खासमा म सोफिया रेसिडेन्सियल स्कुलको विद्यार्थी हुँ । लेख्न सिक्दैछु । हिजो हामी मेरो विद्यालयबाट धान रोपाई कार्यक्रममा गएका थियौं । जुनकि हाम्रो विद्यालयले हरेक वर्ष लैजान्छ । तर, हामीले योपाली रोपाई गर्न जाँदा धेरै समय बिताएनौँ । र, यो दिनको कुराले मलाई किसानहरूको मेहनत हेरेर मलाई एउटा विचार आयो । त्यो विचार लेख्न मन लागेकोले कोशिश गरेको हुँ ।
हामीले खाना खाँदा त आरामले खान्छौ र खाना खान मन नलागे अझै खाना फेक्छौ पनि । तर, यो खाना जति सजिलोगरि तयार भएको होला लाग्छ, खेतमा पुगेपछि बुझ्न सकिन्छ की कति कठिन गरि खानाका स्रोत तयार हुन्छन् ।
भतका लागि एक एक चामलमा किसानहरूको मेहनत कति हुन्छ भन्ने बुझ्न खेतबारीमै जानुपर्छ । मेरा सहपाठी साथीसँग हामीलाई थाहा नभएको किसानको मेहनत बारे चर्चा गर्न खोजेको छु । साथी, मलाई त आजदेखि किसानको मेहनत देखेर चामलले एकएक दाना पनि सम्मानका साथ उपयोग गर्नुपर्ने लागेको छ । चामल बन्ने प्रोसेस पनि खेतमा पुगेर मेरै विद्यालयले मलाई पढाएको कुरा तपाईं समक्ष प्रस्तुत गर्न चाहेको छु ।
यसको सुरुवात माटोमा हुन्छ, किसानका पाखुराबाट हुन्छ । किसानले सुरुमा राम्रो धानको बीउ छान्छन् । त्यो बीउ सानो खेतमा अर्थात् हिलोमाटो बनाएर तयार भएको ब्याडमा छर्छन् । त्यो बीउ केही दिनमा सानो बिरुवा बन्छ, रोप्न योग्य हुन्छ ।
त्यो बिरुवा तयार भएपछि रोप्नका लागि किसानले अर्को ठूलो खेत तयार पार्छन् । त्यसका लागि खेतमा पानी हाल्छन्, माटो जोत्छन्, अनि हिलाम्मे बनाउँछन् । त्यसपछि बिरुवा ल्याएर त्यहीँ खेतमा रोप्छन् । यसलाई रोपाइँ भनिन्छ । रोपाइँ गर्दा किसानहरू हिलाम्मे माटो–पानीमा उभिएर लामो समय काम गर्छन् । त्यही हेर्न हामी विद्यार्थीहरु सामुहिक रुपमा पुगेका थियौं । केही बेर रमाइलो पनि गरियो, हिलोमाटोमा रोपाईको अभ्यास पनि गरियो ।
अहिले रोपेको धानको बीउ अथवा भनौं विरुवा क्रमशः किसानको स्याहारसुसार माउँदै ठूलो हुँदै जान्छ । त्यसक्रममा किसानले खेतमा नियमित पानी हाल्छन्, मल हाल्छन्, झार फाल्छन्, र कीराले नखाओस् भनेर रेखदेख अनि औषधीउपचार गर्छन् । क्रमशः धान गाँजिंदै जान्छ, दाना लाग्न थाल्छ । केही महिनापछि धान पाक्छ ।
पछिल्लो काम हो धान काट्ने । किसानले हँसिया वा मेसिनले धान काट्छन् । काटेको धान घाममा सुकाउँछन् । त्यसपछि धानको दाना र पराल छुट्याउँछन्, जसलाई दाईं भनिन्छ । दाईंपछि किसानले धान घर भित्र्याउँछन् ।
आवश्यकता अनुसार अब त्यो धान मिलमा लगिन्छ । मिलमा धानको बाहिरी बोक्रा (भुस) निकालिन्छ । त्यसपछि सेतो चामल निस्कन्छ । त्यो चामल किसानले आवश्यकता अनुसार उपयोग गर्ने र व्यापारका लागि बेचिदिने गर्छन् । उनीहरुले बेचेको धान वा चामलबाट हामीले किनेर भोक मेटाउने मौका मिल्छ ।
खेतसम्म पुगेर मैले देखेको काम, परिश्रम र अवस्थाका आधारमा भन्छु, किसानले आफ्नो श्रमको बलबाट निकै मेहनत गरेर तयार गरेको धान, गहुँ, मकै लगायतका कुनैपनि अन्नबालीलाई त्यसको खास मूल्य (रियल भ्यालु) को भुक्तानी सम्भव होला जस्तो लाग्दैन । अन्न उब्जाउँदाको परिश्रम र बजारबाट हामीले किनेर ल्याउने मुल्यबीचको दूरी निकै छ जस्तो लाग्यो । त्यसैले पनि खानाको सम्मानसँगै किसानको उच्च सम्मान आवश्यक छ । (सम्यक सोफिया स्कूल कक्षा नौ अध्ययनरत विद्यार्थी हुन् )