ठाकुरबाबा नगरपालिकामा बालविवाह न्यूनीकरण तथा लागुऔषध दुरुपयोग नियन्त्रणका लागि धार्मिक गुरु, पुरोहित, बरघर, गुरुवा तथा सामुदायिक अगुवाहरूले समुदायस्तरमा जनचेतनामूलक अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।
बाँके युनेस्को क्लब, राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षित भविष्य परियोजनाअन्तर्गत आयोजित धार्मिक तथा सामुदायिक सञ्जालको बैठकमा बालविवाह रोकथाम र लागुऔषध दुरुपयोग न्यूनीकरणका उपायबारे छलफल गरिएको हो ।
बैठकमा सहभागी अगुवाहरूले बालविवाह हानिकारक सामाजिक अभ्यास भएको उल्लेख गर्दै यसको अन्त्यका लागि समाजमा विद्यमान नकारात्मक मूल्य, मान्यता, परम्परा र व्यवहारमा परिवर्तन आवश्यक रहेको बताए । उनीहरूले कानुनी विवाहयोग्य उमेर नपुगेका बालबालिकाको विवाहमा धार्मिक विधि तथा संस्कार सम्पन्न नगर्ने र बालविवाहलाई प्रोत्साहन गर्ने अभ्यास निरुत्साहित गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
बालविवाहको जोखिममा रहेका बालबालिकाको पहिचान, अभिभावक तथा समुदायलाई सचेतना, बालबालिकाको शिक्षामा निरन्तरता र रोकथामका लागि सरोकारवाला निकायबीच समन्वय गर्ने विषयमा पनि बैठकमा सहमति भएको छ । यसका लागि वडा कार्यालय, महिला तथा बालबालिका शाखा, विद्यालय, शिक्षक, बाल क्लब, प्रहरी तथा बाल अधिकारसम्बन्धी समितिसँग सहकार्य गर्ने निर्णय गरिएको जनाइएको छ ।
बैठकमा बालबालिका तथा किशोरकिशोरीमा बढ्दो लागुऔषध प्रयोग र दुरुपयोगका असरबारे पनि छलफल भएको थियो । धार्मिक सभा, प्रवचन, सामुदायिक भेला, विद्यालय र युवा समूहहरूमार्फत लागुऔषधले स्वास्थ्य, परिवार, सामाजिक जीवन तथा शिक्षामा पार्ने नकारात्मक प्रभावबारे जानकारी फैलाउने र अभिभावकलाई छोराछोरीसँग नियमित संवाद गर्न प्रेरित गर्ने
विषयमा जोड दिइएको थियो ।
कार्यक्रमको सहजीकरण गर्दै सुरक्षित भविष्य परियोजनाका संयोजक गोविन्दप्रसाद लामिछानेले बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरणका लागि किशोरकिशोरी, अभिभावक र समुदायका सदस्यलाई लक्षित गरी प्रभावकारी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।
ठाकुरबाबा नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख गोगनसरा आचार्यले बालविवाह न्यूनीकरणका लागि धार्मिक सञ्जालसँग समन्वय र सहकार्य गर्दै आवश्यक सहयोग गर्न नगरपालिका प्रतिबद्ध रहेको बताइन् ।
बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बालविवाह रोकथाम संस्थागत प्रयासले मात्रै सम्भव नहुने भन्दै परिवार, अभिभावक, धार्मिक अगुवा र समुदायका सबै सदस्यले सामूहिक जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए । क्लबका तालिम सहजकर्ता विनय दिल लामाले समुदायमा बालविवाह हुने प्रवृत्ति विभिन्न नयाँ स्वरूपमा देखापरिरहेको उल्लेख गर्दै यसको रोकथामका लागि थप सचेतना र व्यावहारिक पहल आवश्यक रहेको बताए ।
कार्यक्रममा सहभागी धार्मिक गुरु, पुरोहित, बरघर, गुरुवा तथा सामुदायिक अगुवाहरूले आ–आफ्नो समुदायमा बालविवाह न्यूनीकरण र लागुऔषध दुरुपयोग नियन्त्रणका लागि अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए । पुनर्गठित नगरस्तरीय धार्मिक सञ्जाललाई सकारात्मक सामाजिक परिवर्तनको माध्यमका रूपमा परिचालन गरी बालविवाह, लागुऔषध दुरुपयोग तथा बाल संरक्षणसम्बन्धी अन्य सवालमा सामूहिक पहल अघि बढाउने विषयमा समेत जोड दिइएको थियो ।






























