खेलकुदले समाजलाई जोड्ने तथा शारीरिक, मानसिक एवं संवेगात्मक रुवमा सकारात्मक समाज बनाउने नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले बताएका छन् । नेपालगन्जमा महेन्द्र पुस्तकालयको आयोजनामा भएको खेलकुदले बनाउने समाज विषयक एक विमर्श कार्यक्रममा बोल्ने वक्ताहरुले समाजलाई जोड्ने र सबल समाज बनाउन सघाउने बताए ।
कार्यक्रममा बोल्दै ओलिम्पियन तथा लुम्बिनी प्रदेशका पूर्व मन्त्री सुरेन्द्र हमालले भने, ‘खेलकुदले समाजलाई अनुशासित बनाउँछ । राजनीतिमा जति ढिलो पुग्यो त्यति ठूलो मान्छे मानिन्छ, तर खेलमा तोकिएको समयभन्दा पाँच मिनेट ढिलो भएमा खेलबाट वाकआउट दिइन्छ ।’ उनले आफू क्यान्सरबाट पीडित भएपनि खेलले सिकाएको सकारात्मक उर्जाकै कारण रोगलाई जित्न कहीँ न कहीँ भूमिका खेलेको बताए ।
अर्का खेलाडी समसुद्धिन सिद्धिकीले पनि खेलले समाजमा सकारात्मक प्रतिस्पर्धाको वातावरण बनाउने बताए । उनले भने, ‘सुरेन्द्र दाईले भारोत्तोलन गरेको देखेपछि मलाई पनि उहाँभन्दा धेरै भार उठाउन सक्छुँ भन्ने सकारात्मक इख पलायो । यहाँ कसैको खुट्टा तानेर भन्दा अरुभद्या अघि गएर मात्रै सफल भइन्छ ।’
कार्यक्रमका अर्का वक्ता पूर्व खेलाडी शान्ति सिंहले महिलालाई सबल बनाउन पनि खेलकुदले ठूलो भूमिका खेलेको बताइन् । उनले आफू नेपालगन्जको पहिलो पुस्ताको खेलाडी भएको बताउँदै सुरु सुरुमा खेलमा महिलाहरुलाई सहभागी हुन नै समस्या रहेको स्मरण गरिन् । तर खेलमार्फत नै देशविदेशमा गएर मेडल ल्यनएर आएपछि त्यसले महिलालहरुलाई खेलमा सहभागी हुने कुरालाई समाजले समान्य रुपमा लिएको र महिलाहरुलाई आर्थिक रुपले पनि सबल बनाएको बताइन् । ‘खेलकुदमा समाजले सकारात्मक सन्देश दियो । महिलाहरुले पनि केही गर्न सक्छन् भन्ने उदाहरण दिने मौका दियो,’ सिंहले भनिन् ।
कार्यक्रमका अर्का वक्ता रहेका पत्रकार तथा नेपालगन्ज म्याराथनका संयोजक टीएस ठकुरीले विश्वका धेरै मुलुक तथा सहरको विकासमा खेलको ठूलो योगदान रहेको बताए । उनले भने, ‘कतिपय सहरहरुको इतिहास हेर्दा सहर समृद्ध भएर खेलकुदको विकास भएको हो कि खेलकुदले सहरको विकास भएको हो भन्ने छुट्याउन गाह्रो पर्छ ।’ नेपालमा पनि खेललाई समाजको एक केन्द्रिय हिस्साकै रुपमा हेर्न थालिए पनि खेल समृद्ध भएका देश तथा सहरहरुले खेलमा जनाउने सहभातिाका तुलनामा नेपाल पछि रहेको बताए ।
‘खेलाडीलाई सामाजिक सुरक्षा चाहियो’
कार्यक्रमका वक्ताहरुले खेलकुदको विकासका लागि राज्यले खेलाडीहरुलाई सामाजिक सुरक्षाको प्रत्याभुति दिनुपर्ने पनि बताए । अहिले राज्यका तर्फबाट खेलाडीहरुलाई आर्थिक सुरक्षाको प्रत्याभूति हुन नसकेका कारण खेलाडीहरु पलायन हुने अवस्था रहेको उनीहरुको भनाइ थियो ।
प्यानल छलफलको मोडेलमा भएको उक्त कार्यक्रमका एक वक्ताका रुपमा रहेका खेलाडी बालकृष्ण चौधरीले खेलाडीहरु खेल्न नसक्ने स्थितिमा खेल क्षेत्रमै वा अन्य अवसरहरु सृजना गर्नुपर्ने बताए । युवा उमेरका खेलाडीहरु खेल जीवनपछि के गर्ने भन्ने चिन्तामा रहने गरेको बताए । उनले भने, ‘म आफै केही वर्ष विदेश बसेर आएपछि आर्थिक रुपले केही सहज स्थितिमा आएँ । अब पनि खेलाडीहरुले आर्थिक सुरक्षाका दृष्टिले चिन्ता लिनु नपर्ने स्थिति राज्यले बनाउनुपर्छ ।’
