नेपालको इतिहास केवल राजा महाराजा, शासक शासनसत्ता र युद्धमा विजयका घटनाहरूको दस्तावेज मात्र होइन । यो यहाँका जनताको श्रम, संघर्ष, सामाजिक चेतना, साँस्कृतिक परम्परा, योगदान र मौलिक पहिचानसँग पनि अभिन्न रूपमा जोडिएको छ । नेपालको यही ऐतिहासिक तथा साँस्कृतिक पहिचान बोकेको महत्वपूर्ण धरोहर मध्ये नेपाल सम्वत् पनि एक हो । नेपाल सम्वत् केवल समय गणना गर्ने पात्रो मात्र होइन, यो नेपाल र नेपाली समाजको मौलिक सभ्यता, राष्ट्रिय स्वाभिमान र सामाजिक न्यायको ऐतिहासिक दस्तावेज पनि हो ।
नेपाल सम्वत्को प्रारम्भ वि.सं. ९३६ अर्थात् ईस्वी संवत् ८७९ मा भएको ऐतिहासिक मान्यता छ । नेपाल सम्वत्का प्रवर्तक शंखधर साख्वाःलाई इतिहासले एउटा सामान्य व्यापारीका रूपमा मात्र होइन, नेपाली गरीब जनताको ऋणमोचन गरी सामाजिक सेवाको अनुपम उदाहरण प्रस्तुत गर्ने व्यक्तित्वका रूपमा पनि स्मरण गरेको छ ।
नेपाल सम्वत् वि.सं.९३६ कात्तिक शुक्ल प्रतिपदाको दिन शुरु गरिएको देखिन्छ । किल हर्न (प्ष्िि ज्भबचल) नामक एक विदेशी इतिहासविद्का अनुसार त्यो दिन ईस्वी सन् ८७९ सालको अक्टूवर २० तारिखमा परेको थियो । यो नेपाल सम्वत् भक्तपुरमा राजा आनन्द देव (वि.सं.९३०) र ललितपुर र काठमाण्डौंमा राजा राघवदेवको शासनकालमा काठमाडौं निवासी व्यापारी शंखधर साख्वाःलाई काठमाडौं उपत्यकाका गरीब जनतालाई ऋणबाट मुक्त गराएको हुँदा नेपाल सम्वत् प्रचलनमा ल्याउन अनुमति दिइएको थियो । नेपाल सम्वत् शुरु भएको ११४६ वर्ष पूरा भएर यही २०८३ कात्तिक २४ गते शुक्लप्रतिपदा मंगलबारका दिन नेपाल सम्वत् ११४७ प्रारम्भ हुन्छ । यो दिन नेवार बाहुल्य भएका शहर बजारमा न्हुँँ दँ याः भिन्तुना र्याली निकालेर भव्यताका साथ नेपाल सम्वत् शुभारम्भको स्वागत गर्ने गरिन्छ ।
नेपालीहरुको महान साँस्कृतिक चाड तिहारको चौंथो दिन विशेषगरेर नेवार समुदायले मनाउने ‘म्हँ पूजा र नेपाल सम्वत्’ को शुभारम्भ एकै दिन पर्छ । ‘नयाँ सम्वत् भित्राएर ‘म्हँ पूजा’ गर्ने चलन चलाइएको भन्ने सम्बन्धमा प्रसिद्ध संस्कृतिविद् तथा शताब्दी पुरुष स्व. सत्यमोहन जोशीका अनुसार ‘नेपाल सम्वत्’ को प्रचलन शुरु हुनुभन्दा धेरै पहिलेदेखि नै नेवारी समुदायमा ‘म्हँ पूजा’ गर्ने प्रचलन थियो ।’
प्रचलित ऐतिहासिक किंवदन्ती अनुसार शंखधर साख्वाःले तत्कालीन समयमा जनताको ऋण तिरिदिएर उनीहरूलाई ऋणमुक्त गराएका थिए । यही लोककल्याणकारी कार्यको स्मरणमा नयाँ सम्वत् प्रारम्भ भएको जनविश्वास छ । यद्यपि शंखधर साख्वाःको जीवन र ऋणमोचन सम्बन्धी घटनाका कतिपय विवरण ऐतिहासिक अभिलेखभन्दा लोकपरम्परा र किंवदन्तीमा आधारित छन् । तथापि उनको सामाजिक योगदानको स्मृतिले नेपाल सम्वत्लाई विशिष्ट अर्थ प्रदान गरेको छ ।
शंखधर साख्वाःको सबैभन्दा ठूलो योगदानलाई केवल नयाँ पात्रोको सुरुआतका रूपमा सीमित गर्न मिल्दैन । उनले जनताको आर्थिक पीडा र ऋणको बोझबाट मुक्ति दिलाएको कथाले समाजमा समानता, मानवीयता र परोपकारको सन्देश दिन्छ । आजको सन्दर्भमा भन्ने हो भने यो आर्थिक न्याय र सामाजिक उत्तरदायित्वको एउटा ऐतिहासिक उदाहरण हो । ऋणको बोझले थिचिएका नागरिकलाई राहत दिनु र उनीहरूको जीवनमा नयाँ आशा सञ्चार गर्नु कुनै पनि समाजका लागि महत्वपूर्ण मानवीय कार्य हो ।
