- हिजोदेखि नेपालगन्जमा सुरु भएको लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ । लुम्बिनीको शान्ति सुरक्षालाई चुस्तदुरुस्त र सुशासनसहितको सेवा प्रवाह कायम गर्ने गरी बैठक सम्पन्न भएको छ ।
- नेपालगन्ज धार्मिक सहिष्णुताको सहर भएकाले यहाँको शान्ति सुरक्षामा सरकारले विशेष सुरक्षा व्यवस्था कायम गर्नुपर्ने बाँकेका नागरिक समाजका अगुवाहरुले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गएका छन् । खुला सीमाका कारण भइरहेको चोरीतस्करी, राजस्व चुहावट, बढ्दो लागुऔषध प्रयोग र ओसारपसारसँगै बाँकेमा सञ्चालित बालसुधार गृहमा बढ्दो कलहले यहाँका शान्ति सुरक्षामा प्रभाव पारेको उनीहरुको भनाइ छ ।
- यस्तै सम्पन्न प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले यहाँका १० सुरक्षा चुनौती रहेको बताएका छन् । धार्मिक सद्भाव, बालसुधार गृह र खुला सीमाका कारण हुने चोरीतस्करीसँगै साना हातहतियार ओसारपसार र प्रयोग बाँकेका प्रमुख सुरक्षा चुनौती रहेको उनले बताएका छन् ।
- पसलबाट सिर्जित फोहोर सडकमा फाल्ने नेपालगन्ज त्रिभुवन चोकस्थित मोडर्न बेकरीलाई नगरले पाँच हजार जरिवाना गरेको छ । फोहोरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम पाँच हजार रुपैयाँ जरिवाना गरिएको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिए ।
- बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट चोरी सिकारीमा प्रयोग हुने दुई थान अवैध बन्दुकसहितको हातहतियार सुरक्षाकर्मीले बरामद गरेको छ ।
- नेपालगन्जमा २० हजार पशुलाई खोरेतविरुद्धको भ्याक्सिन लगाइँदैछ । गाईभैंसीलाई खोरेत रोगबाट जोगाउन ६ महिनामाथिका बाच्छाबाच्छी तथा पाडापाडीलाई खोरेतविरुद्धको भ्याक्सिन लगाउन थालिएको हो ।
- ट्राफिक सप्ताहको दोस्रो दिन आज सवारी चालकको निःशुल्क स्वास्थ्य परीक्षण र निःशुल्क औषधि वितरण गरिएको छ ।
- र, सहकारी जोगाउन प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै विभिन्न सहकारी संघहरूले प्रदेश गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छन् ।