खेलाडी तथा खेलसेवी रतन कुमार टण्डनले पनि राज्यले खेलाडीहरुका लागि सामाजिक सुरक्षाको व्यवस्था नगर्ने हो भने अभिभावकले आफ्ना सन्तानलाई ढुक्कका साथ खेल क्षेत्रमा सामेल गराउन हिचकिचाउने अवस्था रहीरहने बताए । साथै उनले खेलाडीहरुका प्रतिभाहरुको खोजी पनि नियमित कार्यक्रम अन्तर्गत सरकारले गर्दै जानुपर्ने पनि बताए । ‘विगतमा पनि ट्यालेन्ट हन्टको नाममा कार्यक्रम थियो । तर त्यसलाई सही तरिकाले कार्यान्वयन भयो भएन थाहा भएन । अहिले पनि दुरदराजबाट खेलाडीहरु छान्नका लागि ट्यालेन्ट हन्ट जरुरी छ,’ टण्डनले भने ।
नेपालगन्ज रंगशालालाई चलायमान बनाऔँ
कार्यक्रममा सहभागीहरुले करोडौँ रकम खर्चिइएको नेपालगन्ज रंगशालालाई चलायमान बनाउन सबैले पहल गर्नुपर्नेमा जोड दिइएको थियो । रंगशाला भएर पनि त्यहाँ खेलाडीहरुले खेल्न नपाउने र अभ्याससमेत गर्न नपाउने अवस्था रहेको बताउँदै वक्ताहरुले अब राज्यले उक्त संरचनालाई उपयोगमा ल्याउन संरचनागत सुधार गर्नुपर्ने बताए । खेलाडी तथा पूर्व मन्त्री हमालले अहिलेपनि रंगशाला कुन तहको सरकार मातहत रहने भन्ने अन्यौलता अन्त्य नगरिनु दुःखद रहेको बताए । उनले उक्त रंगशालालाई चलायमान बनाउन स्थानीय सरकारलाई जिम्मा दिएर खेलाडीहरुलाई खेल्ने र प्रशिक्षण लिने अवसर दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा टिप्पणी राख्दै आठौँ राष्ट्रिय खेलकुद नेपालगन्जमा आयोजना गर्दाको बखतमा तत्कालीन मध्उपश्चिम खेलकुद विकास समितिको अध्यक्ष रहेका भीम ओलीले अब सबैको ध्यान नेपालगन्ज रंगशालाई चलायमान बनाउनतर्फ हुनुपर्ने बताए । उनले रंगशालामा खेलकुदका गतिविधिहरु बढाउनका लागि सबैले आ आफ्नो ठाउँबाट पहल गर्ने र राज्यलाई घचघच्याउनुपर्ने बताए ।
उक्त कार्यक्रममा नेपालगन्जको खेल इतिहासको विषयमा पूर्व खेलाडी नथा खेलकुद इतिहासका जानकार अजित कुमार शर्माले प्रकाश पारेका थिए । उनले कुस्ती खेलबाट सुरु भएको नेपालगन्जको खेलकुद अहिले व्यवसायिकतातर्फ गएको तर हुनुपर्ने जसरी विकास नभएको बताए । यद्धपि देशलाई अब्बल खेलाडीहरु बाँकेले दिएको पनि उनले बताए । यहाँका खेलसेवीहरुले पनि खेल क्षेत्रमा निस्वार्थ रुपमा लगानी गरेर खेलकुदको विकासमा ठूलो गुन लगाएको उनको भनाइ थियोे ।
२१ जना खेलाडी तथा खेलसेवीहरु सम्मानित
महेन्द्र पुस्तकालय अन्तर्गतको सामाजिक सरोकार उपसमितिको आयोजना र नेपालगन्जस्थित जुमा स्पोर्ट्स क्लबको सहकार्य बाँकेका २१ जना खेलाडी तथा खोलकर्मीहरुलाई सम्मान गरिएको छ । सामाजिक सरोकार उपसमितिका संयोजक नरेन्द्रजंग पिटरको अध्यक्षता तथा पूर्व युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, प्रदेश सभा सदस्य अम्बिका काफ्ले, लुम्बिनी प्रदेश सरकारका पूर्व मन्त्री कृष्णा केसी नमुना, नेपालगन्ज उपमहानरपालिकाका मेयर प्रशान्त विस्टसमेतको आतिथ्यतामा भएको उक्त कार्यक्रममा खेलाडी तथा खेलकर्मीहरुलाई कदर पत्रसहित सम्मान गरिएको हो । सम्मानितहरुलाई पूर्व खेलाडी समाज नेपालगन्जका अध्यक्ष प्रकाशबहादुर श्रेष्ठ, महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादव, वरिष्ठ साहित्यकार सनत रेग्मी तथा पूर्व युवा तथा खेलकुद मन्त्री गहतराजले कदरपत्र हस्तान्तरण गरेका थिए ।
