उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले एक बर्ष नाघेका मुद्दा शुन्यमा झार्न सफल भएको छ । अदालतले चालु आर्थिक बर्षमा अघिल्लो आ.व.बाट सरेर आएका सबै मुद्दा फस्र्यौट गरेको हो ।
‘मुद्दा फस्र्यौैटका लागि लक्ष्य, योजना र रणनीति बनाएकाले उच्चतम सफलता हासिल गर्न सकेका छौं’, बिहीबार उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले आयोजना गरेको पत्रकार सम्मेलनमा अदालतका प्रमुख, न्यायाधीश चन्द्र बहादुर सारुले जानकारी दिए । उनले अदालत मातहत रहेको बर्दिया जिल्ला अदालतमा पनि डेढ बर्ष नाघेका मुद्दा नरहेको र बाँके जिल्ला अदालतले पनि क्रमिक सुधार हुँदै गएको जानकारी दिएका थिए । बाँके जिल्ला अदालतमा जनशक्ति कम हुँदा ५३ वटा मुद्दा दुई बर्ष नाघेका रहेको न्यायाधीश सारुले उल्लेख गरेका थिए ।
उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा आर्थिक बर्ष २०८०÷०८१ मा जिम्मेवारी सरेर आएका ७ सय ७४ र नयाँ दर्ता १ हजार ८ सय ७२ गरी २ हजार ६ सय ४६ मुद्दा दर्ता भएका थिए । पत्रकार सम्मेलनमा उच्च अदालतको प्रगति विवरण प्रस्तुत गर्दै अदालतका शाखा अधिकृत प्रकाश विकले उच्च अदालतमा दर्ता भएका र जिम्मेवारी सरेर आएका मध्ये गत आर्थिक बर्षको अन्त्यसम्म २ हजार ४ मुद्दा फस्र्यौट भएको जानकारी दिए । उनले अघिल्लो आ.व. २०८०÷८१ को जिम्मेवारी सरेर आएका सबै र गत आ.व. २०८१÷०८२ मा दर्ता भएका मध्ये १ हजार २ सय ३० मुद्दा फस्र्यौट गर्न सफल भएको बताए । ‘उच्च अदालतले गत आ.व. २०८१÷०८२ मा ७५.७४ प्रतिशत मुद्दाको फस्र्यौट गरेको छ’, उनले भने ।
उच्च अदालतले लक्ष्य भन्दा बढी मुद्दाको फस्र्यौट गर्न सफल भएको छ । कुल १ हजार ६ सय ३७ मुद्दाको फस्र्यौट लक्ष्य रहेकोमा त्यसभन्दा बढी २ हजार ४ मुद्दा फस्र्यौट गर्न अदालत सफल भएको हो । ‘योजनाको लक्ष्यको तुलनामा १२२.४२ प्रतिशत मुद्दा फस्र्यौट गरेका छौं’, अदालतका अधिकृत विकले भने ।
आर्थिक बर्ष २०८१÷०८२ को अन्त्य सम्म उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा ६ सय ४२ मुद्दा फस्र्यौट बाँकी रहेका छन् । ‘जसमध्ये ६ महिना भित्रको ४ सय ६५ र एक बर्ष भित्रको १ सय ७७ मुद्दा रहेका छन्’, उच्च अदालतका प्रमुख, न्यायाधीश सारुले भने । उच्च अदालल प्रमुख सारुले न्यायिक प्रक्रियामा सबैको साथ र सहयोगले न्याय प्रक्रिया छिटो, छरितो रूपमा सम्पन्न गर्न सकेको बताएका छन् । ‘दरबन्दी अनुसार ६ जना न्यायाधीश हुनुपर्नेमा ५ जना कार्यरत हुनुहुन्छ, अदालतमा नियमित दुई संयुक्त र एक एकल इजलास चल्दै आएको छ, कुनै आकस्मिक रूपमा न्यायाधिशको व्यस्तता बाहेक’, उनले भने, ‘मुद्दाका आवश्यक कागजात समयमै पाएका छौं, सरोकारवाला निकायले न्याय सम्पादनमा सहयोग गर्नु भएको छ, दुई पटक बाहेक पेशी नहटाउनका लागि बारले सहयोग गर्नु भएको छ ।’
उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलास प्रमुख, न्यायाधीश सारुले अदालतमा दर्ता भएका मुद्दालाई तीन किसिमले वर्गीकृत गरेर फस्र्यौटको प्राथमिकता निर्धारण गरिरहेको जानकारी दिएका छन् । ‘सरल मुद्दा ६ महिना भित्र, सामान्य एक बर्षभित्र र विशेष मुद्दा डेढ बर्ष भित्र फस्र्यौट गर्नु रणनीतिक योजना छ’, उनले भने, ‘पुराना तथा डेढ बर्ष भित्र फैसला गर्नुपर्ने मुद्दालाई छुट्टै हेर्ने व्यवस्था समेत मिलाइएको छ ।’ उच्च अदालत प्रमुख सारुले अदालतमा प्रविधिको प्रयोग पनि भैरहेको जानकारी दिए । उनले मुद्दा दर्ता हुने बित्तिकै त्यसका प्रक्रिया मिति सहित सहजै थाहा पाउने गरी तालिका उपलब्ध गराइने गरेको बताए । ‘प्रक्रियागत ढिलाईमा कारण सहित मुद्दाका पक्ष, विपक्षले नयाँ तालिका बारे जानकारी पाउने व्यवस्था मिलाएका छौं’, उनले भने ।
पत्रकार सम्मेलनमा न्यायाधीश सुभाष पौडेल, पुनम सिंह चन्द, गोविन्द जोशी, बसन्तराज पौडेल, बाँके जिल्ला अदालतका न्यायाधीश भीष्मराज प्रसाई, बर्दिया अदालतका न्यायाधीश मनोज श्रेष्ठ, बाँके अदालतका न्यायाधीश चन्द्रप्रकाश तिवारी लगायतको उपस्थिति रहेको थियो ।