त्यसैले वि.सं.२०४७ सालमा नेपालमा प्रजातन्त्रको पुनःस्थापना भएपछि २०५६ साल मंसीर २ गते तत्कालीन सरकारले नेपाल सम्वत्का प्रवर्तक शंखधर साख्वाःलाई नेपालको
‘राष्ट्रिय विभूति’ को सम्मान दिने घोषणा गर्यो र उनको चित्र छापिएको हुलाक टिकट पनि प्रकाशित गरियो । पछि उनको प्रतिमा भक्तपुरको ठिमीमा स्थापना गरी शंखधर चोक नामाकरण गरिएको छ र शंखधरको नाममा देशका विभिन्न भागमा चोक र मूर्ति स्थापना गरिएका छन् ।
नेपाल सम्वत् राष्ट्रिय सम्वत् हो । आफ्नैपनको आफ्नै मुलुकको नाममा राखिएको हुँदा ‘नेपाल सम्वत्’ मौलिक सम्वत् पनि हो । ‘प्रत्येक सम्वत्मा राजाको नाम हुन्छ, कि त जातिको नाम जोडिन्छ’ संस्कृतिविद् स्व. जोशीको भनाई छ– ‘यसमा नेपाल सम्वत् भनेर देशकै नाम जोडिएको छ । नेपाल सम्वत्लाई किन आफ्नो नमान्ने ?’
जातिय विभेद्का विरोधि राष्ट्रिय विभूति शंखधर साख्वाःको सामाजिक न्याय र समानताको त्यो सपना आज पनि पूर्णरुपमा पूरा हुन भने सकेको छैन ।
नेपाल सम्वत्को अर्को महत्वपूर्ण पक्ष यसको मौलिकता हो । नेपालका विभिन्न ऐतिहासिक कालखण्डमा विक्रम सम्वत्, शक सम्वत्, मानदेव सम्वत् तथा अन्य कालगणना पद्दतिहरू प्रचलनमा रहे । तर नेपाल सम्वत् नेपाली भूमिमा विकसित भएको मौलिक कालगणना पद्दति हो । यसले नेपालको ऐतिहासिक निरन्तरता र साँस्कृतिक विशिष्टतालाई अभिव्यक्त गर्दछ । विशेषगरी काठमाडौं उपत्यकाको सामाजिक, धार्मिक, आर्थिक र साँस्कृतिक जीवनमा यसको गहिरो प्रभाव रहेको छ । नेवार समुदायका चाडपर्व, जात्रा, संस्कार र परम्परामा नेपाल सम्वत्को प्रयोग आज पनि जीवन्त छ । त्यतिमात्र होइन, नेपाल सरकारले पनि नेपाल सम्वत्को औपचारिक पत्राचारमा प्रयोग गर्दै आएको छ ।
नेपाल सम्वत्को पात्रो चन्द्रमासमा आधारित छ । यसका महिनाहरू चन्द्रमास अनुसार निर्धारण गरिन्छन् । त्यसैले यसको गणना र चाडपर्वको निर्धारणमा प्रकृति तथा खगोलीय चक्रको महत्वपूर्ण भूमिका रहन्छ । ‘म्हःपूजा’का दिन नेपाल सम्वत्को नयाँ वर्ष मनाउने परम्परा विशेष महत्वको छ । यस अवसरमा आफ्नो शरीरलाई पूजा गरी आत्मसम्मान, आत्मशुद्धि र स्वस्थ जीवनको कामना गरिन्छ । नेपाल सम्वत्को नयाँ वर्षसँग जोडिएको यो परम्परा नेपाली समाजको मौलिक साँस्कृतिक चेतनाको सुन्दर अभिव्यक्ति पनि हो ।
नेपाल सम्वत् केवल नेवार समुदायको निजी साँस्कृतिक सम्पत्ति होइन । यो समग्र नेपालीको साझा ऐतिहासिक
धरोहर हो भन्ने कुरा अहिलेको पस्ताले बुझ्नु जरुरी छ । कुनै पनि राष्टको पहिचान भूगोल र राजनीतिक सीमाले मात्र निर्माण गर्दैन । भाषा, लिपि, संस्कृति, कला, वास्तुकला, साहित्य, परम्परा र ऐतिहासिक स्मृतिले पनि राष्ट्रको पहिचान निर्माण गर्छन् । यस अर्थमा नेपाल सम्वत् नेपालको बहुलतायुक्त राष्ट्रिय पहिचानको एउटा महत्वपूर्ण आधार हो । यसको संरक्षण र प्रवद्र्धन गर्नु कुनै एक समुदायको मात्र जिम्मेवारी नभई राज्य र सम्पूर्ण नागरिकको साझा दायित्व हो ।
