बितेको तीस बर्षमा सबैभन्दा बढि पानी पर्ने मौसमविदहरूको घोषणा यो आलेख तयार पार्दाका बखतसम्म नेपालका नेताले जनतालाई दिने गरेको ललिपप जस्तै भएको छ । नेपालको अन्नको भण्डार मानिने तराई पानीको थोपा थोपाको लागि त्राहित्राहि बनेको छ । जुन देशको कुल ग्राहस्थ उत्पादनमा सबैभन्दा ठूलो योगदान कृषिको छ त्यहि देशले न किसानको मर्का बुझेको छ न कृषिका लागि अत्यावश्यक श्रोत जलश्रोतको जर्गेना गर्ने दिगो योजना ल्याएको छ । कृषिभूमिको संरक्षण गर्न पनि कृषि प्रधान भनिने देशको सरकारको पुरै उदासिनता छ । कसरी कृषियोग्य जमीन नै मास्ने भन्ने योजना बनाउनमा स्थानीय देखि केन्द्रसम्मका सरकार लागेका छन् । आधुनिकताको नाममा पशुबल र पशुबलको प्रयोगबाट बिछिन्न बनाइएको नेपालको कृषिक्षेत्र रसायनिक मलको लागि हारगुहार गरिरहेको छ । एकातिर कृषिकर्म गर्ने जनशक्ति पलायन भएको छ अर्कोतिर बचेखुचेका किसान पनि खेतीपाती गर्नेबेला बीउको जोहो गर्न सीमापारिका बजारतिर र मल पाउने आशमा बिभिन्न सहकारीहरूमा घण्टौं लाइन बसेर आफ्नो समय बर्बाद गर्न बाध्य छ ।
राज्य सञ्चालकहरूको नजरमा राज्य यसै समृद्ध छ उसै समृद्ध छ । उनीहरूका झण्डावाल गाडी रोकिएका छैनन् । तारे होटलहरूका भोजभतेर छेकिएका छैनन् । विदेशतिरका सैरसपाटा मनलाग्दाका बखत भएका छन् । संविधान बनाउन एक दशक लगाए । ऐन कानून बनाउने थलोमा हाइ काढेर रमिता देखाएर भत्ता पनि पचेकै छ । संसदमा हाटा गरेर आइएनजिओका भतेतिर गएर दोहोरो भत्ता पनि पाकेकै छ । त्रिशुली गण्डकीमा जतिसुकै स्वच्छ हिमपानी बगोस्, काठमाण्डौ जतिसुकै काकाकुल बनोस् तर मिनरल वाटर भनेर विदेशतिरका महङ्गा पानीका बोतलहरू नेताज्यूका अफिस र घरका भान्सामा सजिएकै छ । अनि नेपाल समृद्ध छैन कसरी भन्न मिल्छ । नबुझेका त जनताले हो । नेपाल पनि समृद्ध छ अनि जनता (नेता पनि त यो देशको जनता त हो नि ) पनि सुखी नै छन् ।
यो बर्षको शुरुआतमा नेपालका समाचारहरू अतिबर्षाको खबर लेखेर भरिए । बर्षा लाग्यो कि किसानले मल नपाएको, लौ मल कारखाना भर्खरै खोल्नुपर्यो भनेर रङ्गिए । त्यसपछि पानी नपरेर खेतमा किसान पुन्पुरो समाएर पल्टेका फोटाहरू र सुख्खा लाएर बन्जर बनका खेतका फोटा र खबरहरूले भरिए । पछिल्लो दिनमा समृद्ध नेपाल र सुखी नेपालीका नेता ज्यूको हेलिटुरबाट नजर बख्स भएका फोटाहरू र पाँचसय ट्यूबवेल गाडीहाल्ने घोषणाका खबर त्यसका बिश्लेषण, त्यो घोषणाको प्रशंसाका पुराणहरू लेख्ने विद्धानहरूका आलेकहरूले नेपाली सञ्चार माध्यम कृषिमा यसैतेसै सम्पन्न र आनन्दमय बनेका छन् ।
