दसैंको आगमनसँगै देशभर उत्सवको रौनक सुरु भएको छ । बजारमा किनमेल गर्नेको चहलपहल बढेको छ भने अध्ययन, रोजगारी र जीविकोपार्जनका लागि टाढा रहेका नेपालीहरु घर फर्कने क्रम तीव्र छ । मनसुनी वर्षा बिस्तारै बाहिरिँदै गरेको निर्मल असोजको मौसमले दसैंलाई अझ उल्लासमय बनाएको छ । कतिपयले दसैँलाई धार्मिक पर्वका रुपमा लिन्छन भने कतिपयले सामाजिक र सांस्कृतिक परम्पराकारुपमा लिने गरेका छन । दसैँमा परिवार र आफन्त जम्मा हुने मीठोमसिनो खाने, नयाँ लुगा लगाउने, आ–आफ्ना देवी–देवताको पूजा गर्दै ठूलाबडासँग आशीर्वाद लिने र सानालाई आशिष दिने चलन छ ।

दसै पर्व परम्पराबाट नयाँ संस्कृतितर्फ उन्मूख भएको छ । पहिले दसैं भन्नासाथ मामाघर, ससुराली र इष्टमित्रहरु संगको भेट सम्झिन्थ्यौं । अर्को तर्फ शक्तिपीठहरु को दर्शन हुन्थो । विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनको हातबाट टीका थाप्ने, लिंगे पिङ, रोटे पिङ खेल्ने र चंगा उडाउने सामूहिक रमाइलो नै दसैंको पहिचान थियो । अहिले त्यो परम्परामा घुम्ने संस्कृति थपिएको छ । अहिलेको पुस्ताले दसैंलाई घरमै बसेर टीका थाप्ने मात्र होइन, भेटघाट र घुमघामको पर्वका रुपमा बुझन थालेका छन । टीकाको भोलिपलल्टदेखि नै घुम्नको लागि नयाँ गन्तव्यतिर निस्कने प्रचलन बढेको छ । यसले दसैंलाई घरभित्रको उत्सवबाट बाहिरको संसारसँग जोडिने अवसर बनाएको छ । यसको अर्थ दसैंको मौलिकता हराएको होइन, अर्थ फराकिलो भएको हो । पहिले दसैं शक्तिपीठका देवी दर्शन र आफन्तलाई खुसी पार्ने उत्सव थियो भने अहिले त्यसमा आफैंलाई खुसी पार्ने आयाम थपिएको छ ।
दर्सैंको उत्पत्तिबारे समाजशास्त्री र इतिहासकारका बीच फरक मत छन । कसैले यसलाई धार्मिक, कसैले शासक वर्गको वीरताको प्रतीक र कसैले मातृसत्तात्मक अवशेष भनेका छन । तर गहिरिएर हेर्दा दसैं मूलतः किसानसँग जोडिएको लोकपर्व हो । असार साउनको हिलो र रोपाइँको चटारो सकिएपछि असोजमा प्रशस्त अन्नबाली भित्रिन्छ । वर्ष दिनको कठोर श्रमपछि थकाइ मार्ने, आफन्त भेटने, नाचगान र रमाइलो गर्ने सहज मानवीय आवश्यकताबाटै यो चाडको चलन चलेको हो । पछि हिन्दू धर्मबाट अभिप्रेरित शासक वर्गले यही लोकपर्वलाई आफ्नो संस्कृति बनाउँदै धार्मिक र राजकीय आवरण दिए र असत्यमाथि सत्यको विजयको कथा जोडिदिएका हुन । धर्मको आवरण हटाएर हेर्दा दसैं आयातित अनुष्ठान होइन, नेपाली माटो, श्रम र लोकजीवनसँग गाँसिएको मौलिक पर्व हो । यही कारण यसको सबैभन्दा सुन्दर पक्ष यसको समावेशी चरित्र बनेको छ । हिन्दू मात्र होइन, बौद्ध, किराँत, इसाईलगायत सबै समुदायले दसैंलाई सामाजिक एकता र भेटघाटको अवसरका रुपमा आत्मसात गरेका छन । धर्मभन्दा माथि उठेर दसैं नेपालीपनको साझा चिनारी बनेको छ ।