नेपाल सम्वत्लाई राष्ट्रिय मान्यता दिलाउन नेपाल भाषा तथा साँस्कृतिक अभियन्ताहरूले लामो संघर्ष गरेका छन् । विशेषगरी धर्मादित्य धर्माचार्य र पद्मरत्न तुलाधर लगायतका व्यक्तित्वहरूले यसको प्रचार, संरक्षण र राष्ट्रिय पहिचानका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । जनस्तरबाट भएको निरन्तर दबाब र साँस्कृतिक आन्दोलनकै परिणामस्वरूप सरकारले २०५६ सालमा शंखधर साख्वाः लाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । त्यसैगरी २०६५ सालमा नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्का रूपमा मान्यता दिने निर्णय भयो । यी तथ्यहरुले पनि नेपाल सम्वत्को ऐतिहासिक तथा साँस्कृतिक महत्वलाई राज्यले स्वीकार गरेको स्पष्ट सन्देश दिएको छ ।
तर राष्ट्रिय सम्वत्को मान्यता प्राप्त हुँदैमा यसको वास्तविक संरक्षण र प्रवद्र्धन भएको मान्न सकिँदैन । सरकारी कामकाज, शैक्षिक पाठ्यक्रम, सार्वजनिक अभिलेख, सञ्चारमाध्यम तथा दैनिक प्रशासनिक व्यवहारमा यसको प्रयोग अझै अपेक्षित रूपमा विस्तार हुन सकेको छैन । नेपाल सम्वत्को नयाँ वर्षमा औपचारिक शुभकामना दिने, साँस्कृतिक झाँकी निकाल्ने र समारोह आयोजना गर्ने काम मात्र पर्याप्त हुँदैन । यसको ऐतिहासिक महत्वबारे नयाँ पुस्तालाई जानकारी गराउनु, शंखधर साख्वाःको योगदानलाई पाठ्यपुस्तकमा समुचित स्थान दिनु र नेपाल सम्वत्को प्रयोगलाई व्यवहारमा प्रोत्साहित गर्नु आवश्यक छ ।
आज विश्वव्यापीकरण र प्रविधिको तीव्र विकासले स्थानीय भाषा, संस्कृति र मौलिक परम्परामाथि विभिन्न चुनौती खडा गरिरहेको छ । यस्तो अवस्थामा आफ्नो ऐतिहासिक पहिचानको संरक्षण गर्नु झन् महत्वपूर्ण हुन्छ । आधुनिक प्रविधिको उपयोग गर्दै नेपाल सम्वत्को पात्रो, डिजिटल अभिलेख, अनुसन्धान र प्रकाशनलाई प्रोत्साहन गर्न सकिन्छ । विश्वविद्यालय, प्राज्ञिक संस्था, स्थानीय तह र साँस्कृतिक संघसंस्थाले यसको इतिहासमाथि थप अनुसन्धान गर्नुपर्छ । नेपाल सम्वत्को प्रचलनलाई काठमाडौं उपत्यकामा मात्र सीमित नराखी देशका विभिन्न भूगोल र समुदायसम्म पु¥याउनु पनि उत्तिकै आवश्यक छ ।
नेपाल सम्वत्ले हामीलाई एउटा महत्वपूर्ण सन्देश दिएको छ– समाजको वास्तविक समृद्धि शक्तिशाली व्यक्तिको वैभवमा होइन, सामान्य नागरिकको दुःख कम गर्ने कार्यमा निहित हुन्छ । शंखधर साख्वाःको स्मृतिसँग जोडिएको ऋणमुक्तिको प्रसंगले आज पनि आर्थिक असमानता, गरिबी र सामाजिक विभेदबाट ग्रस्त समाजलाई मानवीयताको पाठ सिकाउँछ । जनताको हितमा गरिएको एउटा सत्कर्म शताब्दीयौँसम्म राष्ट्रिय स्मृतिमा जीवित रहन सक्छ भन्ने नेपाल सम्वत् उदाहरण पनि हो ।
अन्ततः नेपाल सम्वत् विगतको गौरवगाथा मात्र होइन, वर्तमानको साँस्कृतिक आवश्यकता र भविष्यको
राष्ट्रिय पहिचानसँग जोडिएको विषय हो । यसलाई कुनै जाति, भाषा वा समुदायको सीमाभित्र कैद गरेर हेर्नु ऐतिहासिक अन्याय हुनेछ । नेपालका सबै जातजाति, भाषाभाषी र समुदायको साझा सम्पत्तिका रूपमा यसको सम्मान र संरक्षण हुनु आजको आवश्यकता हो । शंखधर साख्वाःले जनतालाई ऋणको बोझबाट मुक्त गराएको ऐतिहासिक सन्देशलाई आत्मसात् गर्दै सामाजिक न्याय, समानता र मानवीयताको बाटोमा अघि बढ्नु नै नेपाल सम्वत्प्रतिको वास्तविक सम्मान हुनेछ ।
०००





