नेपाल जलश्रोतको धनी देश थियो तर अब रहेन । यदि धनी हुँदो हो त यो देशका शहरियाहरूले पानी पिउनको लागि काकाकुल बनेर बस्नु पर्दैनथ्यो । किसानहरूले पानीका लागि भ्यागुताको बिहे गराउन पर्दैनथ्यो । हेलीटुरबाट डीपबोरिङका घोषणा पनि सुन्न पर्दैनथ्यो । पहाडतिरका पानीका मुलहरू सुकेर बेंसी र डाँडापाखाका खेतहरू बनमाराका झार पलाउने बनाउनु पर्दैनथ्यो ।
हामीले इतिहासलाई मात्रै हेरेर जलश्रोतको धनी भन्यौं । तर त्यो धन कसरी बचेको थियो ? त्यसको जगेर्ना गर्ने कुनै योजना र कार्यनीति नै बनाएनौं । हाम्रा भञ्ज्याङ चौतारी वर पिपल पोखरीहरू मासेर आधुनिकताको परिचय दियौं । विकासको नाउँमा पहाडका टाकुराहरूसम्म भित्तो कोपरेर बाटो बनाउने र रिर्सोट भ्यूटावरहरू बनाएर जलश्रोतका मुहान नै सुकायौं । बेंसीहरूमा बाटो र शहर अनि स्मार्टसिटीका योजना बनाएर खेतको माटो नै सक्यौं । तराईका बिभिन्न ठाउँमा रहेका पानी पुर्नभरण लगायत सिँचाइका पोखरीहरूलाई कब्जा गरेर नीजि सम्पत्ति बनाउने र प्लटिङ गर्ने काम गर्यौं । अनि पानीको श्रोत सुक्दा शहरका तारे होटलहरूमा बसेर आइएनजिओका भोजभतेर खाएर सबै दोषजति लगेर जलवायु परिवर्तनलाई दिएर देश र जनताप्रतिको अनि प्रकृति प्रतिको मानवजिम्मेवारीबाट सरक्कै उम्किरहेका छौं ।
नेपालको भूगोलले भन्छ यहाँ झण्डै हरेक दुई दुई किलोमीटरमा खोलाखोल्सा र नालाहरू छन् । त्यसमा पहिला पानी बग्थ्यो । ठाउँ ठाउँका पोखरीहरूले पानीको पुर्नभरणको काम गर्थे र बर्षातका महिनामा बेलैमा पानीका मुल फुट्थे । तराईमा रहेका बिभिन्न पोखरी तालतलैयाहरूले तराईका बिभिन्न ठाउँमा सिँचाइ हुन्थ्यो ।
आज सिँचाइका नाउँमा नहरहरू बनाउ
ने योजनाहरू सुनिन्छ तर तीन तीन दशकसम्म पनि त्यहाँ पानी बग्दैन । बनेका नहरहरू पनि भ्रष्टाचारको कोपभाजन नै भएका छन् । शाखा नहरहरू बन्न सकेका छैनन् । गिट्टी ढुङ्गा बेचेर महासेठ बन्नेहरूका बद्नियतका कारण चुरे सकियो, खोलाखोल्सा सुके । मुल सुके । पानीको पुर्नभरण हुने श्रोत सुक्यो । महाभारत पर्वतका खोलाहरूमा बनेका नहरहरूको पानी खेतसम्म नपुग्दै खोला नै सुक्ने अवस्था भएमा पनि अन्यथा हुनेछैन । किन कि हामी विकासको समृद्धिकालमा छौं ।
आज पैसा हुनेले मात्रै होइन राज्यले नै डीपबोरिङका कुरा गर्छ । जताततै भविष्यको खतराको आँकलन बीना, धर्तीमा पानीको सतहको पुर्नभरणको योजना बीना डिपबोरिङ गर्ने छूट दिएर यो देशलाई पूर्ण मरुभूमि बनाउने योजनामा सबै लागेका देखिन्छन् ।
काठमाण्डौंको पेप्सीकोलातिर बर्षौ पहिला देखि नै जमीनमा पानीको सतह छैन भन्ने सुनेको कारण पेप्सी कम्पनीको डिपबोरिङहरू रहेछ । हाम्रोतिर पनि कुनै अति पानी खपत हुने कुनै कारखाना वा डिपबोर खानेपानीका योजना भएका आसपासमा त्यति सजिलोगरि जमीनबबाट पानी निकाल्न सकिन्न । यसको असरको बारेमा कहिँ कतै चर्चा छैन अनि राज्यलाई पनि मतलब नै छैन । राज्यसँग देशमा कतिघरमा, कति खेत फैक्ट्रीमा कतिवटा डिपबोरिङ छन् कुनै रेकर्ड छैन । डिपबोरको दिगोपन, त्यसले पार्ने असर, पानीको पुर्नभरण, त्यसलाई कहाँ कति र कसले गाड्ने, यसको रेकर्ड कहाँ कसरी राख्ने भन्ने योजना छैन ।
