नेपालगन्जस्थित जमुनाह नाका हुँदै भारत निकासी हुने प्लाइउड निकासीमा भारतले अवरोध सिर्जना गरेको छ । भारतीय भन्सार कार्यालयले गुणस्तर प्रमाण चिन्हका नाममा जमुनाह नाकाबाट भारत निकासी हुने प्लाइउड निकासीमा अवरोध गरेको हो ।
पछिल्लो समय नेपालगन्जबाट उत्साह ढंगले प्लाइउड भारत निर्यात हुँदै आएको थियो । यसले यहाँको व्यवसायसँगै आर्थिक गतिविधिमा समेत टेवा पुर्याएको थियो । बाँकेका प्लाइउड उद्योगी एवम् प्लाइउड उत्पादक सङ्घ नेपालका सदस्य पशुपति दयाल मिश्रले भारतले गुणस्तर प्रमाण चिह्नका नाममा अवरोध सिर्जना गरेपछि गत १ मार्चदेखि नेपालगन्ज नाकाबाट प्लाइउड निर्यात बन्द भएको बताए ।
नेपालगन्ज भन्सार कार्यालयका अनुसार पछिल्लो सात महिनामा मात्रै करिब १७ करोड रुपैयाँ मूल्य बराबरको प्लाइउड भारत निकासी भएको थियो ।
भारत सरकारले प्लाइउडमा आइएसआई प्रमाण अनिवार्य गरिएको जनाएको छ ।