- बचतकर्ताको झन्डै सवा अर्ब रकम हिनामिना गरेको आरोपमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापक पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार रकम हिनामिना गरेको बचतकर्ताहरूको उजुरीपछि सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाई पाण्डेलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरूलाई रुपन्देही जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
- रौतहटमा सरस्वतीको मुर्ति सेलाउने विषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा शनिबार साँझ दुई पक्षबीच झडप भएको थियो । झडपमा केही स्थानीय घाइते भएका छन् । अहिले घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । बोर्डका अनुसार २०८१ वैशाख १४ गतेदेखि २६ गतेसम्म परीक्षा हुनेछ । परीक्षा आउँदो वैशाख १४ गते बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ ।
- गृह मन्त्रालयले प्रहरी समायोजन समिति गठन गरेको छ । प्रशासन महाशाखाका सहसचिवको संयोजकत्वमा मन्त्रालयले शुक्रबार समिति गठन गरेको हो । मन्त्रालयकै नीति तथा योजना महाशाखाका सहसचिव सहसंयोजक, नेपाल प्रहरीका डिआइजी, मन्त्रालयका उपसचिव सदस्य तथा प्रहरी कर्मचारी प्रशासन शाखाका उपसचिव सदस्यसचिव छन् । प्रदेश सरकारहरूको दबाबपछि गृहले समायोजनको काम अघि बढाएको हो । तर, संघीय प्रहरी ऐन भने अझै आउन सकेको छैन ।
- जाजरकोटका खाद्यान्न डिपोहरूमा चामल मौज्दात नहुँदा स्थानीय मर्कामा परेका छन् । जिल्लाको जुनीचाँदे गाउँपालिका–७ रजुतरा बिक्री केन्द्र चामलविहीन छ । भात खानालाई नागरिकहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको रजुतरा विक्री केन्द्र तिर बेलाबेला पुग्ने गरेका छन् ।
- जलवायु क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूले पर्वतीय क्षेत्रको विकासलाई प्राथमिकतामा राख्न माग गर्दै काठमाडौं घोषणा पत्र जारी गरेका छन् । काठमाडौंमा जारी विश्व समाजिक मञ्चको १६औं संस्करणमा भएको दुई दिने विश्व जलवायु न्यायसम्बन्धी सम्मेलनले काठमाडौं घोषणा पत्र जारी गरेको हो ।
- राष्ट्रिय स्वतन्त्र पार्टीले घोराही–तुलसीपुर सडक खण्डमा दबाब यात्रा सम्पन्न गरेको छ । पूर्वशिक्षामन्त्री शिशिर खनालको नेतृत्वमा रास्वपाले तय गरेको २१ रुग्ण आयोजनामध्ये घोराही–तुलसीपुर सडक खण्डको २३ किलोमिटर यात्रा सम्पन्न गरेको हो ।
- र, नेपालले नेदरल्यान्ड्सविरुद्ध ९ विकेटको विजय हात पार्दै विश्वकप लिग-२ क्रिकेटमा लयमा फर्किएको छ । नेपालले शनिबार १ सय ३८ रनको लक्ष्य १५.२ ओभरमै १ सय ४१ रन बनायो । नोभेम्बरमा भारतमा सम्पन्न विश्वकपपछि एकदिवसीय क्रिकेटमा पहिलो खेल खेलिरहेको नेदरल्यान्ड्सलाई नेपालले कुनै मौका नै दिएन ।