भान्सामा चामल सकिएपछि बजार दौडिने परम्परा हाम्रो होइन । हाम्रो त कम्तिमा बर्षभरिको लागि पहिल्यै जोहो गर्ने परम्परा हो । अनिकालमा पनि बीउ जोगाउने परम्परा हो । कुँडेमा दुध नटुटोस् भनेर भकरामा आलोपालो ब्याउने गाईभैसी पालेर व्यवस्था गर्ने परम्परा हो । पानीका मुहान जोगाउन त्यहाँ रुखरोपेर, मुहान सफागरेर, कुआ जोगाएर राख्ने परम्परा हो । खेतमा खेती र पाखामा घर बनाउने परम्परा हो । हरेक डाँडाका भञ्ज्याङहरूमा पोखरी बनाउने, त्यहाँ चौतारी बनाउने, वरपीपल लगाउने परम्परा हो । तराईमा एक गाउँ कम्तिमा एक पोखरी हाम्रो परम्परा हो । जमीन रुखो बनाउने वनस्पति न लगाउने आफै उम्रिहाले हुर्किन नदिने हाम्रो परम्परा हो । गाईवस्तुभाउ पाल्ने र त्यसको सहायक उत्पादनलाई कृषि जमीनमा प्रयोग गर्ने चक्रिय प्रणाली हाम्रो परम्परा हो । पानीको मुख्य श्रोत रहेको हिमाललाई स्वर्गको उपमा दिएर त्यसलाई मानव पाइलाबिहीन राख्ने हाम्रो परम्परा हो । मानवीय पहुँचभन्दा परपनि धर्तीलाई राख्नुपर्छ जहाँको जल पवित्र हुन्छ र मानव जीवन मोक्षमा जानसक्छ भन्ने हाम्रो परम्परा हो । जमीनलाई सधैं उर्वरा राख्न सहयोग गर्ने जलश्रोतलाई कायमराख्ने सबैथोकलाई ईश्वरीय रूप मानेर पूज्ने जोगाउने र त्यसप्रति कृतज्ञ हुने हाम्रो परम्परा हो । यो कुनै आडम्बर थिएन । यो कुनै धर्मको खोल थिएन । तर आधुनिकताको नाउँमा आफ्नै परम्परालाई गाली गर्ने र जसरी पनि मास्नै पर्ने, हिमालहरू सबैतिर मानवले बुकुर्सी मार्नै पर्ने जस्ता आजका सोंचले हाम्रो जमीन अपवित्र बन्यो, बञ्जर बन्न गयो । जलश्रोत सुक्न गयो ।
हामी मौलिकताबाट बिछिन्न भयौं । परम्पराबाट बिछिन्न भयौं । आधुनिकता र आजको विज्ञानको बुद्धि र प्रगतिलाई अँगाल्दै गर्दा आफ्नो मौलिक विकासलाई त्याग्यौं । मौलिकताको असल अभ्यासको आधारमा मात्रै आधुकितालाई अँगालेर स्थितिगत्यात्मकता बनाएनौं । यहिँनिर हाम्रो गल्ती भएकै हो । सबै मौलिक र परम्परागत कुराहरू त्याज्य हुँदैनन् र सबै आधुनिक कुराहरू पनि ग्राह्य हुनै सक्दैनन् । देशको सँस्कृति प्रकृति र भूगोलको आधार बीना अँगालिने आधुनिकताले निम्त्याउने यस्तै विनास नै हो । यस्तै खतरा हो । यो अझै बढ्दै जानेछ यदि हामी आफ्नो मौलिकतातिर फर्केर सोंचेनौं भने । पाँचसय हजार डिपबोरिङ मात्रै आजको समस्यको समाधान त हुँदै होइन । हाम्रो परम्परगत जलश्रोत बचाउने मौलिक पद्धतिमा पनि जाने पुन साहस र आँट गर्नैपर्छ । यसो गर्दा मात्रै कुनै डिपबोरिङको पनि अर्थ हुनेछ ।