथ सक्रिय रहेका तिमिल्सिनाले नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रमा २०७४ वैशाखदेखि कक्षा प्रारम्भ गरी ३ सेमेस्टरको अध्ययनपश्चात् भएको परीक्षा उत्तीर्ण गरेका थिए ।
२०७५ पौष २२ गते स्थायी करार गरी ’सिद्धिचरण श्रेष्ठका खण्डकाव्यमा रसविधान’ शीर्षकमा अनुसन्धानमा संलग्न उनले २०८१ माघ २६ गते अन्तिम वाक् परीक्षा भाइबा सम्पन्न गरेका थिए ।
प्राज्ञ तिमिल्सिनाले ३७० पृष्ठ लामो शोध प्रबन्धमा पौरस्त्य साहित्य समालोचनाको महत्त्वपूर्ण साहित्यिक मान्यता र सिद्धान्तको गहन सैद्धान्तिक अध्ययन गरी सोही आधारमा नेपाली साहित्यको स्वच्छन्दतावादी धाराका सहप्रवर्तक वरिष्ठ साहित्यकार सिद्धिचरण श्रेष्ठद्वारा रचित उर्वशी,मङ्गलमान, भीमसेन थापा, आँसु,कान्तीमतीलगायत नौ वटा खण्डकाव्यको समिचिन विवेचना गर्दै ती खण्डकाव्यमा रस कसरी प्रयोग गरिएको छ भन्ने कुराको अनुशीलन गरेका छन् ।
विद्यावारिधिका लागि शोधकर्ता तिमिल्सिना कविता,कथा निबन्ध, नियात्रा, समालोचनाजस्ता साहित्यका विविध विधामा सशक्त रूपमा कलम चलाउँदै आएका र लोपोन्मुख सोनाहा,कुछबदिया,खुना,राजी,कुमाल जातिका भाषा, साहित्य एवं संस्कृति खोज अध्ययन गरेका छन् ।
लुम्बिनी प्रदेशमा प्रचलित परम्परागत गीतसङ्गीतको सर्वेक्षण तथा अध्ययन, लुम्बिनी प्रदेशका लोककथाहरूको सङ्कलन र अध्ययनसमेत गरेका तिमिल्सिनाले विगत १६ वर्षदेखि महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा नेपाली पत्रकारिता विषयको प्राध्यापन गर्दै आएका छन् ।
भेरी साहित्य समाजलगायत विभिन्न भाषासाहित्यिक सङ्घसंस्थाको नेतृत्व गरी संस्थागत योगदान गरेका तिमिल्सिनाको विद्यावारिधि तहको उच्च अध्ययन नेपालगन्ज, लुम्बिनी हुंँदै समग्र देशको प्राज्ञिक उन्नयनमा महत्त्वपूर्ण हुने अपेक्षा गरिएको भन्दै सम्मान गरिएको छ ।
प्रगतिशील लेखक संघ नेपाल बांँके जिल्ला समितिले एक कार्यक्रम गरी शोधकर्ता तिमिल्सिनालाई सम्मान गरेको हो ।
शाखाका अध्यक्ष चरित्रा शाहको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय पार्षद मीना बराल, प्रदेश अध्यक्ष पङ्कज श्रेष्ठ, निवर्तमान अध्यक्ष पुष्पमणि प्रधान लेकप्रसाद प्याकुरेल,भरत रानाभाट तथा जिल्ला समितिका पदाधिकारी सदस्यहरूले अबिर लगाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।