डा. विधुप्रकाश कायस्थ
आजको संसारमा, मानव अधिकारहरूको पक्षमा बढ्दो चासो र जागरूकता छ, जसले संसारभरिका सरकार र संगठनहरूलाई न्याय, समानता, र स्वतन्त्रता जस्ता मूल्यमान्यतामा आधारित नीतिहरू लागू गर्न प्रेरित गरेको छ । यस संदर्भमा, बुध्दका शिक्षाहरूमध्उका पञ्चशील अझै पनि एक गहिरो नैतिक मार्गनिर्देशनको स्रोतको रूपमा महत्त्वपूर्ण छ । पञ्चशीलमा रहेका पाँच प्रमुख शीलहरू – अहिंसा, सत्य बोल्ने, चोरी नगर्ने, स्त्रीको इज्जत गर्ने, र मद्यपान नगर्ने – यी सबै नैतिक मूल्यमान्यताहरू जीवनको सम्मान र करुणामा आधारित छन् । यी सिध्दान्तहरूले केवल व्यक्तिगत नैतिकता मात्र नभई सामाजिक र सांस्कृतिक सहिष्णुता र सम्मानको सन्देश पनि प्रवाहित गर्छन् ।
अहिंसा र करुणाको सिध्दान्तले संसारभरिका मानव अधिकार सिध्दान्तहरूसँग गहिरो समानता राख्छ । यसका अनुसार, प्रत्येक व्यक्तिको अधिकार र सम्मानको रक्षा गर्नु पर्छ, जसमा शारीरिक र मानसिक शोषणको कुनै ठाउँ हुनु हुँदैन । यद्यपि आजको संसारमा राज्य र गैर–राज्य पक्षहरूले प्रायः यी नैतिक मूल्यहरूको उल्लंघन गरिरहेका छन् । राजनीतिक दमन, युध्द, विभाजन, र असमानता जस्ता समस्याहरूले मानिसहरूको जीवनमा गम्भीर अधिकार हनन निम्त्याएका छन् ।
राज्यहरूले कहिलेकाहीं नागरिक अधिकारहरूको हनन गर्ने, अत्याचार र दमनको नीति अपनाउने, वा न्यायमा ध्यान नदिने काम गरेका छन् । त्यसैगरी गैर–राज्य पक्षहरूले पनि असामाजिक गतिविधिहरू, हिंसा र शोषण गर्न जारी राखेका छन्, जसले गर्दा बृहत मानव अधिकार हननको स्थिति सिर्जना भएको छ ।
यस परिप्रेक्ष्यमा, पञ्चशील जस्ता सार्वभौमिक नैतिक सिद्धान्तहरूको रक्षा अझ महत्वपूर्ण भएको छ । यी सिद्धान्तहरूले हामीलाई मानवता र अधिकारको वास्तविक भावना सम्झाउँछन् र असमानता, अत्याचार र दमनको विरुध्दमा उभिन प्रेरित गर्छन् । यसका माध्यमबाट, हामी आफूलाई एकजुट गर्न र एउटा न्यायपूर्ण समाजको निर्माण गर्न सक्षम हुन्छौं ।
पहिलो शीलले कुनै पनि जीव हत्या नगर्ने उपदेश दिएको छ । यसले जीवनको अधिकारलाई सुनिश्चित गर्छ । यो मानव अधिकारको आधारभूत तत्व हो । तर गैर–न्यायिक हत्याहरू र राज्य प्रायोजित हिंसा व्यापक रूपमा देखिन्छन् । नेपाल, सिरिया, म्यानमार, यमन लगायत द्वन्द्वहरूमा मानव जीवनको पवित्रता उल्लंघन भएका दुःखलाग्दा कैयन घटनाहरू देखिए । हालैका मध्यपूर्बका युध्दमा भएका नरसंहारमा मानवतामाथी गंभिर प्रहार भएका छन् । यी घटनाहरूले विश्वव्यापी रूपमा करुणा र जीवनको सम्मानलाई पुनःस्थापित गर्नुपर्ने आवश्यकता देखाउँछन् ।
