सञ्चारमाध्यमले विश्वव्यापी रुपमै सकारात्मक दिशा प्रवाह गर्ने गरी सञ्चारसामाग्री उत्पादन र प्रकाशन प्रसारण गर्नुपर्ने कुरामा जोड दिइएको छ । ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालयको भारत राजस्थान स्थित मुख्यालय, माउण्ट आबुमा राजयोग एजुकेशन एण्ड रिसर्च फाउण्डेसनले आयोजना गरेको ‘राष्ट्रिय मिडिया महासम्मेलन २०२४’ को घोषणा पत्रमा विभिन्न संकल्प गर्दै पत्रकारहरुले समाजमा शान्ति, खुशहाली र स्वस्थ वातावरणका लागि सञ्चारमाध्यमको नेतृत्वदायी भूमिका खोजिएको हो ।
सेप्टेम्बर २६–३० सम्म चलेको राष्ट्रिय मिडिया महासम्मेलनमा आयोजक संस्था बह्माकुमारीले भारत र नेपालका एक हजारबढी प्रतिनिधि पत्रकारहरु बीच विभिन्न १३ वटा समूहगत छलफल तथा बहसको आयोजना गरी ६ बुंदे घोषणापत्र जारी गरेको हो । जहाँ प्रवृधिको अत्याधुनिक प्रयोगका रुपमा रहेको आर्टिफिसियल इन्टेलिजेन्स ९एआइ०देखि स्प्रिचुअल इन्टेलिजेन्ससम्मका छलफल गरिएको थियो । सम्मेलनले सामाजिक सञ्जालका माध्यमबाट समाजमा फैलिरहेको नकारात्मकता रोक्न मूलधारका मिडियाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने कुरामा जोड पनि दिएको छ । ‘सामाजिक सञ्जालको नियमन र नियन्त्रण आवश्यक छ, तर त्यसो गरिरहँदा अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारको रक्षालाई प्राथमिकतामा राखिनुपर्छ,’ घोषणापत्रले भनेको छ, ‘संयुक्त राष्ट्र महासभाको ऐतिहासिक प्रस्तावका रुपमा लगेर ब्रह्मकुमारीले एआइको क्षमतालाई मान्यता दिने तर सुरक्षित प्रयोगका लागि निश्चित ढाँचा तयार गर्न जोड दिइनेछ ।’
त्यसक्रममा नेपालबाट नेपालगन्जस्थित ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालय, राजयोग प्रशिक्षण केन्द्रको पहलमा ६ जना सञ्चारकर्मीले महासम्मेलनमा भाग लिएका थिए । जसको प्रतिनिधित्व गर्दै वक्ताका रुपमा पत्रकार ओम प्रकाश घिमिरेले नेपालमा भैरहेको पत्रकारिताको अभ्यास गलत सूचना र फर्जी खबरले सिर्जना गरेको चुनौतिबारे आ–आफ्ना प्रस्तुति गरेका थिए । सम्मेलनमा सहभागी पत्रकार झलक गैरेले सम्मेलनका प्रस्तुतिहरुमा आफ्नो धारणा राखेका थिए । सहभागिताका लागि घिमिरेसँगै गैरे र राससका नेपालगन्ज कार्यालय प्रमुख युवराज पाण्डेलाई आयोजक ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालय, मिडिया विभाग प्रमुख सान्त्वनु भाइले सम्मान गरेका थिए ।
सम्मेलनका स्वस्थ र सुखी समाजका लागि आध्यात्मिक सशक्तिकरणमा मिडियाको भूमिका खोज्दै महासम्मेलनका उद्घाटनकर्ता भारत सरकारका केन्द्रीय मन्त्री डा। मुरुगन तथा समापन समारोहका प्रमुख अतिथि, केन्द्रीय लोकसभा सांसद केपी टेनेटीले सञ्चारमाध्यमको सकारात्मक भूमिकाले समाजमा शान्ति र सुव्यवस्था ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए । विभिन्न सञ्चारमाध्यमका प्रमुख तथा प्रतिनिधिहरु, विश्वविद्यालयका सञ्चार सम्बन्धी विज्ञ, भारतीय सरकारी निकायमा मिडिया नियमन गर्ने अधिकारी समेतको सहभागिता रहेको महासम्मेलनमा विश्वशान्ति र सद्भावका लागि मिडिया एक पथ प्रदर्शक, आध्यात्मिक उर्जासँगै आन्तरिक ऊर्जाको सशक्तिकरण, सोसल मिडियाका नकारात्मक र सकारात्मक आयाम, आध्यात्मिक बुद्धिमत्ता र कृत्रिम बुद्धिमत्ताको भेट, गलत सूचना र फर्जी खबर एक चुनौति लगायतका १३ वटा अवधारणामा समूहगत छलफल गरिएका थिए ।
‘समाजलाई सकारात्मक दिशा दिन सहभागी पत्रकार÷लेखकहरुलाई यो सम्मेलनले महत्वपूर्ण दिशा निर्देश गरेको छ’, सम्मेलनमा सहभागी भएपछि दैनिक नेपालगन्जसँग प्रतिक्रिया दिंदै लेखक, गीतकार मणिदेव अर्याल (मणिरत्न)ले भने ।
नेपालबाट ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालय, राजयोग प्रशिक्षण केन्द्र नेपालगन्जका उपप्रमुख ब्रह्माकुमारी मुना दिदीको नेतृत्वमा आठ सदस्यीय प्रतिनिधिमण्डल महासम्मेलनमा भाग लिन माउण्ट आबु पुगेको थियो ।