इन्सेकले सन् २०२५ को ६ महिनामा लुम्बिनी प्रदेशमा गरेको मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाका अभिलेख अनुसार अन्यपक्षबाट महिला तथा बाल अधिकार हनन्सँग सम्बन्धित घटना बढी भएको पाइएको जानकारी दिएको छ । इन्सेक, लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महतका अनुसार, सन् २०२५ को जनवरीदेखि जुनसम्मको अवधिमा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा राज्यपक्षबाट ५ जना पुरुष पीडित भए भने गैरराज्यबाट १ हजार २ सय ४२ जना पीडित भए । यस अवधिमा १ सय ३ जना बालिकामाथि बलात्कार र दुई जना नाबालकाको हत्या भएको अभिलेख भयो ।
लुम्बिनीमा महिलामाथि हुने घरेलु हिंसाका घटनामा ९ सय ५३ जना महिला पीडित भएको इन्सेकले अभिलेख गर्यो । प्रहरीमा दर्ता भएका घरेलु हिंसाका घटना अझ बढी हुनसक्ने इन्सेकले औंल्याएको छ । यो अवधिमा ४८ जना महिलामाथि बलात्कार भएको इन्सेकले अभिलेख गर्यो ।
इन्सेक संयोजक महतले लुम्बिनी प्रदेशमा रहेका कारागारमा क्षमता भन्दा बढी कैदी बन्दीहरू रहेका कारण उनीहरूको दैनन्दिन कष्टकर रहेको बताए । बालसुधार गृहहरूको अवस्था पनि दयनीय रहेको अनुगमनका क्रममा पाइएको उनले बताए । ‘द्वन्द्व पीडित र संक्रमणकालीन आयोगहरूबीचको संवादहीनताले सङ्क्रमणकालीन न्याय अझ दुरुह हुँदै गएको छ । न्याय तथा परिपूरणको अधिकारको सम्मानका लागि सबै सरोकारवालाको ध्यान जानु जरुरी छ’, उनले भने ।