दसैं शक्ति उपासनाको सबैभन्दा ठूलो पर्व हो । नवरात्रमा आद्यशक्ति दुर्गाका नौ रुप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ । शक्तिपीठ तिनै दुर्गाको मूल घर मानिन्छ । पुराण अनुसार दक्ष प्रजापतिको यज्ञमा पति शिवको अपमान सहन नसकी सतीदेवीले योगअग्निद्वारा प्राण त्याग गरिन । शोक र क्रोधले शिवले सतीको शव बोकेर ताण्डव नृत्य गर्न थालेपछि सृष्टि नै विनाश हुने डरले विष्णुले सुदर्शन चक्रले सतीको शरीरलाई ५१ टुक्रा पारिदिए । ती अंग जहाँ खसे, ती ठाउँ पवित्र शक्तिपीठ भए । जहाँ देवीको अंग खस्यो, त्यहाँ शिव पनि भैरवका रुपमा वास गर्ने मान्यताले हरेक शक्तिपीठमा देवी र भैरव दुवैको पूजा गर्ने चलन बस्यो । शक्तिपीठ मुख्यतः ५१ मानिन्छन, ती भारत, नेपाल, पाकिस्तान, बंगलादेश, श्रीलंका र तिब्बतसम्म फैलिएका छन । नेपालमा गुह्येश्वरीमा सतीदेवीको दुवै घुँडा खसेको मानिन्छ र पशुपतिनाथलाई भैरव मानिन्छ । दक्षिणकाली, शोभा भगवती, बिजेश्वरी, नक्साल भगवती, भद्रकाली उपत्यकाका प्रमुख पीठ हुन भने मनकामना, पाथीभरा, छिन्नमस्ता, गढीमाईलगायत कालिका, दुर्गा भवानी र महालक्ष्मीका थानलाई पनि शक्तिपीठकै स्वरुप मानिन्छ ।
घुम्नका लागि दसैंको समय उपयुक्त समय हो । असोजको निलो आकाश, टल्किने हिमालले यात्रालाई सहज बनाउँछ । दसैँमा घुम्ने सस्कृतिले युवा पुस्ताको जीवनशैलीमा परिवर्तन भएको छ । पहिले घर बाहिर निस्कनु भनेको तीर्थाटन मात्र थियो । अहिले घुम्नु रहरबाट जीवनशैली बनेको छ । मानिस बिदा निकालेर घुम्ने होइन, घुम्दा घुम्दै काम गर्ने भएका छन । शुक्रबार अफिस सकेर घुम्न गयो सोमबार फर्केर सिधै अफिस छिर्ने प्रचलन बन्न थालेको छ । पहिले घुम्नु भनेको रमाइलो गर्नु थियो, अहिले घुम्नु भनेको आफूलाई खोज्नु जस्तै भएको छ । रेमिटयान्सले मध्यम वर्गको आर्थिक अवस्थामा सुधार ल्याएको छ, किस्ताबन्दीमा बाइक र कार सहज भएका छन, मध्यपहाडी लोकमार्ग, बेनी जोमसोम र कर्णाली करिडोरजस्ता सडक सञ्जाल बनेका छन । केही वर्षअघि रारा पुग्न चार दिन लाग्थ्यो, अहिले मोटरमार्गले समय छोटयाएको छ । टिकटक र इन्स्टाग्राम पुस्तालाई टीका लगाएको फोटोभन्दा रारा तालमा बाइक यात्राको भिडियो महत्वपूर्ण लाग्न थालेको छ । परिवार को संरचना संयुक्तबाट एकलमा बदलिँदा टीका सकेपछि फुर्सद हुने र त्यही फुर्सद घुम्ने संस्कृतिमा बदलिने गरेको छ ।
