लुम्बिनी प्राविधिक विश्वविद्यालय (एलटीयू) र भारतको उत्तर प्रदेशस्थित लखनऊ विश्वविद्यालयबीच शनिवार सम्झौता ज्ञापन (एमओयू) हस्ताक्षर भएको छ, जसले नेपाल र भारतबीचको उच्च शिक्षा सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। एलटीयूका माननीय उपकुलपति प्रोफेसर डा. विनोद प्रसाद ढकाल र लखनऊ विश्वविद्यालयका माननीय उपकुलपति प्रोफेसर जे. पी. सैनीले औपचारिक रूपमा यस सम्झौतामा हस्ताक्षर गर्नुभयो, जसले दुई मुलुकका प्राविधिक तथा प्राज्ञिक संस्थाहरूबीच दीर्घकालीन सम्बन्धको जग बसाएको छ।

हस्ताक्षर समारोहमा एलटीयूका डिन डा. नीरज केसी, अनुसन्धान निर्देशक डा. प्रदीप कर्ण, परीक्षा नियन्त्रक जेन्टिल गौतम र सेवा आयोग सदस्य कृष्ण प्रसाद घिमिरे उपस्थित हुनुहुन्थ्यो।
लखनऊ विश्वविद्यालयको तर्फबाट इन्जिनियरिङ तथा प्रविधि संकायका डिन प्रोफेसर सत्येन्द्र पाल सिंह, र्याङ्किङ सेलकी निर्देशक प्रोफेसर गीतांजली मिश्रा, अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक प्रोफेसर आर. पी. सिंह र कम्प्युटर विज्ञान तथा इन्जिनियरिङ विभागका सह-प्राध्यापक डा. सी. एल. पी. गुप्ता सहभागी हुनुभयो।
प्रोफेसर डा. ढकालले यस सम्झौतालाई विश्वविद्यालयको अन्तर्राष्ट्रियकरण यात्रामा महत्त्वपूर्ण कदमका रूपमा उल्लेख गर्नुभयो, भने प्रोफेसर सैनीले लखनऊ विश्वविद्यालयले अन्तर्राष्ट्रिय शैक्षिक साझेदारीलाई सधैं प्राथमिकतामा राख्दै आएको र यो सहकार्य दुवै संस्थाका लागि पारस्परिक लाभदायक हुने विश्वास व्यक्त गर्नुभयो।
परीक्षा नियन्त्रक जेन्टिल गौतमका अनुसार,
सम्झौताअन्तर्गत दुवै विश्वविद्यालयका विद्यार्थी तथा शिक्षकहरूबीच आदानप्रदान कार्यक्रम सञ्चालन गरिने, संयुक्त अनुसन्धान परियोजना र प्रकाशनमा सहकार्य गरिने, र सम्मेलन, कार्यशाला तथा तालिम कार्यक्रमहरू संयुक्त रूपमा आयोजना गरिने व्यवस्था छ।
यसले पाठ्यक्रम विकास, प्रयोगशाला साझेदारी र नवप्रवर्तन तथा स्टार्टअप इन्क्युबेसनको क्षेत्रमा पनि सहकार्यको आधार तयार पारेको उहाँको भनाइ छ ।
यससंगै इन्जिनियरिङ र कम्प्युटर विज्ञानमा विशेष जोड दिँदै, कृत्रिम बुद्धिमत्ता, डेटा विज्ञान, सूचना प्रविधि, साइबर सुरक्षा र डिजिटल रूपान्तरणजस्ता क्षेत्रमा संयुक्त अनुसन्धानको सम्भावना खुलेको छ।
यस सम्झौताबाट स्नातक तहका विद्यार्थीदेखि विद्यावारिधि तहका अनुसन्धानकर्तासम्म लाभान्वित हुने अपेक्षा गरिएको छ। संयुक्त सुपरीवेक्षण, अनुसन्धान क्षमता अभिवृद्धि, अन्तर्राष्ट्रिय प्राज्ञिक सञ्जालीकरण र सीप विकासजस्ता अवसरहरूले विद्यार्थी र शिक्षक दुवैको प्राज्ञिक स्तर उकास्न सघाउनेछ।
क्षेत्रीय दृष्टिकोणबाट, यो साझेदारी नेपाल-भारत शैक्षिक सम्बन्ध सुदृढ बनाउने र दक्षिण एसियाली उच्च शिक्षामा सीमापार ज्ञान आदानप्रदान प्रवर्द्धन गर्ने प्रयासको उदाहरण मानिन्छ। भविष्यमा यो सहकार्य संयुक्त डिग्री कार्यक्रम, अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र, भ्रमणकारी प्राध्यापक व्यवस्था र संयुक्त प्रकाशनजस्ता थप पहलमा विस्तार हुने सम्भावना रहेको छ।





