कदर पत्रसहित सम्मानित हुनेहरुमा रतन कुमार टण्डन, अशोकजंग थापा, अजित कुमार शर्मा, सुरेन्द्र बहादुर हमाल, सच्चिदानन्द चौवे, समसुद्दीन सिद्दिकी, पार्वती थापा, अनिता श्रेष्ठ, लेख बहादुर क्षेत्री रहेका छन् । यसैगरी, चन्द्र बहादुर गुरुङ, गोविन्द प्रसाद श्रेष्ठ, राकेश श्रीवास्तव, गोबर्धन सिंह, शान्ति सिंह क्षेत्री, विक्रम जंग थापा, जयन्त कुमार शर्मा, राजुराज शाही, टीएस ठकुरी, नेरी थापा, डा. प्रतिक श्रेष्ठ, सन्तोष काजी शाक्यलाई पनि कदरपत्र प्रदान गरिएको छ ।
कसको योगदान के ?
महेन्द्र पुस्तकालयले सम्मान गरेका खेलाडी तथा खेलकर्मीहरुमध्ये रतन कुमार टण्डन नेपाल ओलम्पिक कमिटीको कोषाध्यक्ष, नेपाल भारोत्तोलन संघको पूर्व अध्यक्ष तथा एशियाली भारोत्तोलन संघका सभापतिको विशेष सल्लाहकार भइसकेका व्यक्ति हुन् । उनले नेपालगन्ज बहुउद्देश्यीय कभर्डहल तथा सुटिङ रेन्ज निर्माणमा योगदान गर्नुका साथै चौथो राष्ट्रिय खेलकुद, अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता, साउथ एशियन भारोत्तोलन च्याम्पियनशिप लगायत विभिन्न खेल इभेन्टहरु आयोजना र संचालनमा अहम् भूमिका निभाएको भन्दै कदर–पत्र प्रदान गरिएको पुस्तकालयले जनाएको छ ।
अशोकजंग थापा तत्कालीन भेरी अञ्चल खेलकुद विकास समितिको सचिव तथा राष्ट्रिय खेलकुद परिषद्को प्रथम श्रेणीको प्रशासन प्रमुखको रूपमा सेवा गरेका व्यक्ति हुन् । उनले फुटबलको सर्वोत्तम खेलाडीको रूपमा भारतका तत्कालीन प्रधानमन्त्री श्री लाल बहादुर शास्त्रीबाट पुरस्कारसमेत पाएका थिए ।
अजित कुमार शर्मा भलिबलको पूर्व राष्ट्रिय खेलाडी तथा अन्तर्राष्ट्रिय भलिबल पूर्व रेफ्री हुन् । उनले नेपालगन्ज रङ्गशाला खेल मैदान एवं बहुउद्देश्यीय कभर्डहल निर्माणमा अहम भूमिका निर्वाह गरेको योगदानका लागि समेत कदर–पत्र प्रदान गरिएको पुस्तकालयले जनाएको छ ।
सुरेन्द्र बहादुर हमालले सन् १९८४ मा लसएन्जल्स, अमेरिकामा सम्पन्न २३औं ओलम्पिक खेलकुद प्रतियोगितामा भारोत्तोलन तर्फ नेपालको तर्फबाट सहभागी थिए । साथै सिरियाको दमास्कसमा भएको १५औं एसियन भारोत्तोलन च्याम्पियनसिपमा कांस्य पदक र दक्षिण एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्दै ५ वटा रजत र ७ वटा कांस्य पदक हमालले प्राप्त गरेका थिए ।
पार्वती थापा सन् १९८८ मा सियोल, दक्षिण कोरियामा सम्पन्न २४औँ ओलम्पिक खेलकुद प्रतियोगितामा नेपालको तर्फबाट सुटिङतर्फ सहभागी खेलाडी हुन् । उनी राष्ट्रिय खेलकुद परिषद (राखेप) को सुटिङ खेल प्रशिक्षकसमेत हुन् ।
अनिता श्रेष्ठ पनि २५ औं ओलम्पिक खेलकुद १९९२, बार्सिलोना स्पेनमा सुटिङतर्फ सहभागि खेलाडी हुन् भने पाँचौ दक्षिण यसियाली खेलकुद १९९१ कोलम्बोमा सुटिङतर्फ स्वर्णपदक प्राप्त खेलाडी हुन् ।