दसैं अब जमरा राख्ने चाड मात्र रहेन । यो त अब पासपोर्टमा छाप लाग्ने, आकाशमा उडने र संसार नाप्ने चाड पनि बन्दै गएको छ । यदि कसैले नेपालको पछिल्लो एक दशकको सबैभन्दा ठूलो सामाजिक परिवर्तन के हो भनेर सोध्यो भने, त्यसको एउटै उत्तर छ हाम्रो दसैंको अर्थ फेरिएको छ । हिजोको गाउँ फर्कने दसैं, आज संसार घुम्ने दसैं भएको छ । एकछिन तथ्यांकलाई भुलौं, भावनालाई हेरौं त आज हाम्रा लाखौं छोराछोरी अमेरिका, अष्ट्रेलिया, क्यानडा, जापान, युरोपका कुनाकुनामा छन । कोही क्लासरुममा भविष्य खोज्दैछन । कोही कामको सिलसिलामा जीवन बिताएका छन । उनीहरूलाई दसैंमा नेपाल फर्कन सजिलो छैन । लामो बिदा मिल्दैन, महँगो टिकट किन्नुपर्छ । आए पनि २–३ हप्ताकै हतारको भेटघाटमा सकिन्छ । त्यसैले पहिले छोराछोरी दसैं मान्न गाउँ फर्कन्थे भने, अहिले बाबुआमा दसैं मान्न छोराछोरी भएकै ठाउँमा जानुपर्ने बाध्यता बनेको छ । यो केवल भेटघाट होइन, यो नयाँ पुस्ताको नयाँ घुम्ने संस्कृति हो ।

अहिले धेरै बुबाआमाको दसैं विदेशमै हुन्छ । अमेरिका पनि घुमियो, दसैं पनि मनाइयो, छोराछोरीसँग महिनादिन बसियो भन्ने कुरा धेरैको मुखबाट सुनिन्छ । त्यसैले आज दसैंको टीका सिडनीको अपार्टमेन्टमा लगाइन्छ । आशिर्वादको फोटो न्युयोर्कको टाइम्स स्क्वायरको उज्यालोमा खिचिन्छ, अनि जमरा त टेक्सासको सानो भान्सामा पनि उम्रन्छ । नेपालमा दसैंमा लामो बिदा हुन्छ । स्कुल, कलेज बन्द हुन्छन । जो विदेश जान सक्नुहुन्न, उनीहरुका लागि आफ्नै देशभित्र घुम्ने ठाउँ पनि धेरै छन । पूर्वको पाथीभरा र इलामदेखि पश्चिमको बन्दीपुर र पोखरासम्म धेरैको रोजाइमा पर्छन । यस वर्ष रसुवामा भोटेकोशीको बाढीले र मनाङ–मुस्ताङमा पनि बाढीकै कारण घुम्नकोलागि असहजता भए पनि पश्चिम नेपालमा घुम्ने ठाउँको कमी छैन । स्वर्गद्वारी, खप्तड, रामारोशन, रारा, शे–फोक्सुण्डो मात्र होइन, जुम्लाको सिजा उपत्यका जस्ता सुन्दर गन्तव्यमा जान सकिन्छ । विदेशमा दसैं मनाएको तस्बिर सामाजिक सञ्जालमा राख्नुभन्दा आफ्नै माटोको फोटो र भिडियोको महत्व धेरै हुन्छ ।
