दोस्रो चरणमा पुगे १६ टोली
नेपालगन्जमा जारी विद्यालयस्तरीय फुटबल प्रतियोगिताको पहिलो चरणका खेल सकिएका छन् । पहिलो चरणका खेलमा जित निकाल्दै १६ विद्यालय दोस्रो चरणमा पुगेका छन् । एसियन पेन्टस च्याम्पियन्स कप यु–१८ अल नेपाल इन्टर–स्कुल फुटबल च्याम्पियन्सअन्तर्गत दोस्रो चरणमा पुग्ने टोलीको विहीवार टुंगो लागेको हो ।
पहिलो चरण पार गर्ने टोलीमा युनाइटेड एकेडेमी, सन बिम इङ्लिस मिडियम बोर्डिङ स्कुल, जेनिथ इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुल, सगरमाथा स्कुल, आदर्श माध्यमिक विद्यालय, बर्दिया एकेडेमी र बाल विद्या सेकेन्डरी स्कुल रहेका छन् ।
त्यस्तै, नेपालगन्ज सेन जेभियर्स, मनकामना इङ्लिस बोर्डिङ स्कुल, ग्रीन पिस इङ्लिस मिडियम स्कुल, तक्षशिला एकेडेमी, नेपालगन्ज मोडल एकेडेमी, राम माध्यमिक विद्यालय, होलिल्यान्ड अंग्रेजी सेकेन्डरी स्कुल, मैटवा माध्यमिक विद्यालय र वेस्टर्न सेकेन्डरी स्कुल कोहलपुरले पनि पहिलो चरणका आ–आफ्ना खेलमा जित निकाल्दै दोस्रो चरणको यात्रा तय गरेका छन् ।
प्रतियोगितामा १८ वर्षमुनिका खेलाडीले विभिन्न विद्यालयको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरिरहेका छन् । पहिलो चरणका खेलसँगै विद्यालय तहमा फुटबलको प्रतिस्पर्धात्मक वातावरण थप बढेको आयोजकले जनाएको छ ।
नेपालगन्ज–११ स्पोर्टिङ क्लबका स्पोट्र्स कोअर्डिनेटर घनश्याम थापाका अनुसार, प्रतियोगिताको उद्देश्य विद्यालय तहमा रहेका युवा खेलाडीलाई नियमित प्रतिस्पर्धाको अवसर दिनु हो । प्रतिस्पर्धाबाट उनीहरूको क्षमता र प्रतिभा निखार्दै राष्ट्रियस्तरको खेल यात्राका लागि आधार तयार गर्ने लक्ष्य प्रतियोगिताले लिएको उनले बताए ।
उनले विद्यालयमा रहेका प्रतिभावान खेलाडीलाई पहिचान गर्ने र उनीहरूलाई ठूलो मञ्चमा प्रतिस्पर्धा गर्ने अवसर उपलब्ध गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। युवा खेलाडीले खेलमार्फत आफ्नो क्षमता प्रस्तुत गर्न सकून् भन्नेमा आयोजकले जोड दिएको उनको भनाइ छ ।
एसियन पेन्टसको मुख्य प्रायोजनमा नेपालगन्ज–११ स्पोर्टिङ क्लबको समन्वयमा सञ्चालन भइरहेको प्रतियोगिताले विद्यालयस्तरको फुटबलमा खेलाडीको आकर्षण बढाउने अपेक्षा गरिएको छ । ‘पहिलो चरणका खेल सकिएसँगै अब दोस्रो चरणका प्रतिस्पर्धामा पुगेका १६ टोलीबीचको खेलले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाउनेछ,’ कोअर्डिनेटर घनश्याम थापाले दैनिक नेपालगन्जसँग भने ।






