दोस्रो शीलमा चोरी नगर्नु भनिएको छ । चोरी नगर्नु भन्ने दोस्रो शील नैतिक शिक्षामा आधारित छ, जसले सम्पत्तिको अधिकारलाई सुरक्षित गर्छ । संयुक्त राष्ट्रसंघीय मानव अधिकार घोषणापत्र (ग्म्ज्च्) जस्ता कानुनी दस्तावेजहरूले पनि यसलाई पुष्टि गरेका छन् । तर, जबरजस्ती विस्थापन, भूमिअधिकार हनन, र राज्य संयन्त्रभित्रको भ्रष्टाचार व्यापक रूपमा फैलिएको छ । नेपालमा आदिवासी समुदायहरू सरकारी भ्रष्ट्राचारको कारण आफ्नो जमिन गुमाइरहेका छन् । बहुराष्ट्रिय कम्पनीहरूले पनि स्थानीय स्रोतहरू शोषण गरी कानुनी प्रक्रिया वेवास्ता गर्ने गरेका छन् । यी समस्याहरूले नैतिक आचरण, पारदर्शिता, र सम्पत्ति अधिकारको सम्मान अत्यावश्यक रहेको देखाउँछन् ।
तेस्रो शीलले यौन स्वायत्तता र मर्यादाको रक्षा गर्ने शिक्षा दिन्छ । तर हिंसात्मक द्वन्द्व क्षेत्रहरूमा यौन हिंसा व्यापक छ, जसलाई युध्दको हतियारका रूपमा प्रयोग गरिन्छ । राज्य संयन्त्र र शैक्षिक संस्थाहरूमा शक्ति, पद वा अवसर प्राप्त गर्न यौन शोषणका घटनाहरू भइरहेका छन् । यी अवस्थाहरूले व्यक्तिगत मर्यादामा आँच पु¥याउँछन् र शोषणलाई निरन्तरता दिन्छन् । पञ्चशीलले सबै सम्बन्धहरूमा नैतिकता अपनाउन प्रेरित गर्छ, शोषण रोक्न, व्यक्तिगत मर्यादा कायम राख्न, र सुरक्षित वातावरण निर्माण गर्न आग्रह गर्छ ।
चौथो शीलले झूठ नबोल्नु भनेको छ । सत्यता र पारदर्शिता विश्वास निर्माणका लागि आवश्यक छन् । नेपालमा नेताहरूको झूटा आश्वासन तथा द्वन्द्वपछिको दुव्र्यवहारलाई गोप्य राख्ने प्रवृत्तिले मेलमिलाप प्रक्रियामा बाधा पु¥याएको छ । शक्तिमा रहेका व्यक्तिहरूले झूठा प्रतिज्ञा गरी जनताको विश्वास गुमाएका छन् । विश्वव्यापी रूपमा गलत सूचना र छलपूर्ण अभ्यासहरूले समाजलाई अस्थिर बनाउँदै लोकतान्त्रिक संस्थाहरूमा विश्वासलाई कमजोर बनाइरहेका छन् । पञ्चशीलको सत्यताको शिक्षा मानव अधिकार, न्याय, र सुशासन पुनःस्थापना गर्न अत्यावश्यक छ ।
पाँचौं शीलले सुरा तथा नशाजन्य पदार्थहरूको सेवन नगर्न सल्लाह दिन्छ, जसले व्यक्तिगत सुरक्षा र मानसिक स्पष्टता सुनिश्चित गर्छ । तर, राज्यले राजस्व संकलनका लागि मदिरा व्यवसाय प्रवद्र्धन गर्नु, अवैध लागू औषध व्यापारमा संलग्न गिरोहहरूको प्रभाव बढ्नु, र यसका कारण सामाजिक अस्थिरता, हिंसा, तथा अपराधमा वृद्धि हुनु गम्भीर चुनौतीहरू हुन् । लागू औषधविरुद्धको युद्धले ठूलो संख्यामा कैद, राज्यद्वारा हिंसात्मक हस्तक्षेप हुनुका साथै कमजोर वर्गहरूको अपराधीकरणलाई बढावा दिएको छ । पञ्चशीलले सचेतना र व्यक्तिगत जिम्मेवारीलाई प्राथमिकता दिन्छ, जसले समाजलाई स्वस्थ, नैतिक, र सुरक्षित बनाउन मद्दत गर्छ ।