दसैंमा प्रायः वर्षभरिको बोनस, दसैं खर्च, सञ्चयकोष, विदेशबाट आएको रेमिटयान्स र वर्षभरि साँचेर राखेको पैसा धेरैको मन खर्च गर्ने तिर हुन्छ । दसैंलाई नयाँ काम थाल्न शुभ मानिन्छ । त्यसैले धेरै नेपालीले वर्षभरि रोकेको सपना दसैंलाई नै पर्खेर पूरा गर्छन । कसैले नयाँ गाडी किन्छन, कसैले घरजग्गा जोडछन कसैले लक्ष्मीपूजाका लागि सुनका गरगहना किन्छन भने कसैले सानो पसलबाटै भए पनि नयाँ व्यवसाय सुरु गर्छन । दसैंमा त नयाँ लुगा लाउनुपर्छ, नयाँ गाडी चढनुपर्छ भन्ने सामाजिक मान्यता र दबाबले बजारलाई चलायमान बनाउँछ । तथ्यांकले पनि नेपालमा वार्षिक गाडी बिक्रीको करिब ३० देखि ४० प्रतिशत हिस्सा दसैं तिहारको बिचमा हुन्छ । घरजग्गा व्यवसायीले दसैं धमाका अफर भनेर बुकिङ खुलाउँछन, सुनचाँदी पसलमा लक्ष्मीपूजाको भीडले बाटो छेकिन्छ । हिजो गाउँघरमा दसैंको कारोबार खसी बोका र नयाँ कपडामा सीमित थियो । तर, आज त्यो कारोबार अबौँको अटोमोबाइल र रियल स्टेटसम्म पुगेको छ । त्यसैले आजको दसैं भनेको जमरा र टीका मात्र होइन, घुम्नु, रमाउनु र आवश्यक सपना पूरा गर्नु पनि हो ।

नेपालमा घुम्नु अब विलासिता रहेन, यो जीवनशैली बनिसकेको छ । हिजोसम्म घरबाहिर निस्कनु भनेको तीर्थाटन मात्र बुझिन्थ्यो, तर त्यो साँघुरो मानसिकता अहिले पूरै फेरिएको छ । घुम्ने संस्कृतिको विस्तारसँगै अहिले प्रत्येक स्थानीय तह आफैंमा एउटा गन्तव्य बन्दैछ । कतै आकर्षक पार्क र फनपार्कले बालबालिका देखि वृद्धसम्मलाई लोभ्याइरहेका छन भने, कतै पहाडको धारैधार चीनको ग्रेटवालको झल्को दिने संरचना ठडिएका छन । कतै प्राकृतिक ताललाई सिङ्गारेर डुङ्गा चलाइएको छ भने, तराईका थुप्रै जिल्लामा कृत्रिम ताल बनाएरै पर्यटकलाई निम्त्याउने होड चलेको छ । साहसिक पर्यटनमा त नेपालको आकर्षण झनै उचाइमा पुगेको छ । हिमाल आरोहण र ट्रेकिङ त हाम्रो पहिचान नै भयो, त्यसमा अब बन्जी जम्प, स्काइडाइभ, प्याराग्लाइडिङ, जिपलाइन, अल्ट्रालाइट, ¥याफ्टिङ, क्यानोनिङ, रक क्लाइम्बिङ, जंगल सफारी, साइक्लिङ र हाइकिङ जस्ता रोमाञ्चक गतिविधि थपिएका छन । अग्लो झरनामा गरिने क्यानोनिङ होस वा ठाडो चट्टानमा गरिने रक क्लाइम्बिङ, यी सबैले पर्यटकको बसाइलाई लम्ब्याउने मात्र होइन, नेपालको अनुभवलाई अविस्मरणीय पनि बनाइरहेका छन ।
घुम्ने संस्कृतिले हाम्रो सामाजिक सोचमै गहिरो परिवर्तन ल्याएको छ । समाज सम्पत्ति थुपार्ने व्यक्तिवादी सोचबाट अनुभव बटुल्ने अनुभववादी सोचतर्फ मोडिएको छ । हिजो कति जोडयौ भन्ने प्रश्नले महत्व पाउँथ्यो भने, आज कहाँ कहाँ पुग्यौ ? भन्दै अनुभव साटनु गर्वको विषय बनेको छ । फेसबुकमा क्याम्प फायरको एउटा तस्बिर राख्नु नै स्टाटस सिम्बल जस्तै भएको छ । यसले