- सत्तारूढ गठबन्धनको न्यूनतम नीतिगत र साझा सङ्कल्प सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा उक्त सङ्कल्प सार्वजनिक गरिएको हो ।
- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । हालैको मन्त्रीस्तरीय निर्णयबाट शिक्षक सरुवालाई व्यवस्थित, प्रभावकारी र वैज्ञानिक बनाउन मापदण्ड तयार गरी र आयोगका हाल जारी परीक्षा सम्पन्न भएपछि मात्रै अन्तरजिल्ला सरुवा फुकुवा गर्ने निर्णय भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिए ।
- सोमबार साँझ ९ जनाको ज्यान जाने गरी भएको बागलुङ बस दुर्घटना तीव्र गतिका कारण भएको खुलेको छ । चालकले यू आकारको ओरालोमा तीव्र गतिमा बस चलाएको र ओरालोमा रहेको मोडमा मोड्न नसक्दा बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख एसपी ऋषीराम कँडेलले जानकारी दिए ।
- कैलाली भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा २६ करोड ३७ लाखको गहुँ आयात गरिएको छ । सोही अवधिमा १२ करोड २१ लाखको मकै, पाँच करोड ९४ लाखको चामल र एक करोड ९२ लाखको तोरीको दाना आयात भएको भन्सार कार्यालयले जनाएको छ ।
- लागुऔषध मुद्दाका फरार कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ । मधुवन नगरपालिकाका २५ वर्षीय विकास चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
- कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । उनका ‘वक्ररेखा, फेरि आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरू, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तराद्र्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया’कथा सङ्ग्रह प्रकाशित कृति हुन् ।
- आगामी वैशाख १ गते जुम्ला रारा अल्ट्रा म्याराथन आयोजना हुने भएको छ । कर्णाली र्स्पोर्टस क्लबले जुम्ला रारा अल्ट्रा म्याराथन गर्न लागेको अध्यक्ष सरोज शाहीले जानकारी दिए । सोमबार पत्रकार सम्मेलन आयोजना गरेर कर्णाली स्पोट्स क्लबले अल्ट्रा म्याराथनको तीब्र तयारी भइरहेको जनाएको हो ।
- र, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कको गिरावट देखिएको छ । मंगलबार नेप्से परिसूचक ६ दशमलव २४ अङ्कले घटेर दुई हजार ६७ दशमलव २९ को अङ्कमा कायम भएको हो ।