सच्चिदानन्द चौवेले एथलेटिक्सको राष्ट्रिय खेलाडीको रूपमा खेल क्षेत्रमा पु¥याउनुभएको योगदानका साथै भेरी अञ्चलको भलिबल विकासको सुरुवाती बिजारोपण गरेका थिए ।
गोविन्द प्रसाद श्रेष्ठ फुटबलको राष्ट्रिय खेलाडी तथा बाँकेको कप्तानको रूपमा विभिन्न खेलमा कुशल नेतृत्व प्रदान गर्नुका साथै फुटबल एवं समग्र खेल संस्कृतिको प्रवर्धनमा हालसम्म पनि निरन्तर रूपमा सक्रिय रहेको भन्दै कदरपत्र प्रदान गरिएको छ ।
राकेश श्रीवास्तव भलिबलको अन्तर्राष्ट्रिय खेलाडी हुन भने उनले जिल्ला शिक्षा अधिकारीको रूपमा आफ्नो पदीय जिम्मेवारीमा रहँदा प्रशासनिक स्तरबाट खेलकुद क्षेत्रको जग बलियो बनाउन र यसको विकासमा अहम भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको पुस्तकालयले जनाएको छ ।
समसुद्दीन सिद्दिकी दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा भारोत्तोलनमा रजत पदक विजेता हुन् भने गोबर्धन सिंह फुटबलको पूर्व राष्ट्रिय खेलाडी, बाँके जिल्ला पौडी संघको पूर्व अध्यक्ष र एन्फाको मानार्थ उपाध्यक्ष भइसकेका व्यक्ति हुन् ।
लेख बहादुर क्षेत्रीले नेपालमा महिला क्रिकेटको जग बसालेका थिए भने नेपालले आयोजना गरेको पहिलो अन्तर्राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता एसीसी कप १९९८ मा राष्ट्रिय टोलीको कप्तान पनि हुन् । क्षेत्री सन् १९९६ मा मलेसियामा सम्पन्न पहिलो एसीसी ट्रफी खेल्ने नेपाली राष्ट्रिय टोलीको उपकप्तान, नेपाल उपविजेता बनेको सन् २००७ मा मलेसियामा आयोजित पहिलो एसीसी महिला च्याम्पियनसिपमा नेपाली महिला टोलीको व्यवस्थापक समेत रहीसकेका व्यक्ति हुन् ।
यसैगरी नेरी थापा नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीको प्रथम कप्तान तथा दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत ब्याडमिन्टन विधामा समेत कास्य पदक प्राप्त खेलाडी हुन् ।
शान्ति सिंह क्षेत्री कबड्डी खेलको पूर्व राष्ट्रिय खेलाडी हुन् भने राष्ट्रिय खेलकुद परिषदको सदस्य समेत भइसकेकी व्यक्ति हुन् ।
विक्रम जंग थापा पूर्व अन्तर्राष्ट्रिय खेलाडी हुन् भने एथलेटिक्सको मुख्य प्रशिक्षकसमेत भइसकेका व्यक्ति हुन् ।
जयन्त कुमार शर्मा ह्यान्डबल खेलको अन्तर्राष्ट्रिय खेलाडी हुन् भने राष्ट्रिय खेलकुद परिषद (राखेप) को क्षेत्रीय निर्देशक तथा राखेपको क्षेत्रीय प्रमुख भइसकेका व्यक्ति हुन् ।
चन्द्र बहादुर गुरुङ एथ्लेटिक्सको अन्तर्राष्ट्रिय खेलाडी हुन् भने एथलेटिक्सको प्रमुख प्रशिक्षक समेत भइसकेका व्यक्ति हुन् भने राजुराज शाही भलिबल खेलको अन्तर्राष्ट्रिय खेलाडी हुन् भने
टीएस ठकुरीले नेपालगन्ज म्याराथनलाई वल्र्ड रनिङको अन्तर्राष्ट्रिय संगठन एसोसिएसन अफ इन्टरनेसनल म्याराथन्स एण्ड डिस्टन्स रेसेज (एम्स)बाट सोसल अवार्ड समेत प्राप्त गर्न योग्य बनाएस्वरुप कदर गरिएको पुस्तकालयले जनाएको छ ।
यसैगरी, डा. प्रतिक श्रेष्ठ हैदराबाद, भारतमा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनशिप प्रतियोगितामा स्वर्ण पदक विजेता बन्न सफल भएका थिए भने सन्तोष काजी शाक्य सोही प्रतियोगितामा रजत पदक विजेता बनेका थिए ।





