संयुक्त परिवारमा सँगै घुम्ने योजना बनाउने सुन्दर संस्कार बसालेको छ भने युवा पुस्तामा आत्मविश्वास र स्वतन्त्र निर्णय गर्ने क्षमता बढाएको छ । हिजोसम्म बुबाआमाको अनुमतिबिना एक पाइला नहिँडने छोराछोरी आज साथीहरुसँगै ट्रेकमा निस्कन सक्ने भएका छन । घुम्ने मानिसहरुले अब स्थानीय मौलिकता खोज्न थालेका छन । गाउँमा पुग्दा उनिहरुकै सस्कृतिमा रम्न खोज्दछन । यसले स्थानीय समुदायमा संस्कृतिलाई संरक्षण गर्न पर्ने रहेछ भन्ने सोचको बिकास भएको छ । घुम्न निस्कनेहरुले स्थानीय उत्पादन किनेर उपहारको रुपमा लैजाने बानीको विकासले गाउँको अर्थतन्त्रलाई पनि टेवा पुगेको छ ।
पर्यटनको यात्रालाई खुला विश्वविद्यालय पनि भनिन्छ, किनभने यात्राबाट प्राप्त ज्ञान किताबी ज्ञानभन्दा जीवन्त हुन्छ । दसैंमा सहरमा बस्नेहरु मूल थलो फर्कँदा आफ्नै पहिचानको पुनःखोज हुन्छ । यो यात्राले पुर्खा र पारिवारिक सम्बन्धलाई पुनर्ताजगी हुन्छ । शताब्दीयौंदेखि चलिआएको शक्तिपीठको दर्शन यात्राले आफूभित्रको शक्ति जगाउने अवसर दिन्छ । यो नयाँ संस्कृतिले अर्थतन्त्रमा पनि नयाँ आयाम थपेको छ । चाडपर्वको खर्च एकपटकमै सकिन्छ, तर घुमाइको खर्चले होटल, होमस्टे, गाडी र स्थानीय उत्पादनलाई चलाउँछ र पैसा गाउँमै रहन्छ । जब एउटा परिवारले दसैंमा रारा, मुस्ताङ वा इलाम घुम्ने योजना बनाउँछ, तब गाउँको होमस्टे बुक हुन्छ, सवारी साधनले यात्रु पाउछ र ग्रामीण क्षेत्रमा उत्पादन भएका बस्तुहरु बिक्री हुन्छ । दसैंमा घुम्न जाँदा व्यवस्थित प्याकेज बनाउँदा सजिलो हुन्छ । कति जना जाने, कति दिन घुम्ने, कुन बाटो हुँदै जाने, कुन शक्तिपीठ र कुन तालमा डुंगा सयर गर्ने, कुन गाउँको होमस्टेमा बस्ने र कति खर्च लाग्छ भन्ने कुरा यात्रा अघि नै तय गर्दा यात्रा सुरक्षित, सहज र सस्तो हुन्छ । दसैंमा भीड धेरै हुने भएकाले गाडीको टिकट र होटल अगाडि नै बुक गर्दा राम्रो हुन्छ ।

दसैको समयमा घुम्दा मन्दिरको दर्शन मात्र नभएर आफन्तसँगको बसाइलाई पनि यात्राको हिस्सा बनाउनुहोस । स्वास्थ्यको ख्याल राख्नुहोस र प्रसादको नाममा धेरै मासु र मदिराबाट बच्नुहोस । आखिर दसैं भनेकै आशीर्वादको न्यानोपन, आफन्तको आत्मीयता, देवीप्रतिको आस्था र यात्राको नयाँ उत्साह हो । टीका जमरासँगै घुम्ने यात्रा जोडिँदा दसैंको सम्झना वषौसम्म ताजा रहन्छ । त्यसैले दसैमा घुम्दा शक्तिपीठको दर्शन र आफन्त भेटनुहोस । नयाँ ठाउमा घुमेर घर फर्कनुहोस ।




























