- नेपालगन्ज उपमहानगरपालिकामा रात्रिकालीन फुड लेन सञ्चालनका लागि पहल थालिएको छ । त्यसका लागि पर्यटन डिभिजन कार्यालय बाँकेले उचित र उपयुक्त स्थान एकीन गर्न नेपालगन्ज उपमहानगरपालिकालाई पत्राचारसमेत गरेको छ ।
- वर्षौंदेखि नेपालगन्जको समस्याका रूपमा रहेको छाडा पशुलाई स्थायीरूपमा नियन्त्रण गर्ने प्रयास हुन सकेको छैन । जनप्रतिनिधि र कर्मचारीहरू छाडा पशु नियन्त्रणका लागि गम्भीर रहेको बताउँदै आए पनि कार्यान्वयन पक्ष भने शून्य छ । जसले गर्दा नेपालगन्जमा छाडा चौपायाका कारण सवारी आवागमन र ट्राफिक व्यवस्थापन प्रभावित भइरहेको छ ।
- पुष्पलाल चोकदेखि पूर्व राप्ती नदीसम्मको १० किलोमिटर सडकखण्ड स्तरोन्नति भएसँगै नेपालगन्ज-बघौडा हुलाकी सडक फराकिलो बनेको छ । नेपालगन्ज-गुलरिया सडक खण्डको २८ किलोमिटरमध्ये ११ दशमलव ६ किलोमिटर चार लेन र बाँकी दुई लेनको काम दुई अर्ब ७८ करोडमा भइरहेको छ ।
- नेकपा एमाले निकट अनेरास्ववियु बाँकेको २०औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा प्रकाश विश्वकर्मा निर्वाचित भएका छन् । उपाध्यक्षमा अमृत खत्री र रोशन शाही, सचिवमा विनय यादव, सहसचिवमा केशरजङ्ग शाही, सर्जन आचार्य, कृष्णचन्द ठकुरी तथा सिर्जना मल्ल तथा कोषाध्यक्षमा वर्षा मल्ल निर्वाचित भएका अनेरास्ववियुले जनाएको छ ।
- नेत्रहीन क्रिकेट संघ नेपाले बाँकेको कोहलपुरमा आयोजना गरेको नेत्रहीन क्रिकेट प्रतियोगिता २०२४ को उपाधि कञ्चनपुरले हात पारेको छ । मंगलबार भएको फाइनल खेलमा नेत्रहीन क्रिकेट संघ बर्दियालाई १ सय ६ रनले पराजित गर्दै दृष्टिविहीन क्रिकेट संघ कञ्चनपुरले उपाधि जितेकाे हाे ।
- र, नेपालगन्जमा ‘म्युजिक फर हार्मोनी’ (सद्भावका लागि संगीत) कार्यक्रम हुने भएको छ । अन्तरालको व्यवस्थापनमा फागुन २६ गते शनिबार हुने यो कार्यक्रमले नेपालगन्जबाट संसारलाई सद्भावको सन्देश दिने विश्वास गरिएको छ ।