पञ्चशील र मानव अधिकारः एक नैतिक मार्गदर्शन
पञ्चशील बुध्दका नैतिक शिक्षामा आधारित छ र आधुनिक मानव अधिकार संरचनासँग गहिरो रूपमा मेल खान्छ । दुबै सिध्दान्तहरूले व्यक्तिको सम्मान, अहिंसा, करुणा, र सार्वभौमिक नैतिक मूल्यहरूलाई प्राथमिकता दिन्छन् । यस अर्थमा पञ्चशीलले मानव अधिकारको नैतिक परिपूरकको रूपमा काम गर्न सक्छ, जसले व्यक्तिगत जीवनलाई मार्गनिर्देशन दिने मात्र होइन, समाजको परिवर्तनका लागि एक प्रभावकारी आधारसमेत प्रदान गर्छ । जातीय हिंसा देखि सशस्त्र युद्धसम्मका विश्वव्यापी द्वन्द्वहरूले समाजलाई तहसनहस पार्दै गर्दा मानव अधिकार आदर्श र शासन प्रणालीको कठोर यथार्थबीचको खाडल बढ्दै गएको छ । राज्य र गैर–राज्य पक्षहरूले आधारभूत स्वतन्त्रता हनन गर्नेदेखि राजनीतिक असहमतिको क्रूरतापूर्वक दमनसम्म गरिरहेका छन् । यस्तो अवस्थामा पञ्चशीलको नैतिक आचरण, अहिंसा, र मानव मर्यादाप्रतिको सम्मानको आह्वान अत्यन्तै आवश्यक छ ।
पञ्चशील आजका चुनौतीहरूको समाधानका लागि एउटा बलियो नैतिक आधार प्रदान गर्छन् । अहिंसा, जीवनको सम्मान, र नैतिक आचरणमा केन्द्रित यी शिक्षाहरू व्यक्तिगत मार्गनिर्देशन मात्र भएर सामाजिक रूपान्तरणको मार्गसमेत हुन् । यदि आधुनिक मानव अधिकार सिद्धान्तहरूसँग यी शिक्षाहरूलाई समाहित गरियो भने, सम्मान, करुणा, र न्याय विश्वव्यापी रूपमा प्रवध्र्दन गर्न सकिन्छ ।
जसरी संसारमा तनाव, असमानता, र मानव अधिकार उल्लंघनहरू बढ्दै गएका छन्, पञ्चशीलका सार्वभौमिक मूल्यहरूले विभाजन हटाउन र शान्ति तथा समझदारीको संस्कृति विकास गर्न मद्दत गर्न सक्छन् । संयुक्त राष्ट्रसंघले, मानव अधिकारको रक्षा गर्ने प्रमुख विश्व निकायका रूपमा यी सिद्धान्तहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न अग्रसर हुनु आवश्यक छ । पञ्चशीलका नैतिक मार्गनिर्देशनहरूलाई सामूहिक रूपमा लागू गराएर, संयुक्त राष्ट्रसंघले मानव अधिकारलाई केवल कानुनी रूपमा मात्र होइन, प्रत्येक क्रियाकलाप र निर्णयमा गहिरो रूपमा स्थापित गराउन सक्छ । यसले सम्पूर्ण मानवजातिका लागि अधिक मेलमिलापपूर्ण र न्यायसंगत भविष्यको मार्ग प्रशस्त गर्नेछ ।०००