नेपालगन्जको धम्बोझी चोकदेखि नन्दनी मिलसम्मको सडक चार लेनमा स्तरोन्नति काम शुरु भएको छ । नेपालगन्ज–गुलरिया सडक खण्डअन्तर्गत पर्ने एक हजार ९२० मिटर सडक ३९ करोड ८४ लाख रुपैयाँभन्दा बढी लागतमा विस्तार कार्य शुरु भएको हो ।
हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगन्जले निर्माण व्यवसायी बतास कन्स्ट्रक्सन प्रालिसँग २०८३ कात्तिक २० गते सडक स्तरोन्नतिको सम्झौता गरेको हो । निर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको योजना कार्यालयका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए ।
सम्झौताअनुसार, २०८४ कात्तिक १९ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्नेछ । तर स्थानीयवासीको सहयोग र निर्माण व्यवसायीको प्रतिबद्धताका कारण यसै आर्थिक वर्षभित्रै काम सक्ने लक्ष्य राखिएको भण्डारीले बताए । ‘सबै अनुकूलता रह्यो भने आउँदो असार मसान्तसम्ममा काम सक्छौं,’ योजना प्रमुख भण्डारीले दैनिक नेपालगन्जसँग भने ।
सडकको बीच भागमा डिभाइडर र दुवैतर्फ फुटपाथ निर्माण गरिनेछ । सडकको राइट अफ वेभित्र पर्ने करिब १६१ वटा घर तथा संरचना हटाइसकिएको छ । अब एउटा मन्दिर र एक–दुईवटा घर हटाउन बाँकी रहेकाले स्थानीय तहको समन्वयमा व्यवस्थापन गरिने जनाइएको छ । बाटोको शुरुमै रहेको नेपाल राष्ट्र बैंकले पनि पर्खाल हटाउन आवश्यक प्रक्रिया शुरु गरिसकेको बताइएको छ । ‘टेन्डर आव्हान भइसकेकाले यो बाधक हुँदैन,’ राष्ट्र बैंक स्रोतले भन्यो ।
उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सडक निर्माणका लागि आवश्यक क्षेत्र खाली भएकाले समयमै सडक बन्ने विश्वस व्यक्त गरे । स्थानीयवासीले स्वस्फूर्त रूपमा जग्गा, घर तथा बाउन्ड्री हटाउन सहयोग गरेकाले निर्माण कार्य अघि बढाउन सहज भएको उनको भनाइ छ । ‘कुनै समस्या नभएकाले सडक समयमै पुरा हुन्छ,’ नगर प्रमुख विष्टले दैनिक नेपालगन्जसँग भने ।
सडक स्तरोन्नतिका लागि ३९ करोड ८४ लाख एक हजार २१९ रुपैयाँ ८८ पैसा सम्झौता रकम कायम गरिएको छ । उक्त रकममा मूल्य अभिवृद्धि कर (भ्याट) र प्रोभिजनल समेत समावेश छन् ।
‘सडक स्तरोन्नति सम्पन्न भएपछि नेपालगन्जको सहरी आवागमन सहज हुनुका साथै व्यापारिक तथा आर्थिक गतिविधिमा समेत थप सहयोग पुग्ने अपेक्षा गरिएको छ,’ नगर प्रमुख विष्टले भने ।




























